मस्तिष्कमा राखिएको चिपको सहायतामा कम्प्युटर चलाउन सफल भयो न्युरोलिंक
काठमाडौं । मानव मस्तिष्कमा चिप प्रत्यारोण गरी ‘न्युरोलिंक’ सोचेरै कम्प्युटर चलाउन सफल भएको छ । ‘न्युरोलिंक’का एक जना इन्जिनियरले एक्स (साविकको ट्वीटर)मा लाइभ आउँदै न्युरोलिंक चिप प्रत्यारोपण गरिएका व्यक्तिले कम्प्युटर चलाउन सफल भएको भिडियो सार्वजनिक गरेका हुन् ।
दुबै हात गुमाएका २९ वर्षीय एकजना युवकको मस्तिष्कमा न्युरोलिंक चिप प्रत्यारोपण गरिएको थियो । ती व्यक्तिले सोचेरै आफ्नो अगाडि रहेको कम्प्युटरमा चेस गेम खेलर देखाएका छन् ।
टेस्ला मोटर्सका सीईओ तथा ‘स्पेस एक्स’ का संस्थापक एलोन मस्कले गत जनवरीमा मानव मस्तिष्कमा चिप प्रत्यारोणबाट सोचेकै भरमा कम्प्युटरदेखि मोबाइलसम्म चलाउन सकिने दाबी गरेका थिए । उनले प्रारम्भिक परिणामहरुले आशाजनक न्युरो स्पाइक पत्ता लगाउने देखिएको उल्लेख गरेका थिए ।
उनले न्युरोलिंक चिपको सुरुवात हात गुमाएका व्यक्तिहरुबाट गरिने जनाएका थिए ।
सोहीअनुसार मस्तिष्कमा चिप प्रत्यारोपण गरिएका एक जनाले कम्प्युटर चलाउन सफल भएको सार्वजनिक गरिएको छ । न्युरोलिंकले सार्वजनिक गरेको भिडियोमा हात चलाउन नसक्ने व्यक्तिले आफ्नो अगाडि रहेको ल्यापटपमा सोचेरै गतिविधिहरु गर्न सफल भएको देखिन्छ ।