चितवनमा इण्डो-नेपाल टी-२० च्याम्पियनसिप सुरु, उद्घाटन खेलमा भरतपुर मेयर्स ११ विजयी
काठमाडौं । चितवनमा इण्डो नेपाल कप टि–२० च्याम्पियनसिप सुरु भएको छ । चितवन जिल्ला क्रिकेट संघको आयोजनामा निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा प्रतियोगिता सुरु भएको हो ।
प्रतियोगिताको उद्घाटन भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले गरेकी हुन् । उद्घाटन गर्दै गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको अधुरा काम द्रुत गतिमा निर्माण हुने बताइन् । उनले आगामि सन् २०२७ मा हुन लागेको यू–१९ महिला विश्वकपको खेल यही रंगशालामा खेलाउने गरी निर्माणको सम्पन्न गर्ने प्रतिवद्धता जनाइन् ।
प्रतियोगिताको पहिलो दिनको खेलमा भरतपुर मेयर्स ११ ले विजयी भएको छ । भरतपुर मेयर्स ११ ले बागमती प्रदेशलाई ८ रनले पराजित गरेको हो ।
भारतपुरले दिएको १ सय ५३ रनको लक्ष्य पछ्याएको बागमतीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ४४ रन मात्र बनाउन सक्यो । बागमतीका ओपनर सुभ कंसकारले ८८ रन जोडेपनि जितका लागि पर्याप्त हुन सकेन । रविन जोशीले २० रन बनाए । अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।
बलिङमा भरतपुरका सौगात ढकालले ३, दीपेश श्रेष्ठले २ र गौतम केसीले एक विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको भरतपुरले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५२ रन बनाएको थियो । चितवनका लागि कप्तान दीपेश श्रेष्ठ र गौतम केसीले उत्कृष्ट साझेदारी गरेका थिए । ७६ रन जोड्दा ६ विकेट गुमाएको चितवनका लागि दीपेश र गौतमले सातौं विकेटका लागि ६१ रनको साझेदारी गरे । दीपेशले २९ र गौतमले ३४ रन बनाए ।
बलिङमा बागमतीका रामनरेश गिरीले ३, तिलकराज भण्डारीले २ तथा मनोज यादव, अभिषेक कोइराला र सुमन सुनुवारले एकएक विकेट लिए भरतपुरका सौगात ढकाल खेलको प्लेयर अफ द म्याच घोषित भए ।
चैत १७ गतेसम्म चल्ने प्रतियोगितमा दुई भारतीय टीमसहित ६ टीमको सहभागिता छ । राउन्ड रोबिन लिगका आधारमा खेलाइने प्रतियोगितामा शीर्ष ४ टोली सेमिफाइनल पुग्ने छन् ।