गृहको परिपत्रमा शेखरको टिप्पणी- अधिनायकवादको पूर्वअभ्यास
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गृह मन्त्रालयले प्रजिअहरुलाई बिहीबार जारी गरेको निर्देशन अधिनायकवादको पूर्वअभ्यास भएको टिप्पणी गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत यस्तो टिप्पणी गरेका हुन् ।
गृह मन्त्रालयले प्रजिअहरुलाई जारी गरेको निर्देशन एकातिर यसअघि जिल्ला प्रशासन कार्यालयहरु कानूनले दिएको अधिकार प्रयोग गर्न र कर्तव्य पालन गर्न पूर्णरुपमा असक्षम थिए भन्ने बुझिने बताउँदै उनले अर्कोतिर देशको विकास, शान्ति सुरक्षा र राजश्व लगायत सबै अन्य मन्त्रालय अन्तर्गतका कार्यालयहरुले समेत प्रजिअ मार्फत गृहमन्त्रालयमा आफ्नो कामको प्रगति विवरण र प्रतिवेदन बुझाउनुपर्ने भन्ने देखिएको बताए ।
संघीयताको मर्म अनुरुप प्रदेश र स्थानीय तहका राजनीतिक संरचना बलियो बनाउँदै जानु पर्नेमा जिल्लाका प्रशासनिक संरचना मार्फत केन्द्र बलियो हुन खोज्नु अधिनायकवादको पूर्वाभ्यास बाहेक केही नभएको उनको टिप्पणी छ ।
त्यतिमात्र नभई नेपालको संविधानको ठाडो उल्लंघन गर्दै सामाजिक सञ्जाल र अनलाइन समाचार पोर्टलहरुको निगरानी र कारबाहीको बारेको निर्देशनको बुँदा राखिनु र दवाबपछि ती बुँदा हटाइनुले सरकारले राजनीतिक दल, सञ्चार जगत र नागरिक समाजको नाडी छाम्न खोजेको भान भएको उल्लेख गरे ।
यस्ता गैरजिम्मेवारी काम सरकारलाई भारी पर्ने बताउँदै बेलैमा सोच्न आग्रह गरे ।