समाजवादी मोर्चामा एमाले अनिच्छुक: नेताहरू भन्छन्- भएकाले राम्रो चलाए हुन्छ, सरकारमा सहकार्य गरौंला
काठमाडौं । समाजवादी मोर्चामा नेकपा एमालेलाई सामेल गराउन फेरि कसरत थालिएको छ । नयाँ सत्ता समीकरण बनेपछि समाजवादी मोर्चाका संयोजक तथा नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले एमालेलाई पनि सहभागी गराउने प्रयास थालेका छन् ।
मोर्चाको संयोजक चयन भएदेखि नै सक्रिय विप्लवले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई हिजो बालकोट पुगेर भेटेका थिए ।
त्यसको भोलिपल्टै आज बिहान मोर्चाको बैठक बालुवाटारमा बस्यो । उक्त बैठकले मोर्चालाई थप विस्तार र प्रभावकारी बनाउँदै अघि बढ्ने निर्णय गरेको माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसालले बताइन् ।
उनका अनुसार अब मोर्चाले एमालेसहित अन्य वाम शक्तिहरूलाई पनि आबद्ध गराउनेछ । ओलीसँग थप वार्ता गर्न प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई जिम्मेवारी दिइएको भुसालले बताइन् ।
तर, एमाले भने अहिले समाजवादी मोर्चामा जान इच्छुक छ त । हामीले यसै मेसोमा नेताहरूसँग कुरा गरेका छौं ।
माओवादी, नेकपा एस, जसपा र नेकपा सम्मिलित मोर्चाले एमालेसँग संवाद गर्छु भन्नु कुरालाई सकारात्मकरूपमा लिनुपर्ने उपाध्यक्ष अष्टलक्ष्मी शाक्य बताउँछिन् । तर, यसपछिमा पार्टीमा औपचारिक छलफल नभएको बताउँदै सचिवालयको बैठकले निर्णयपछि मात्र यकिन हुने उनको भनाइ छ ।
उनले भनिन्, ‘उहाँहरूले वार्ता गर्ने निर्णय गरेपछि कुरा गर्नै हुँदैन भन्ने त होइन । सहभागी हुने वा नहुने भन्ने कुरा त सचिवालय बैठकबाट संस्थागत निर्णय गर्नुपर्छ। अहिलेसम्म पार्टीमा छलफल भएको छैन ।’
शाक्यले मोर्चाको लक्ष्य, उद्देश्य र योजना प्रष्ट नभई सहभागी हुनेको अर्थ नहुने बताइन् ।
उपाध्यक्ष शाक्यले थपिन्, ‘अहिले मोर्चामा गइहाल्ने त होइन । मोर्चा बनाउने तर त्यो मोर्चाको लक्ष्य, उद्देश्य के हो ? के काम गर्ने ? प्रष्ट योजना हुनुपर्यो । मिल्नेको नाममा पदको लागि मिल्ने होइन । कुनै पनि संगठन र संस्था बनाउँदा त्यसले के काम गर्दा भन्ने कुरा महत्त्वपूर्ण हुन्छ । जनता र देशको हितको लागि के काम गर्छ ? भन्ने कुरा महत्त्वपूर्ण कुरा हुन्छ । बसेर वार्ता नगरी मिलिहाल्ने कुरा हुँदैन ।’
सरकारमा सहकार्य सुरू भएकाले कम्युनिष्ट घटक अलगअलग भएर बस्न नहुने उनले औंल्याइन् ।
समाजवादी मोर्चाको विषयमा अहिलेसम्म पार्टीमा औपचारिक छलफल नभएको सचिव योगेश भट्टराईले बताए ।
उनले नेपाल प्रेससँग भने, ‘समाजवादी मोर्चाको विषयमा अहिलेसम्म औपचारिक छलफल भएको छैन। सामान्यतया यस्ता मोर्चा एमाले सामेल हुँदैन । हुन हुँदैन न भन्छु । जाँदैन । एमालेलाई अहिले मोर्चा आवश्यक छैन । जो-जो अहिले आबद्ध हुनुहुन्छ उहाँहरूले राम्रोसँग चलाए भइहाल्छ ।’
मोर्चाबाट प्रस्ताव आएको भए ११ गते बस्ने सचिवालय बैठकमा छलफल हुने उनले बताए ।
उनले भने, ‘सरकारमा भइरहेको सहकार्य राम्रोसित गर्नुपर्छ । अलग्गै मोर्चा बनाउने कुरामा एमाले जान हुँदैन । आधिकारिक अब ११ गते सचिवालयको बैठकमा बस्दैछ । त्यहाँ छलफल होला ।’
तर, हिजो ओलीलाई भेट्न विप्लवसहित बालकोट पुगेको नेकपा प्रवक्ता प्रकाण्डले पनि एमालेसँगको वार्ता सकारात्मक भएको दाबी गरेका छन् ।
विप्लवको मोर्चामा आबद्ध हुन गरेको प्रस्तावमा ओली सकारात्मक देखिएको उनको भनाइ छ । त्यस विषयमा आजको बैठकमा पनि विप्लवले जानकारी गराएका थिए ।