ऋण लिन जाँदै हुनुहुन्छ ? ‘साइकोमेट्रिक’ परीक्षणले रित्तो हात फर्काउला
काठमाडौं । पछिल्लो समय बैंक तथा वित्तीय संस्थालाई कर्जा असुली टाउको दुखाइको विषय बनेको छ । ऋणीले भनेकै आधारमा बैंक तथा वित्तीय संस्थाले विश्वासमा परेर कर्जा प्रवाह गरेका हुन्छन् । तर, अहिले आफैंले विश्वास गरेका केही ऋणीहरु तिनीहरुलाई बोझ बनेका छन् ।
समयमा कर्जा नतिर्ने कारण बैंकहरुकै सूचक दबाबमा छ । ऋणीहरुको बदमासी रोक्न नेपाल राष्ट्र बैंकले ऋण प्रवाह गर्दा मनोविज्ञान परीक्षण गर्ने प्रणालीको विकास गरेको छ । नयाँ ऋणीको व्यवहार र कर्जा भुक्तानी क्षमताको मनोवैज्ञानिक परीक्षण गर्ने उद्देश्यले उक्त प्रणाली बनाइएको हो । यो प्रणालीबाट विगतमा कर्जा नलिएका र विनाधितो सानो आकारका कर्जा लिन चाहने ऋणीको मनोवैज्ञानिक परीक्षण हुने राष्ट्र बैंकले जनाएको छ ।
ऋणीको मनोविज्ञान परीक्षण गर्न अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी)ले राष्ट्र बैंकलाई साइकोमेट्रिक स्कोरिङ सोलुसन प्रविधि हस्तान्तरण गरिसकेको छ । यसको कार्यान्वयन भने कर्जा सूचना केन्द्र लिमिटेडले गर्नेछ ।
यो प्रणालीको एक वर्षदेखि यो परीक्षण गरिएको थियो । जसमा ४ वटा बैंक तथा वित्तीय संस्थालाई आवद्ध गराइएको थियो । कर्जा सूचना केन्द्रका प्रवक्ता विजय कुँवरले उक्त प्रणाली अहिले पूर्ण कार्यान्वयनमा आएको बताए ।
प्रणाली नयाँ भएकाले तत्काल कुनै पनि शुल्क नलिइने केन्द्रले जनाएको छ । उक्त प्रणाली क्रिफ (सीआरआईएफ) हाइमार्कले विकास गरेको हो । विश्वका ५० देशमा एक लाख ५ हजार बैंक तथा वित्तीय संस्था, ६ सय बिमा कम्पनी, ५० हजार व्यापारिक ग्राहक र १० लाख उपभोक्ताले यो सेवा प्रयोग गरिरहेका छन् ।
भारतमा समेत प्रयोग भइरहेको यो प्रणाली विकासका लागि सफ्वेयरमा आईएफसीले सहयोग गरेको छ । हार्डवेयरको पाटो भने राष्ट्र बैंकले हेरेको छ । यसमा राष्ट्र बैंक र आईएफसीको ५०-५० प्रतिशत लगानी रहेको जनाइएको छ । तर, लागत भने खुलाइएको छैन ।
आईएफसीले हस्तान्तरण गरेपछि लाग्ने खर्च सबै राष्ट्र बैंकले नै व्यहोर्नुपर्नेछ । विशेषगरी यो प्रणाली लघुवित्त लक्षित छ । तर, बैंक तथा वित्तीय संस्थानले पनि यसको प्रयोग गर्न पाउँछन् ।
कसरी जाँचिन्छ ऋणीको मनोविज्ञान ?
ऋणीको व्यवहार जाँच्ने प्रणाली साइकोमेट्रिक स्कोरिङ सोलुसन कस्तो हो ? के यसले ऋणीको झूट व्यवहार पनि पत्ता लगाउँछ ? अहिले प्रश्न उब्जिएको छ ।
कर्जा सूचना केन्द्रका प्रवक्ता कुँवर भन्छन्ः
साइकोमेट्रिक स्कोरिङ सोलुसन अनलाइन प्रणाली हो । कुनै पनि ऋणीले (किसान वा दूरदराजका सर्वसाधारण) ऋण लिन चाहेमा सम्बन्धित वित्तीय संस्थामा सम्पर्क गर्न जान्छन् र त्यहाँका कर्मचारीलाई ऋणका लागि निवेदन दिन्छन् । संस्थाले ऋणीको निवेदन पाएपछि कस्तो खालको ऋणी हो, उसले ऋण तिर्ने मनसाय राखेको छ कि छैन वा विभिन्न बहानामा नतिर्ने पो होकि जस्ता विषय पत्ता लगाउन साइकोमेट्रिक स्कोरिङ सोलुसनको सहारा लिन्छन् ।
यो प्रणाली विगत एक वर्षदेखि ट्रायल भइरहे पनि औपचारिक रुपमा बिहीबार पूर्ण कार्यान्वयनमा आएको छ । यसमा आवद्ध हुन चाहने बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकमा निवेदन दिनुपर्छ र कर्जा सूचना केन्द्रमा पनि त्यहीअनुसारको अनुमतिपत्र लिएर गएपछि बैंकलाई प्रणालीमा आवद्ध गराइन्छ ।
तर, आवद्धताको लागि बैंक तथा वित्तीय संस्था आफैंले आफ्नो कार्यालयमा प्रणाली ज्वाइन्टको पूर्वाधार निर्माण गर्नुपर्छ । त्यसपछि कर्जा सूचना केन्द्रले लगइन आईडी दिन्छ । ऋण लिन आउनेहरुलाई क्रेडिट म्यानेजरले सिस्टमको प्रश्नको उत्तर भर्न लगाउँछ । यदि पढ्नसक्ने भए आफैं भर्छन् र नसक्ने भए सम्बन्धित वित्तीय संस्थाको कर्मचारीको सहायतामा पढेर उत्तर दिन्छन् ।
परीक्षणमा के कस्ता प्रश्न सोधिन्छन् ?
अनलाइन सिस्टममा लगइन गरेपछि त्यहाँ प्रश्नका शीट आउँछ । एउटा प्रश्न भरेपछि पालैपालो अन्य प्रश्न आउँछ । प्रश्नहरु नेपाली भाषामै राखिएको छ । उत्तर दिन टिक चिह्न लगाउनुपर्छ । यसमा सम्बन्धित ऋणीलाई सीधै प्रश्न सोधिएको छैन । जो ऋण लिन आउँछ, उसलाई सीधै प्रश्न नसोधी घुमाउरो पारामा मनोवैज्ञानिक प्रश्नहरु सोधिन्छ ।
मानौं, कुनै ‘क’ भन्ने व्यक्तिले ऋण लिएको छ भने उसको प्रश्न यस्तो हुन्छ, ‘‘क’ भन्ने व्यक्तिले यहाँबाट ऋण लिएको छ । तर, बाढी पहिरोले उसको सबै सम्पत्ति बगायो । अब उसले लिएको कर्जा तिर्न सक्दिनँ र तिर्दिनँ भनेको छ । त्यसमा तपाईंको राय के छ ?’
विपत्तमा परेको मान्छेको बारेमा प्रश्न गर्दा ऋण लिन आउने अर्को व्यक्तिले होइन उसलाई ऋण मिनाहा गरिदिनुपर्छ, उसले तिर्न सक्तैन भन्ने उत्तर दियो भने उक्त व्यक्तिको मनोविज्ञान पनि ऋण नतिर्ने भन्ने बुझिन्छ । तर, ऋण हो, लिएपछि त तिर्न परिहाल्छ नि, जसरी पनि तिर्नुपर्यो नि भन्ने उत्तर दिन्छ भने उक्त व्यक्तिले पनि ऋण तिर्ने मनसाय राखेको छ भन्ने बुझिन्छ ।
यस्ता मनोवैज्ञानिक प्रश्न सकिएपछि उत्तरको आधारमा प्रणालीले नै गणना गरेर स्कोर दिन्छ । जति बढी स्कोर आउँछ, त्यति ऋण पाइने सम्भावना बढी हुन्छ । त्यही स्कोरको आधारमा बैंक तथा वित्तीय संस्थाका कर्मचारीले उक्त ऋणीलाई ऋण दिने/नदिने तय गर्छ ।
सफ्टवेयर बनाएर हामीले राखेका छौं । कसैले पनि यो सिस्टम चलाउन परे, उसले आफ्नोमा पनि यस्तो पूर्वाधार बनाउनुपर्छ । यो छुट्टै सिस्टम हो । कनेक्ट हुन ज्वाइन्ट प्वाइन्ट बनाउनुपर्छ । अहिले उहाँहरुले मद्दत गर्नुभएको थियो । अबदेखिको खर्च कर्जा सूचना केन्द्रले व्यहोर्ने गरी हस्तान्तरण गरिएको छ । आईएफसीले सफ्वेयर ल्याइदिनु भयो । हार्डवेयरको काम हामी आफैंले गरेका हौं । तर, भर्न एउटा उत्तर दिएको र ऋण लिएपछि अर्कै व्यवहार गर्ने पनि हुनसक्छ ।
धितो नभएको मान्छेलाई मनोविज्ञान बुझेरमात्रै ऋण दिऔं न भन्ने हो । लघुवित्तहरुलाई धेरैजसो फोकस हो । एउटा जिम्मेवार निकाय भएकाले वर्ल्ड बैंकले नै अप्रोच गरेपछि हामी तयार भएका हौं ।