पक्राउ परेका व्यक्ति हिरासतमा बस्नुपर्नेमा अस्पताल जाने प्रवृत्तिबारे गृहमन्त्री लामिछानेको चासो – Nepal Press

पक्राउ परेका व्यक्ति हिरासतमा बस्नुपर्नेमा अस्पताल जाने प्रवृत्तिबारे गृहमन्त्री लामिछानेको चासो

काठमाडौं । प्रहरीले नियन्त्रणमा लिएपछि हिरासतमा बस्नुपर्ने व्यक्ति अस्पताल जाने प्रवृत्तिबारे उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले नेपाल मेडिकल काउन्सिलका प्रतिनिधिसँग छलफल गरेका छन् ।

काउन्सिलका प्रतिनिधिलाई मन्त्रालयमा आमन्त्रण गरी मन्त्री लामिछानेले स्वस्थ व्यक्तिसमेत हिरासत छल्ल अस्पतालमा बस्ने प्रवृत्ति रोक्न काउन्सिलबाट सुझाव मागेका थिए ।

छलफलमा गृहमन्त्री लामिछानेले विदेशका व्यवस्थासहित नेपालमा हालसम्म भएका घटना र प्रवृत्तिको अध्ययन बेथिति न्यूनीकरणका उपायसहितको प्रतिवेदन दिन आग्रह गरे ।

यसबारे मन्त्रालयले सोमबार काउन्सिललाई पत्राचार गर्ने बताइएको छ ।

छलफलमा सहभागी काउन्सिलका सदस्य डा. कुञ्जाङ शेर्पाले यो प्रवृत्तिबारे गृह मन्त्रालयले पहिलोपटक चासो राखेको बताए । छलफलमा डा. शेर्पासहित काउन्सिलका सदस्यहरु डा. रुपक घिमिरे, डा. प्रणयरत्न शाक्य र डा. कालुसिंह खत्री सहभागी थिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर