एमाले कास्कीको अधिवेशन शनिबारदेखि हुँदै, पार्टी अध्यक्ष ओलीले उद्घाटन गर्ने
पोखरा । नेकपा एमाले जिल्ला कमिटी कास्कीको ११ औं अधिवेशन शनिबारदेखि सुरु हुँदैछ । अधिवेशनको उद्घाटन पोखरा नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन् ।
एमाले कास्कीले शुक्रबार पत्रकार सम्मेलन गर्दै अधिवेशतको तयारी पूरा भएको जनाएको छ । अधिवेशनबाट १२० सदस्यीय जिल्ला कमिटी गठन हुनेछ ।
उक्त कमिटीले थप २१ जना मनोनित गरी १४१ सदस्यीय जिल्ला कमिटी बन्ने एमाले कास्कीका अध्यक्ष मनबहादुर गुरुङले जानकारी दिए । अधिवेशनका लागि ९ सय ३५ प्रतिनिधि छनोट भएको अध्यक्ष गुरुङले बताए ।
कास्कीमा यसअघि भएको जिल्ला अधिवेशनमा दुई पक्षले प्यानल बनाएर अगाडि बढेका थिए । एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र स्थायी कमिटी सदस्य खगराज अधिकारी प्यानल प्रतिस्पर्धा गरेका थिए ।
यसपालि प्यानल बनाएर निर्वाचन लड्ने दुवै पक्ष आन्तरिक तयारी छ । गुरुङ पक्षबाट हालका उपाध्यक्ष तेजनारायण अधिकारी, दीपक पौडेल, माधव बास्तोला र अधिकारी पक्षबाट हालका सचिव बैनबहादुर अधिकारी क्षेत्री अध्यक्षका सम्भावित उम्मेदवार हुन् ।
नयाँ नेतृत्व सर्वसम्मत चयन गर्ने अध्यक्ष गुरुङको दाबी छ । ‘लोकतान्त्रिक व्यवस्थामा एउटा पदमा ३/४ जनाले आकंक्षा राख्न सकिन्छ । यो लोकतान्त्रिक विधि पनि हो । अधिवेशन जनवाद पनि हो । त्यसो हुनाले विचार राख्न पाइन्छ । उम्मेदवार बन्न पनि पाइन्छ । विचारको बहस र छलफल गरेर अन्त्यमा एकता प्रस्तुत गरेर सर्वसम्मत नेतृत्व चयनको काम गर्छौं,’ उनले भने ।
नेकपा एमालेकी स्थायी कमिटी सदस्य एवं कास्की इञ्चार्ज थममाया थापाले एमालेमा विचार प्रस्तुत गरेर बहस गर्नु सकरात्मक भएको बताइन् । उनले भनिन्, ‘छलफल बहस हुनु स्वभाविक कुरा हो । वैचारिक, राजनीतिक, सांगठनिक हरेक विषयमा छलफल हुन्छ ।