जनकपुरधाममा होली पर्व मंगलवार कि बुधवार ? यसो भन्छन् जानकी मन्दिरका छोटा महन्त
जनकपुरधाम । एक आपसमा भएका शत्रुता भुलेर रङ अबिर लगाएर होली पर्व मनाइन्छ । यसवर्ष पहाडमा भोली (आइतवार) र तराईरमधेशमा सोमवार मनाइँदैछ । जनकपुरधामबासी भने होली कहिले मनाउनेमा अन्यौलमा छन् ।
१५ दिने ऐतिहासिक मिथिला माध्यमिक परिक्रमा विधिवत सम्पन्न भएको विहानपल्ट जनकपुरधाममा होली मनाउने चलन छ । आइतबार परिक्रमा जनकपुरधाम आइपुग्छ । फागु पूर्णिमाको दिन सोमवार अन्तरगृह परिक्रमा गरिनेछ ।
परिक्रमालाई आधार मान्ने हो भने जनकपुरधामबासीले होली मंगलवार मनाउनुपर्ने हो । तर यहाँका अधिकतम व्यक्तिले होली बुधवार मनाउने बताउँछन् । मंगलवार जनकपुरधामका प्रायः व्यक्ति ‘मंगलवारी ब्रत’ बस्छन् अर्थात् माछामासु खादैनन् । त्यसैले ब्रत बस्नेहरु मंगलवार होली मनाउन चाहेका छैनन् ।
होली कहिले मनाउने विषयमा फरक फरक कुरा आएपछि जानकी मन्दिरका छोटा महन्त रामरोषण दासले भिडिओ सन्देश जारी गरेर मंगलवार नै होली मनाउन नगरबासीसँग अपिल गरेका छन् ।
‘खानपानकै लागि होली बुधवार मनाउने तर्क उपयुक्त होइन्,’ उनले भनेका छन्, ‘जनकपुरको होली परिक्रमासँग जोडिएको छ । यस अनुसार होली मंगलबार हुनेछ । होली महोत्सव सीतारामको रंग हो । त्यसैले मंगलबार नै मनाउन अपिल गर्छु ।’
जनकपुरधामको होली परिक्रमासँग जोडिएको छ । परिक्रमाको नेतृत्व गरिरहेका किशोरीजी डोलाका महन्त नवलकिशोर दासले पनि तिथिअनुसार होली मंगलवार मनाउने बताए । ‘माछामासु खाने बहानामा होली पर्व एकदिन पछि सार्नु गलत हो।’ उनले भने ।
यहाँ साधुसन्त र महन्तहरु मंगलवार नै होली मनाउन अपिल गरिएपनि नगरबासी मान्न तयार देखिएका छैनन् । यूवा पत्रकार किसन साह भन्छन्, ‘यहाँका ९५ प्रतिशतले होली बुधवार मनाउँछन् । धेरैले मंगलवार माछा, मासु र मदिरा खादैनन् नी ! त्यसैले पर्व नै एकदिन सार्न खोजिएको छ ।’
किन मनाइन्छ होली?
दानवतामाथि मानवताको विजय भएको खुसीयालीमा होली पर्व मनाउने चलन सुरु भएको छ । त्रेता युगमा राक्षसी प्रवृत्तिका ब्यक्ति थिए- हिरण्यकशिपु । उनले भगवान ब्रम्हाको तपस्या गरेका थिए । कठोर तपस्याकै कारण भगवान ब्रम्हाले उनको मृत्यु बिहान, राती, बाहिर भित्र, जनावर, मानिसले वा देवताको हातबाट समेत नहुने बरदान दिए ।
बरदान पाएपछि हिरण्यकशिपुले आफूलाई नै भगवान् ठाने । अरुमाथी अन्याय अत्याचार गर्न थाले । पिता खराब प्रबृत्तिको भए पनि उनका छोरा प्रल्लाहद भगवान् विष्णुका सबैभन्दा ठुला भक्त बन्न पुगे ।
आसुरी वा राक्षसी प्रवृत्तिको पिताले छोरालाई आफ्नै सबैभन्दा शक्तिशाली भएकाले आफ्नै पूजा गर्न भने । तर छोरा प्रल्हादले मानेनन् । पटक(पटक धम्क्याउँदा पनि छोराले भगवान् विण्णुप्रतिको अगाध श्रद्धा कायमै राखेका कारण हिरण्यकशिपुले प्रल्हादलाई मार्ने योजना बनाए । बहिनी होलिकाले पनि हिरण्यकशिपुलाई साथ दिइन् ।
होलिकाले बालक प्रल्हादलाई लगेर आगोमा भष्म पार्न लाग्दा उनी आफै जलेर खरानी भइन् । तर बालक सकुशल रहे । यसै दिनलाई असत्यमाथि सत्यको जित अर्थात् दानव प्रबृतिको पराजय भएको सम्झना स्वरुप होली मनाउने चलन सुरु भएको धार्मिक ग्रन्थहरुमा उल्लेख छ ।
अमर्यादित गतिविधि नगर्न प्रशासनको चेतावनी
जिल्ला प्रशासन कार्यालय धनुषाले होली पर्वमा अमर्यादित गतिविधि नगर्न अनुरोध गरेको छ । प्रमुख जिल्ला अधिकारी रामुराज कडरीयाले सूचना जारी गर्दै होलीको नाममा अमर्यादित गतिविधि गर्नेलाई कारबाही गर्ने चेतावनी दिएका हुन् ।
उनले होली पर्वमा जथाभावी रंग लगाउने, लोला हान्ने, मादक पदार्थ सेवन गरी हो(हल्ला गर्ने अश्लिल गितहरु बजाई नाँच्ने, बाटोमा हिड्ने महिलाहरुलाई अभद्र व्यवहार गर्ने जस्ता क्रियाकलापहरु नगर्न र नगराउन अपिल गरेका छन् ।