‘दोस्रो रामेछाप कप फुटसल’को उपाधि लिखु भुजी युवा क्लबलाई
काठमाडौं । लिखु भुजी रामेछाप युवा क्लब (एलबीआरवाईसी)ले‘दोस्रो रामेछाप कप फुटसल प्रतियोगिता’को उपाधि जितेको छ ।
आइतबार भएको फाइनल खेलमा अखिल क्रान्तिकारीलाई ८–२ गोलले पराजित गर्दै एलबीआरवाईसीले उपाधि जितेको रामेछाप–काठमाडौं पत्रकार समाजका महासचिव प्रज्वल पौडेलले जानकारी दिए ।
यसैगरी लिखु भुजी रामेछाप युवा क्लब (लिभुरा)ले तेस्रो स्थान हासिल गरेको छ । साथीको चिया अड्डालाई ६–४ गोल अन्तरले पराजित गर्दै लिभुराले तेस्रो स्थान हासिल गरेको हो ।
महासचिव पौडेलका अनुसार उपाधिसँगै लिखु भुजी रामेछाप युवा क्लब (एलबीआवाईसी) ले शिल्डसहित ५० हजार नगद प्राप्त गरेको छ । यस्तै, दोस्रो भएको अखिल क्रान्तिकारीले ३० हजार र तेस्रो भएको लिखु भुजी रामेछाप युवा क्लब (लिभुरा)ले २० हजार रुपैयाँ, मेडल पुरस्कार प्राप्त गरेका छन् ।
रामेछाप–काठमाडौं पत्रकार समाजले आयोजना गरेको प्रतियोगितामा आयोजकसहित रामेछाप जिल्ला भरिबाट १७ टोलीले सहभागिता थियो । सहभागी टोलीलाई आठ समूहमा विभाजन गरी लिगकम नकआउट प्रतियोगिता शनिबार र आइतबार सञ्चालन गरिएको थियो । रामेछाप जिल्लाबाट काठमाडौं उपत्यकामा रहेका व्यक्ति तथा संस्थालाई लक्षित गरी फुटसल प्रतियोगिताको आयोजना गरिएको हो ।
विजेता टोली र खेलाडीहरूलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ, नेपाल प्रेसका प्रधान सम्पादक मात्रिका पौडेल, नेपाल खेलकुद महासंघ (नेकोस) बागमती प्रदेश कमिटीको अध्यक्ष सीताराम कार्की लगायतले पुरस्कार वितरण गरेका थिए ।
प्रथम संस्करणमा लिखु भुजी युवा क्लब रामेछापलाई ट्राइब्रेकरमा २–० ले पराजित गर्दै अनेरास्ववियुले उपाधि जितेको थियो ।