संसदमा बोल्नै सांसदलाई सकस: डायरी र मोबाइल हेरेर पढ्दा पनि कन्छन् !
काठमाडौं । संसदमा सांसदले लेखेको पढ्नुलाई शोभनीय मानिँदैन । जनताको कुरा जनताकै भाषा जस्ताको तस्तै राख्नु संसदको मौलिकता हो । लेखेको पढ्दा पनि धारा प्रवाह भएको भए कर्णप्रिय नै हुन्थ्यो । तर, लेखेकै पढ्न पनि सांसदहरुले कन्नुपर्ने दृश्य देखेर संसदको गरिमा नै गिर्दो छ ।
लेखेको पढ्नु, मोबाइल र ट्याब हेरेर बोल्नु संसदीय अभ्यास होइन । तर, पछिल्लो समय सांसदहरुले यही अभ्यासलाई निरन्तरता दिँदै आएका छन् ।
आफ्नो दलको कार्यक्रममा घण्टौं धारा प्रवाह बोल्ने नेताहरु समेत संसदमा एक मिनेट बोल्नुपर्दा पनि लिखित कुरा वाचन गर्छन्, डायरी पल्टाउँछन्, मोबाइल हेर्छन् । तैपनि शब्द प्रस्ट सुनिँदैन । भन्न खोजेको कुरा बुझिँदैन ।
संसदको नियमित बैठकमा मात्रै होइन आकस्मिक, शून्य र विशेष समयमा बोल्ने अधिकांश सांसदहरुको हालत पनि यस्तै छ । केही मिनेटको भनाइ राख्न पनि डायरी पल्टाउनुपर्ने, मोबाइल हेर्नुपर्ने त पत्रपत्रिका हातमा लिनुपर्ने सांसदहरुको रवैयाका कारण संसद बैठकको दृश्य नै पत्यारलाग्दो बन्न थालेको छ ।
सभामुख तथा उपसभामुखले यस्तो क्रियाकलाप संसदीय मान्यताविपरीत भएको पटक पटक ध्यानाकर्षण गराउँदा पनि सांसदहरुले न डायरी पल्टाउन छाडेका छन् न त मोबाइल र पत्रपत्रिका पढ्न नै छोडेका छन् । तर, संसदको आचारसंहितामा यसरी बोल्न नपाइने व्यवस्था छ ।
यसबाट के पुष्टि हुन्छ भने हाम्रा सांसदहरु आफैले बनाएको आचारसंहिता पालना गर्दैनन् । अन्तरिम संविधान मस्यौदा समितिका सदस्य एवं संविधानसभा सदस्य खिमलाल देवकोटा जनताका प्रतिनिधिले संसदमा जनताको आवाज बोल्नुपर्नेमा अरू कसैको कोट गरेर, अरू कसैले लेखेर दिएको कुरा बोल्न नहुने बताउँछन् ।
यसले संसदको महत्वलाई नै कमजोर बनाइरहेको उनको भनाइ छ । ‘अहिले त प्रत्यक्ष प्रसारण हुन्छ, सांसदका गतिविधि जनताले पनि हेरिरहेका हुन्छन्’, वरिष्ठ अधिवक्ता देवकोटा भन्छन्, ‘सांसद लेखेको हेरेर पढ्दा पनि शब्द चपाइरहेका हुन्छन् । शब्द दोहोर्याइ तेहर्याइ वाचन गरिरहेका हुन्छन् । सांसद जनताको प्रतिनिधि हो । जनताको भाषा जस्ताको तस्तै त्यही भाषामा बोल्दा हुन्थ्यो नि !’
उनका अनुसार कागज हेरेर संसदमा बोल्न पाइँदैन । जनताको प्रतिनिधित्व गर्ने सांसदले आफैं बोलेर व्यक्त गर्न सक्नुपर्छ । लेखेर वाचन गर्ने होइन ।
‘संसदमा यस्तै विकृति छिरेपछि २०१६ सालमा तत्कालीन सभामुख कृष्णप्रसाद भट्टराईले संसदमा लेखेर पढ्न नपाइने रुलिङ नै गरेका थिए । त्यो रुलिङको अर्थ हो, संसद बहस गर्ने ठाउँ हो । बहस छलफलमा लेखेको हेरेर पढ्ने होइन । रुलिङपछि यो विषय नियमावलीमै आएको थियो’, उनले थपे, ‘यसैगरी संसदमा सांसदले पालना गर्नुपर्ने आचारसंहितामा पत्रपत्रिका पढ्न नहुने, संसदमा एजेण्डाको विषयमा बाहेक अरू पढ्न नहुने, चुरोट, खैनी, गुट्खा जस्ता चिज खान नहुने, सभामुख र अरूका आसनको बीचबाट हिंड्न नहुने, अरू बोलिरहेको बेलामा बोल्न नहुने भन्ने राखियो । अहिले पनि छ यो आचारसंहिता ।’
कृष्णप्रसाद भट्टराईपछि तत्कालीन सभामुख दमननाथ ढुंगानाले पनि सदनमा लेखेर नपढ्न, बरु जे जानेको छ त्यही बोल्न सांसदहरुलाई निर्देशन नै दिएका थिए । तर, नेपालमा संसदीय अभ्यास सुरु भएको ६ दशक बितिसक्दा पनि संसदीय अभ्यास आलाेकाँचो नै रहेको देखिएको छ । संसदमा लेखेर पढ्नु हुँदैन भन्ने आचारसंहिता हुँदा पनि सांसदहरुले पालना गरेको पाइँदैन ।
सांसदको क्षमता अभिवृद्धि गर्ने काम संघीय संसद सचिवालयको हो । साथै आचारसंहिता पालना भए नभएको हेर्ने सभामुखले हेर्ने हो । त्यस्तै सम्बन्धित राजनीतिक दलले आफ्ना सांसदलाई संसदीय अभ्यासमा पोख्त बनाउनुपर्ने तथा क्षमता अभिवृद्धि गर्नुपर्ने हो । तर, संसद बैठकको दृश्य हेर्दा त्यो भएको देखिँदैन ।
संघीय संसदले हरेक दललाई कार्यालय, नेता तथा उपनेता, प्रमुख सचेतक, मुख्य सचेतक तथा सचेतकको जिम्मेवारीसहित सुविधा दिएको छ । तर, सुविधाअनुसार काम भएको देखिँदैन । दलका सांसदले मात्रै होइन प्रमुख सचेतक, मुख्य सचेतक तथा सचेतकसमेत एक मिनेटको शून्य समयमा आफ्नो मौलिक धारणा राख्दैनन्, डायरी वा मोबाइल हेर्नैपर्ने अवस्था छ ।
प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानामगरले संसदमा लेखिएको कुरा जस्ताको त्यसै पढेर सुनाउने अभ्यास राम्रो नभएको बताइन् । धेरै पटक लेखेर जस्ताको त्यस्तै नपढ्न आग्रह गर्दा पनि सांसदहरुबाट सुनुवाइ नभएको उनी बताउँछिन् ।
‘केही बुँदा हेरेर बोल्ने कुरासम्म त ठीकै हो । तर, जस्ताको त्यस्तै पढ्नु राम्रो होइन’, उपसभामुख रानामगरले भनिन्, ‘जनताको प्रतिनिधि भइसकेपछि मौलिकतासहित जनताको विषय बोल्ने हो भनेर धेरै पटक माननीयज्यूलाई भनेको छु ।’
लेखेको कुरा जस्ताको त्यस्तै बोल्ने गर्नाले संसदको मौलिकता नै हराउँदै गएको उनको भनाइ छ ।
विचरा हाम्रा सांसदहरू! किन त्यति साह्रो भनेको? विचराहरूलाई आफूले के भन्नुपर्ने हो थाह नै छैन नि त! उनीहरूलाई जे भन्न सिकाइएको छ त्यो भन्नलाई त लेखेर ल्याएको नोट नै पढ्ने हो नि! त्यति पढिदिएपछि त सम्बन्धित पक्ष पनि गजक्क भइहाल्छन् नि!