कुशल भुर्तेलले लिए विकेट, आयरल्यान्ड ‘ए’ लाई तेस्रो झट्का
काठमाडौं । नेपालविरुद्ध १९९ रनको लक्ष्य पछ्याइरहेको आयरल्यान्ड ‘ए’ ले तेस्रो विकेट गुमाएको छ । टोलीले ७५ रन जोड्दा केड कार्मीचायल व्यक्तिगत २६ रनमा आउट भए । उनलाई कुशल भुर्तेलले आउट गरे । आयरल्यान्ड ‘ए’ ले १२ ओभरमा ३ विकेट गुमाएर ८३ रन जोडेको छ ।
पहिलो विकेटका लागि ४३ रनको साझेदारी गरेको आयरल्यान्ड ‘ए’ ले सोही अवस्थामा अर्का ओपनरलाई पनि गुमाएको थियो । रोस अडैरले १७ र स्टेफन डोहेनीले २६ रन बनाए । सोमपाल कामी र कुशल मल्लले एक एक विकेट हात पारे ।
त्यसअघि त्रिवि क्रिकेट मैदानमा भइरहेको खेलमा नेपालले टस जितेर ब्याटिङ गर्नेक्रममा निर्धारित २० ओभरमा ७ विकेट गुमाएर एक सय ९८ रन जोड्यो ।
नेपालका गुल्सन झाले ३२ बलमा ४६ र कुशल मल्लले १३ बलमा ३४ रन जोडे । रोहित पौडेलले २४ बलमा ३३ र कुशल भुर्तेलले १६ बलमा २५ रन जोडे । सन्दीप जोराले पनि १० बलमा २१ रन बनाए । गुल्सन र रोहितबीच चौथो विकेटका लागि ७१ रनको साझेदारी भएको थियो ।
नेपालका आसिफ शेख ११ र अनिल शाह १२ रन बनाएर आउट भए । विवेक यादव ७ रनमा अविजित रहे ।
यसअघि पहिलो खेलमा नेपाल सोमबार ६ विकेटले विजयी भएको थियो ।