उपनिर्वाचन भयरहित बनाउने गरी सुरक्षा प्रवन्ध मिलाउन गृहमन्त्री लामिछानेको निर्देशन
काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले इलाम-२ मा बैशाख १५ गते हुने उप-निर्वाचन तयारीबारे जानकारी लिएका छन्। इलाममा रहेका मन्त्री लामिछानेले जिल्ला प्रशासन कार्यालय पुगेर निर्वाचन तयारीबारे जानकारी लिँदै भयरहित वातावरणमा मतदान हुने व्यवस्थाका लागि सुरक्षासहित सबै प्रबन्ध मिलाउन निर्देशन समेत दिएका हुन् ।
‘एउटै निर्वाचन क्षेत्रमा हुने भएकाले उप-निर्वाचनको तयारी र सुरक्षासहितका प्रबन्धमा स्रोत-साधनको अभाव नहुने भएकाले तयारीदेखि परिणाम घोषणासम्म मिहिन र जनविश्वसनीय योजना बनाउनु होला।’उनले निर्देशन दिँदै भने ।
निश्पक्ष र शान्तिपूर्ण निर्वाचन गराउन गृह मन्त्रालयले तत्काल गर्नुपर्ने काम भए जानकारी गराउन आग्रह समेत गरे । साथै उनले आवश्यक समन्वय र स्रोतसाधन उपलब्ध गराउने बताए ।
उनले भने,‘अन्य विषयस् कानूनले दिएको अधिकार प्रयोग गर्नुस्, के गरौं भनेर सोध्नुभयो भने तपाईंलाई चाहिँ के गर्ने हो सोच्नुपर्छ।
तपाईंहरु राजनीतिक दलको दलदलमा नफस्नुस्। हाम्रोसहित सत्ता सहयात्री दल वा अन्यबाट दबाब र प्रभाव आयो भने मलाई भन्नुस्, त्यो म थेग्छु। ’
नागरिकलाई सेवा दिनु आफनो कर्तव्य बताउँदै नागरिकले कुनै पनि कुरामा गुनासो गर्नु नपरोस् भन्दै चेतावनी समेत दिए ।
प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले उप-निर्वाचन तयारीसहित जिल्लाको वस्तुस्थिति, सेवा प्रवाहको अवस्था, सुरक्षा चुनौतीलगायत विषयमा गृहमन्त्री समक्ष जानकारी गराएका थिए । प्रजिअ यादवका अनुसार उप-निर्वाचनमा ३ हजार सुरक्षाकर्मी परिचालन गरिने छ।