सरकार राजस्वमुखीमात्रै भयो: अध्यक्ष अग्रवाल
काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीति थप लचिलो हुनुपर्ने बताएका छन् ।
परिसंघअन्तर्गतको महिला नेतृत्व फोरम (सीएनआईडब्लुएलएफ) को आयोजनामा चितवनमा सुरु भएको प्रथम प्रादेशिक महिला नेतृत्व कृषि सम्मेलनमा बोल्दै उनले हाल नेपालको अर्थतन्त्र निकै चुनौतिपूर्ण अवस्थामा रहेको जिकिर गरे ।
उनले समग्र बजारमा मागको कमीका कारण उद्योगी, व्यवसायीहरु अप्ठेरो अवस्थामा रहेको बताए । कतिपय उद्योग व्यवसाय बन्द भइसकेको र कतिपय बन्द हुने अवस्थामा रहेको उनको भनाइ थियो ।
अध्यक्ष अग्रवालले पूँजीगत खर्च बढाइ अर्थतन्त्रलाई गति प्रदान गर्न आवश्यक रहेको बताए ।
आगामी वैशाखमा हुन लागेको लगानी सम्मेलनका लागि कानून सुधारका विषय सरकारले गम्भीरतापूर्वक लिनुपर्ने उनको भनाइ थियो । ‘लगानी सम्मेलनमा स्वदेशी तथा विदेशी लगानीकर्तालाई नयाँ सन्देश दिन महत्वपूर्ण हुने विश्वासका साथ परिसंघले दिएका कानून सुधारका विषयलाई सरकारले उच्च प्राथमिकता दिनुपर्छ’, उनले भने ।
अध्यक्ष अग्रवालले सरकार राजस्वमुखी हुँदा वर्षेनी अर्बौं रुपैयाँको खाद्यान्न आयात गरिरहेको बताए । सरकारले कृषिलाई उच्च प्राथमिकता राखेको भने पनि व्यवहारमा लागू गर्न नसकेको उनको आरोप थियो ।
‘कृषिमा परनिर्भरता हटाउँदै लैजान आन्तरिक उत्पादन र त्यसको खपतमा ध्यान दिन आवश्यक छ’, उनले भने, ‘आगामी बजेटले आन्तरिक उत्पादन र प्रयोग प्रोत्साहन गर्ने नीति अवलम्वन गर्नुपर्छ ।’
अनि व्यापारी राजश्वामारा मात्र भए ।