जनताको मन छुने र सबैले अपनत्व लिने बजेट ल्याउँछु: अर्थमन्त्री पुन – Nepal Press

जनताको मन छुने र सबैले अपनत्व लिने बजेट ल्याउँछु: अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले आमजनता र सबै सरोकारवालाले स्वामित्व लिन सक्ने खालका कार्यक्रम बजेटमा समेट्न निर्देशन दिएका छन् ।

आर्थिक वर्ष २०८१÷०८२ को बजेट तर्जुमासम्बन्धी मन्त्रालयमा शनिबार भएको एक कार्यक्रममा उनले अर्थसचिव कृष्णहरि पुष्कर, राजश्व सचिव रामप्रसाद घिमिरे, बजेट लेखन समितिका सहसचिवहरु, मन्त्रालयका सबै महाशाखा प्रमुख, विभागीय प्रमुख तथा महानिर्देशक र उपमहानिर्देशकहरुलाई राखेर बजेटको प्राथमिकताबारे सामूहिक निर्देशन दिएका हुन् ।

उत्पादन वृद्धिमार्फत रोजगारी सिर्जना गर्ने, आयात प्रतिस्थापन गरी वैदेशिक व्यापार घाटा कम गर्नेमा आफ्नो जोड रहने उनले बताए ।
त्यसका लागि उत्पादनमूलक उद्योग प्रवर्द्धनमा लगानी र निर्यात प्रवर्द्धनलाई जोड दिनुपर्ने उनको भनाइ थियो ।

अर्थमन्त्री पुनले बजेट निर्माण गर्दा सत्ता साझेदार दलहरुबीचको न्यूनतम साझा कार्यक्रमभित्र रही विषयगत मन्त्रालयहरुसँग समन्वय गर्न जोड दिए ।

सरकारको नीति तथा कार्यक्रम, बजेट र मौद्रिक नीतिबीच तालमेल हुनुपर्नेमा जोड दिँदै उनले त्यसका लागि सम्बद्ध निकायहरुबीच अन्तरसम्बन्ध स्थापनामा निरन्तर संवाद हुनुपर्ने बताए ।

मन्त्री पुनले भने, ‘बजेट विनियोजन गर्दा ‘बहुजन हिताय’ भन्ने मान्यताका आधारमा बढीभन्दा बढी जनतालाई छुने र उनीहरुले स्वामित्व लिनसक्ने हुनुपर्छ भन्ने प्रधानमन्त्रीज्यूको स्पष्ट निर्देशन छ । मैले तपाईंहरुलाई भन्ने पनि यही नै हो ।’

कृषिजन्य उपज र बजारबीच लिंकेज हुने कार्यक्रम बजेटमा राखिने बताउँदै उनले बजारको स्थायित्वका लागि उत्पादनको आकारमा वृद्धि जरुरी रहेकोमा जोड दिए ।

मन्त्री पुनले मध्यपहाडी लोकमार्ग र हुलाकी राजमार्ग आसपास क्षेत्रहरुमा नयाँ बजार र आर्थिक केन्द्र स्थापना गर्ने विषयलाई बजेटमा समावेश गर्न निर्देशन दिए ।

स्थानीय तहमा जाने समानीकरण अनुदानलाई आर्थिक वर्षको बीचमा संशोधन गर्न नमिल्ने व्यवस्था गर्न तथा सशर्त अनुदानका कार्यक्रम घटाउन निर्देशन दिँदै उनले राजस्वको अनुमान र परिचालनबीचको दूरी कम गर्ने तथा सार्वजनिक संस्थान सुधारलाई जोड दिने आफ्नो नीति रहेको उल्लेख गरे ।

अर्थमन्त्री पुनले यो वर्षको बजेट निजी क्षेत्र र लगानीमैत्री हुने बताए । निजी क्षेत्रलाई प्रोत्साहित हुने खालको बजेटले मात्र आर्थिक क्रियाकलाप विस्तार हुने उनको विश्वास थियो ।

‘यो वर्षको बजेट निजी क्षेत्र र लगानीमैत्री हुनेछ’, उनले भने, ‘निजी क्षेत्रका जेन्युइन लगानीकर्ताका लागि ‘रेड कार्पेट’ बिछ्याउने नीति लिइने भएकाले यसकै वरिपरि रहेर बजेट बनाउनुपर्नेछ ।’

मन्त्री पुनले अर्थ मन्त्रायका सहसचिव धनीराम शर्माको नेतृत्वमा शुक्रबार सहसचिवहरु रितेशकुमार शाक्य, महेश आचार्य, रामप्रसाद आचार्य, ईश्वरी अर्याल र पार्वती शर्मा सदस्य रहेको बजेट लेखन समिति गठन गरेका थिए । १२ वर्षअघि बाबुराम भट्टराई नेतृत्वको सरकारमा पहिलो पटक अर्थमन्त्री हुँदा पुनले विपक्षीको अवरोधका कारण बजेट ल्याउन पाएका थिएनन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *