वृद्ध भत्ता जम्मा पारेर ८७ वर्षीया फगामीले बनाइन् पुल  – Nepal Press

वृद्ध भत्ता जम्मा पारेर ८७ वर्षीया फगामीले बनाइन् पुल 

म्याग्दी ।  मालिका गाउँपालिका–५ मगरदाङमा एक वृद्धाले सामाजिक सुरक्षा भत्तावापतको रकमबाट पुल निर्माण गरेकी छन् ।

मगरदाङकी ८७ वर्षीय रुपीसरा फगामीले डाडागाउँ खोल्सामा व्यक्तिगत लागतमा सात मिटर लामो ढलान गरेको कल्भर्ट पुल निर्माण गरेकी हुन् । मगरदाङका स्थानीय भकबहादुर घर्तीमगरले फगामीले सरकारबाट मासिक  चार हजारका दरले पाउने सामाजिक सुरक्षा भत्ता सङ्कलन गरेर रु पाँच लाखको लागतमा पुल निर्माण गरिदिएको जानकारी दिए ।

दिवङ्गत श्रीमान् कलवीर फगामीको स्मृतिमा रुपीसराले निर्माण गरेको पुलको शनिबार वडा सदस्य धनबहादुर फगामीले उद्घाटन गरे । पुल उद्घाटनका अवसरमा मगरदाङ आमा समूह र मालिका देवीस्थान बाजा समूहले रुपीसरालाई फुलमाला र प्रमाणपत्रले सम्मान गरेका थिए ।

सो पुलबाट मगरदाङका करिब दुई सय ५० घरधुरी लाभान्वित भएका छन् । वर्खामा खोल्सामा बाढी आउँदा जोखिम खोलेर वारपार गर्नुपर्ने समस्या हटेको छ । फजुल खर्च बचाएर श्रीमान्को नाममा विकास निर्माणमा खर्च गरी रुपीसराले उदाहरण प्रस्तुत गरेको वडा सदस्य फगामीले बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर