सामाजिक सुरक्षा कोषमा आबद्धलाई अनलाइनबाट उपचार सुविधा दिन मन्त्रालयको परिपत्र – Nepal Press

सामाजिक सुरक्षा कोषमा आबद्धलाई अनलाइनबाट उपचार सुविधा दिन मन्त्रालयको परिपत्र

काठमाडौं । सामाजिक सुरक्षा कोषमा आबद्ध योगदानकर्तालाई अनलाइन प्रणालीबाटै स्वास्थ्य उपचार सुविधा उपलब्ध गराउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले परिपत्र गरेको छ ।

मन्त्रालयले संघीय सरकारको मातहतमा रहेका सबै अस्पताल र प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयमार्फत प्रदेश सरकार मातहत रहेका सबै अस्पताललाई अनलाइन प्रणालीबाट आबद्ध स्वास्थ्य संस्थामार्फत स्वास्थ्य उपचार सेवा सुविधा दिन परिपत्र गरेको हो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सहजीकरण गरिदिन पत्राचार गरे लगत्तै स्वास्थ्य मन्त्रालयले सामाजिक सुरक्षा कोषले औपचारिक, अनौपचारिक तथा स्वरोजगार र वैदेशिक क्षेत्रमा कार्यरत श्रमिकको सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि बमोजिम संघीय सरकार मातहत रहका २० अस्पताललाई अनलाइन प्रणालीबाट आबद्ध स्वास्थ्य संस्थामार्फत स्वास्थ्य उपचार सेवा सुविधा दिन आग्रह गरेको मन्त्रालयका सहसचिव एवं गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा।मदनकुमार उपाध्यायले जानकारी दिए ।

जसमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पताल महाबौद्ध, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान पाटन, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवन, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथली, कान्ति बाल अस्पताल महाराजगञ्ज, मानसिक अस्पताल पाटन, शहीद गंगलाल राष्ट्रिय हृदय केन्द्र, बाँसबारी रहेका छन् ।

यस्तै शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुर, जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्र तनहुँ, भक्तपुर क्यान्सर अस्पताल, भक्तपुर, भरतपुर अस्पताल चितवन, गजेन्द्रनारायण सिंह अस्पताल सप्तरी, कोशी अस्पताल विराटनगर, डडेलधुरा अस्पताल डडेलधुरा, भेरी अस्पताल नेपालगञ्ज र नारायणी अस्पताल वीरगन्ज रहेका छन् ।

यस्तै मन्त्रालयले स्वास्थ्य मन्त्रालय कोशी प्रदेश, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मधेश प्रदेश, स्वास्थ्य मन्त्रालय बागमती प्रदेश, सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेश, स्वास्थ्य मन्त्रालय लुम्बिनी प्रदेश, सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेश र सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेशमार्फत प्रदेश स्तरका सबै अस्पताललाई परिपत्र गरेको छ ।

सामाजिक सुरक्षा कोषका अनुसार संघीय सरकार अन्तरगत अहिले परिपत्र गरिएका २० अस्पतालमध्ये वीर अस्पताल, पाटन अस्पतालमा मात्रै अनलाइन प्रणालीबाट आबद्ध स्वास्थ्य संस्थामार्फत स्वास्थ्य उपचार सेवा सुविधा दिदैँ आएका छन् ।

शहीद गंगलाल राष्ट्रिय हृदय केन्द्रले तीन वर्ष अघि र परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले डेढ वर्ष अघि सामाजिक सुरक्षा कोषसँग लिखित रूपमै सम्झौता गरेको भए पनि अहिलेसम्म अफलाइन र अनलाइन दुवै सुविधा दिएका छैनन् ।

कोषमा अनलाइन प्रणालीबाटै स्वास्थ्य उपचार सुविधा दिने भनेर अहिलेसम्म निजी तथा सरकारी गरेर सात वटै प्रदेशबाट ८३ वटा अस्पताल आबद्ध भइसकेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *