महाधिवेशनमा लफडाबारे ४ भट्टराई बन्धुको विज्ञप्ति- एकपक्षीय हालीमुहाली स्वीकार्य हुँदैन
चितवन । चितवनको देवघाटमा भट्टराई कुल वंश प्रतिष्ठानको १०औं केन्द्रीय महाधिवेशनमा कुटाकुट भएको घटनालाई लिएर नेतृत्वका आकांक्षीहरूले संयुक्त विज्ञप्तिमार्फत् एकलौटीरूपमा कार्य समिति बनाइएको भन्दै आपत्ति जनाएका छन् ।
दुईजना अध्यक्षका उम्मेदवार, सहअध्यक्षका उम्मेदवार र महासचिवका उम्मेदवारले सामूहिक विज्ञप्ति निकालेर शेरबहादुर भट्टाराई नेतृत्वको समितिप्रति आपत्ति जनाउँदै पुनः निर्वाचन प्रकृयामार्फत नमिलेको मन मिलाउन भनेका हुन् ।
संयुक्त हस्ताक्षर गर्नेमा अध्यक्षका उम्मेदवार दिनेश भट्टराई, दुर्गाप्रसाद भट्टराई, सहअध्यक्षका उम्मेदवार लोकनाथ भट्टराई र महासचिवका उम्मेदवार मनोज भट्टराई छन् ।
विज्ञप्तिमा निर्वाचन प्रकृया स्थगित भएकै ठाउँबाट निर्वाचन नियमावलीले व्यवस्था गरेअनुरूप ३५ दिनभित्र मिलाएर पुनः निर्वाचन प्रकृया अघि बढाउन अनुरोध गरिएको छ ।
उनीहरूले सर्वसम्मतिका लागि उम्मेदवारबीच छलफल गराउनुपर्नेमा नगराई, उम्मेदवारबाहेकका व्यक्तिलाई राखी एकै व्यक्तिको नेत्तृत्व लामो समय गराउन खोजेको उक्त घटना भएको दाबी गरेका छन् । ३०औँ वर्षसम्म एकल नेतृत्व स्वीकार्न नसक्ने उनीहरूको प्रष्टोक्ति छ ।
यद्यपि, निर्वाचन समितिले भने शेरबहादुर भट्टराईको नेतृत्वमा १४ पदाधिकारीसहितको १ सय ७० सदस्यीय कार्यसमितिको नाम चैत १७ गते नै घोषणा गरिसकेको छ ।