बैतडीमा शैक्षिक सत्र अगावै पाठ्यपुस्तक पुग्याे – Nepal Press

बैतडीमा शैक्षिक सत्र अगावै पाठ्यपुस्तक पुग्याे

बैतडी । बैतडीमा शैक्षिक सत्र सुरु हुनुभन्दा अगाडि नै पाठ्यपुस्तक पुगेको छ । आगामी शैक्षिक सत्रका लागि जिल्लाका पुस्तक बिक्रेताकहाँ पाठ्यपुस्तक पुगेको हो ।

पहिलो पटक शैक्षिक सत्र सुरु हुनुभन्दा अगाडि पाठ्यपुस्तक उपलब्ध भएको हो । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको धनगढीस्थित कार्यालयले पाठ्यपुस्तक उपलब्ध गराएको हो ।

बैतडीमा कक्षा १ देखि १० सम्म ६७ हजार ६ सय ४६ विद्यार्थी रहेकाले त्यति नै सङ्ख्यामा पाठ्यपुस्तकको सेट आवश्यक पर्ने शिक्षा विकास तथा समन्वय एकाइ बैतडीका प्रमुख नरेन्द्र अवस्थीले बताउनुभयो  । बैतडीमा पाँच सय ३९ सामुदायिक विद्यालय रहेका छन् ।

कक्षा १ देखि १० सम्मका सबै विषयका पाठ्यपुस्तक बिक्रेताकहाँ पुगिसकेका छन् । बिक्रेताबाट विद्यालयले पाठ्यपुस्तक खरिद गरेर लैजाने गरेका छन् । सम्बन्धित स्थानीय तहले विद्यालयको खातामा पाठ्यपुस्तक खरीदका लागि रकम निकाशा गर्ने गरेको छ । कक्षा १ देखि १० सम्म सरकारले निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउने गरेको छ ।

शैक्षिक सत्र सुरु हुनुभन्दा अगाडि नै पाठ्यपुस्तक पुगेपछि पठनपाठन गर्न सहज हुने सनातन धर्म माविका प्रधानाध्यापक बलदेव नाथले बताए । पाठ्यपुस्तकको अभावमा पठनपाठन कार्य अब प्रभावित नहुने उनको भनाइ छ ।

आगामी वैशाख १ गतेदेखि नयाँ शैक्षिक सत्र सुरु हुँदैछ । वैशाख १५ गतेसम्म भर्ना अभियान सञ्चालन हुने शिक्षा विकास तथा समन्वय एकाइले जनाएको छ । अभियानको पहिलो हप्ता विद्यार्थीले विद्यालयमै गएर भर्ना हुने कार्यक्रम छ । वैशाख ७ गतेदेखि छुटेका विद्यार्थीलाई विद्यालयमा पहुँच पु¥याउन घरदैलो अभियान सञ्चालन हुने बताइएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर