कर्णेल उजिरसिंह थापा स्मृतिमा अन्तर्राष्ट्रिय बुद्धिचाल : विभिन्न देशका २ सय खेलाडी सहभागी – Nepal Press

कर्णेल उजिरसिंह थापा स्मृतिमा अन्तर्राष्ट्रिय बुद्धिचाल : विभिन्न देशका २ सय खेलाडी सहभागी

रुपन्देही । कर्णेल उजिरसिंह थापाको स्मृतिमा रुपन्देहीको बुटवलमा चैत २४ गते शनिवारदेखि शुरु हुने अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको तयारी पूरा भएको छ ।

अङ्ग्रेज सेनालाई जितगढी किल्लामा पराजित गर्न नेपाली सेनाले सफल नेतृत्व गरेका कर्णेल उजिर सिंह थापाको सम्मानमा सो प्रतियोगिता आयोजना गरिएको हो ।

प्रतियोगितामा सहभागी हुन नेपाल, भारत, बंगलादेश, श्रीलंका, पाकिस्तान, अमेरिका, फ्रान्स लगायत विभिन्न देशका २ सयभन्दा बढी खेलाडीहरू बुटवल आइपुगेको प्रतियोगिता संयोजक माधव प्रधानले बताए ।

संयोजक प्रधानका अनुसार चैत २४ गतेदेखि २७ गतेसम्म सञ्चालन हुने सो प्रतियोगिताको उद्घाटन बुटवल १३ स्थित होटेल क्राउन, अर्घाखाँची पार्टी प्यालेसमा हुनेछ ।

खेल पर्यटनलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ बुटवल उपमहानगरपालिकाको विशेष सहयोग तथा बुटवल उपमहानगरपालिकाका बुद्धिचाल संघको आयोजनामा कर्णेल उजिर सिंह थापा स्मृति मेयर कप अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको प्राविधिक टीम, खेलाडीहरू दर्ता लगायतका सबै कामहरू पूरा भएको संघका नगर अध्यक्ष सुधीर पुनले बताए ।

‘खेलाडीहरू अनलाइन दर्ता भइरहेका छन् । सँगसँगै बुटवल आउने क्रम पनि जारी छ ।’—उनले भने । नेपाल राष्ट्रको रक्षाका लागि तत्कालीन नेपाली सेनाका कर्णेल उजिरसिंह थापाको योगदान र बुटवलको जितगढी किल्लाको प्रचारप्रसारमा यो प्रतियोगिताबाट मद्दत मिल्ने उनले दाबी गरेका छन् । प्रतियोगितामा विभिन्न विधामा ७० वटा पुरस्कार रहेको उनले बताए ।

संयोजक माधव प्रसाद प्रधानले बुटवलको गरिमा बढाउने गरी प्रतियोगिता हुन लागेको बताए । खेललाई पारदर्शी र प्रचारप्रसार हुने गरी प्रविधिमैत्री खेल खेलाइने दाबी गरे । ‘खेलमा आठ वटा डिजिटल बोर्डको प्रयोग हुनेछ,’ उनले भने । चैत २४ गतेदेखि २७ गतेसम्म हुने प्रतियोगितामा करिब ४७ लाख रुपैयाँ खर्च हुने अनुमान आयोजकको छ ।

प्रतियोगिताको उपाधि विजेताले नगद २ लाख, द्वितीयले १ लाख १० हजार, तृतीय ६० हजार, चौथोले ४० हजार, पाँचौँले ३० हजार, छैटौँले २० हजार रुपैयाँसहित कप, मेडलबाट पुरस्कृत हुनेछन् ।

यस्तै गरी बेष्ट जुनियर ब्वाईज/गल्र्स टिम ६ देखि १० स्थानसम्मले नगद २० हजार पाउनेछन् । यस्तै बेष्ट स्टुडेन्ट रुपन्देही ११ देखि १५ स्थानसम्मले १५ हजार, बेष्ट स्टुडेन्ट बुटवल १६ देखि २० सम्मले १३ हजार पुरस्कार पाउने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *