गण्डकी कांग्रेसको माग- सभामुखसहितको दाबी पेस असंवैधानिक छ, खगराजलाई मुख्यमन्त्री नबनाइयोस् (भिडिओ)
पोखरा । नेपाली कांग्रेस गण्डकी प्रदेश गठबन्धनले पेस गरेको दाबी गर्न असंवैधानिक रहेको प्रतिक्रिया दिएको छ ।
गण्डकीमा एमाले संसदीय दलका नेता खगराज अधिकारीले आइतबार एमाले, माओवादी र राजीव गुरुङ (दीपक मनाङ) को समर्थनमा प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष दाबी पेस गरेका थिए ।
सभामुख कृष्ण धिताललाई पनि माओवादी संसदीय दलकै सदस्यका हैसियतमा गठबन्धनले दाबी पेस गरेको थियो ।
गठबन्धनले दाबी पेश गरेपछि गण्डकी कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले पेस गरेको दाबी जालझेलपूर्ण रहेको बताए ।
यसअघि कोशीमा सभामुखलाई समेत सत्ता निर्माणमा प्रयोग गरिएको भन्दै सर्वोच्चमा परेको रिटको फैसलामा पनि सभामुखलाई समावेश गर्न नपाइने नजिर बसालेको पाण्डेले सुनाए । उनले ३१ जनाकै सनाखत हुनुपर्ने माग राखे ।
पाण्डेले सभामुखले पदबाट नहटीकन समर्थन गर्न पाइँदैन भनेर सर्वोच्च अदालतको मर्म रहेको बताए । बहुमत सदस्यको हस्ताक्षरसहित बुझाउनुपर्ने र बहुमत पुर्याउन नसक्ने भएकै कारण दलका तर्फबाट पेश गरिएको पाण्डेको भनाइ छ ।
दलका तर्फबाट पेश गर्दा सनाखत आवश्यक नहुने एमालेका प्रमुख सचेतक गोविन्द नेपालीले बताए । उनले सभामुख पनि संसदीय दलकै सदस्य रहेको जिकिर गरे ।