पर्यटक बढाउन आसियानका १० देशमा एकै भिसामा काम चलाउने प्रस्ताव गर्दै थाइल्याण्ड
काठमाडौं । आसियान क्षेत्रका सबै देशमा एकै भिजामा यात्रा गर्न सहज हुने प्रस्ताव थाइल्याण्डले गरेको छ ।
दक्षिण पूर्वी एसियाली देशहरूको छाता संस्था आसियानका दश देशहरूमा यो प्रणाली लागु गर्न थाइल्याण्डले प्रस्ताव गरेको हो ।
रुसी विश्व च्यानल आरटीका अनुसार अमेरिकी अखबार ब्लुमबर्गको रिपोर्टले युरोपका सेन्जेन जस्तै भिजा प्रणाली ल्याउन थाइल्याण्डले गम्भीर छलफल सुरु गरेको पाइएको छ ।
थाइल्याण्डका प्रधानमन्त्री स्रेथा थाभिसिनले यस्तो प्रस्ताव ल्याएर छलफल बढाएका छन् । धेरै आसियान देशहरूले यसमा सकारात्मक प्रतिक्रिया दिएका छन् ।
सन २०११ मै आसियान देशहरूका भिजाविहिन यात्राको प्रस्ताव उठेको थियो । तर, पछिल्लो समयमा यो स्थगन भएको थियो ।
पर्यटन देशको अर्थतन्त्रको १२ प्रतिशत हिस्सा भएको थाइल्याण्डको यो प्रस्ताव पारित भएमा थाइल्याण्ड र अरू आसियान देशहरूको पर्यटकीय कमाइ बढ्ने बताइएको छ ।