युवा र किशोरकिशोरीमा फेसन बन्दैछ ‘भेप’ तान्ने बानी, निमोनिया र क्यान्सर फैलिने विज्ञको चेतावनी – Nepal Press
नेपाल टक

युवा र किशोरकिशोरीमा फेसन बन्दैछ ‘भेप’ तान्ने बानी, निमोनिया र क्यान्सर फैलिने विज्ञको चेतावनी

ह्याम्स अस्पतालकी फोक्सोरोग तथा क्रिटिकल केयर विशेषज्ञ डा. रक्षा पाण्डे भन्छिन्- चुरोटको लत छुटाउने विकल्प भेप होइन, कुनै पनि बहानामा यसको लतमा नलाग्नुस्

काठमाडौं । पछिल्लो समय नेपालमा ‘इलेक्ट्रिक सिगरेट’ (भेप)को प्रयोग बढ्दै गएको छ । विशेषगरी युवा तथा किशोरकिशोरीहरुबीच भेपले अस्वाभाविक चर्चा बटुलिरहेको छ । यसको ज्वलन्त उदाहरणको रुपमा गत भाद्रको एउटा घटनालाई लिन सकिन्छ । जहाँ एक १३ वर्षीय बालिकाको स्कुलको झोलामा भेप भेटियो । छानबिन गर्दै जाँदा थाहा भयो, ती बालिकाले आफ्नै विद्यालयभित्र अर्का एक विद्यार्थीमार्फत सो भेप किनेकी रहिछिन् ।

यो एक प्रतिनिधि घटनामात्र हो । नेपालमा ‘भेप’को बढ्दो ‘क्रेज’लाई आकलन गर्न सामाजिक सञ्जालमा ‘भेप अनलाइन’, ‘भेप इन नेपाल’, ‘भेप फ्लेभर’लगायतका ‘की वर्ड’ राखेर ‘सर्च’ गर्दा आउने भेप किनबेचमा संलग्न फेसबुक पेज इन्स्टाग्राम पेज आदिलाई लिन सकिन्छ ।

भेप बेचबिखन गर्न तयार पारिएका विज्ञापनजन्य सामग्रीलाई ध्यान दिएर हेर्ने हो भने चाहे त्यो स्वदेशी विज्ञापन होस् वा विदेशी विज्ञापन, भेपका लक्षित ग्राहक युवा तथा किशोरकिशोरी हुन् भन्ने निर्क्योल गर्न गाह्रो पर्दैन । भेपलाई वर्तमान समयमा विशेषगरी दुई ढंगबाट विज्ञापन गरिएको छ ।

पहिलो- भेप सेवन गर्नु भनेको ‘कुल’ हुनु हो, ‘फेशनेवल’ हुनु हो र दोस्रो- भेप चुरोटको लत छुटाउने विकल्प हो । जसरी कुनै समय चुरोटलाई साहसको, आँटको वा मर्दपनाको प्रतीक भनेर विज्ञापन गरिन्थ्यो । त्यसरी नै अहिले इलेक्ट्रिक सिगरेट वा भनौं भेपलाई युवायुवतीहरुको स्ट्याटस सिम्बोल, फेशन ट्रेण्ड र चुरोटको विकल्पको रुपमा स्थापित गराउन खोजिँदैछ र यो भाष्यलाई स्थापित गराउन सामाजिक सञ्जालले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । फलस्वरुप भेपको सेवन गरिरहेका कतिपय युवा तथा किशोरकिशोरीलाई भेप हानिकारक छ, यसमा निकोटिनको प्रयोग हुन्छ, यसले लत लगाउँछ वा भेपको प्रयोगले स्वास्थ्य समस्या निम्त्याउन सक्छ भन्ने नै थाहा छैन ।

यसै सन्दर्भलाई मध्यनजर गर्दै हामीले यस लेखमा भेपको इतिहास, परिचय, यसले निम्त्याउन सक्ने स्वास्थ्य समस्या, नेपालमा भेप सेवनको वर्तमान अवस्थालगायतका विषयमा ह्याम्स अस्पतालमा कार्यरत श्वासप्रश्वास तथा क्रिटिकल केयर मेडिसिनकी वरिष्ठ सल्लाहकार डा. रक्षा पाण्डेसँग गरिएको कुराकानीको सम्पादित अंशः

– सामान्यतया कस्ता वस्तुलाई ‘भेप’ भनेर चिनिन्छ, यो चुरोटभन्दा कुन रुपमा फरक छ ?

सामान्यतया ‘इलेक्ट्रिक सिगरेट’लाई बोलीचालीको भाषामा भेप भन्ने गरिन्छ । हिट (तापक्रम)को माध्यमबाट निकोटिनलाई भेपर (बाफ)को रुपमा सेवन गरिने भएको कारणले गर्दा यसलाई ‘भेप’ भनिएको हो । यसलाई मेडिकलको भाषामा ‘इलेक्ट्रोनिक निकोटिन डेलिभरी सिस्टम’ पनि भन्ने गरिन्छ । यता चुरोट भनेको सूर्तीजन्य पदार्थलाई बालेर सेवन गर्नु हो ।

– ‘भेप’ कहिलेबाट प्रयोगमा आउन थाल्यो, यसको पृष्ठभूमि कस्तो छ ?

खासमा भेप स्वास्थ्य क्षेत्रमा कतिपय औषधि भेपर ( बाफ)को रुपमा तानेर प्रयोग गर्न आएको एउटा विधि हो । तर, अहिले जुन यो इलेक्ट्रोनिक सिगरेट (भेप)को बजारीकरण भएको छ, यसको भने त्यति लामो इतिहास छैन । सन् २००६ देखि चीनबाट सुरु भएको र सन् २००८-०९ देखि संयुक्त राज्य अमेरिकालगायतका देशहरुबाट यसको बजारीकरण सुरु भएको देख्न सकिन्छ । सुरुमा यसलाई चुरोटको विकल्पको रुपमै अगाडि सार्न सकिन्छ कि भन्ने वैज्ञानिकहरुको मान्यता थियो ।

सामान्यता चुरोट बाल्दा निस्किने धूवाँ जुन हाम्रो फोक्सोमा गएर टारको रुपमा जम्मा हुन्छ र त्यो टारले अनेक स्वास्थ्य समस्या निम्त्याउने हुँदा यदि हामीले त्यो धूवाँलाई हटाउन सक्यौं भने यसले केही हदसम्म मद्दत गर्छ कि भन्ने मान्यता हो । तर, हालको समयसम्म आइपुग्दा यो मान्यता गलत प्रमाणित भइसकेको छ ।

– भेपलाई चुरोटकै विकल्पको रुपमा विज्ञापन गरिरहेको भेटिन्छ नि !

हो । धेरै जनाले भेपलाई चुरोट छोड्ने माध्यम वा चुरोटको विकल्पको रुपमा सेवन गरिरहनु भएको छ । नेपालको सन्दर्भमा भेपको बारेमा धेरै अध्ययन भएको छैन । तर, विश्वव्यापी अध्ययनले के देखाएको छ भने जो व्यक्तिले चुरोटको विकल्पको रुपमा भेपको प्रयोग गर्न थालेका छन्, कालान्तरमा कि ती व्यक्तिहरुलाई भेपको लत लागेको छ कि त ती व्यक्तिहरुले चुरोट र भेप दुबैको प्रयोग गर्न थालेका छन् । भन्नुको अर्थ भेपलाई चुरोटको विकल्पको रुपमा वा भनौं चुरोट छोड्न मद्दत गर्ने माध्यमको रुपमा लिनसक्ने अवस्था छैन ।

– नेपालमा अहिले स्थापित यो ‘भेपिङ कल्चर’ को पछिल्लो ट्रेण्ड कस्तो रहेको पाउनुभएको छ ?

नेपालमा लगभग ९ महिना अगाडि स्नातक तहका विद्यार्थीहरुमा एउटा अध्ययन भएको रहेछ । त्यसलाई नै आधार मानेर यस प्रश्नको उत्तर दिन चाहें । ४०० देखि ४५० जना १८ देखि २२ वर्षसम्मका युवायुवतीमा गरिएको उक्त अध्ययनले के देखाउँछ भने भेप सेवन गर्ने ६० प्रतिशत युवायुवतीले यसले चुरोट छोड्न मद्दत गर्छ भनेर भेप सेवन गर्नुहुँदो रहेछ । त्योबाहेक चुरोट सेवन नगरी भेपको सेवन गर्न थालेका युवायुवतीहरुमध्ये ५० प्रतिशतलाई भेपको लत लागेको अवस्था छ । यसले के देखाउँछ भने यो भेप भन्ने कुरा बजारमा नआएको भए धेरै मानिसलाई भेपको वा चुरोटको लत नै नलाग्ने रहेछ ।

– चुरोटभन्दा भेप कम हानिकारक हो भन्ने मानिसकता छ नि ! यसको यथार्थ बताइ दिनुहोस् ?

चुरोट सेवन गर्नु र भेपिङ गर्नु भनेको दुई फरक कुरा हुन् । दुइटै हानिकारक कुरामध्ये कुन ठीक वा कुन खाएको राम्रो भन्ने खालको प्रश्न गर्नु नै उचित हुँदैन । दुइटै कुराको सेवन नगरेको राम्रो । चुरोटको टारले गर्दा उत्पन्न हुनसक्ने स्वास्थ्य जटिलता भेपिङले गर्दा केही कम हुनसक्छ । तर, भेपिङकै कारणले गर्दा धेरै स्वास्थ्य समस्या उत्पन्न हुनसक्ने अवस्था अहिले देखिएको छ । सन् २०१९ मा अमेरिकाका ३ हजार युवायुवती, जसलाई पहिला फोक्सोसम्बन्धी कुनै समस्या नै थिएन । उनीहरुमा फोक्सोसँग सम्बन्धित समस्या महामारीकै रुपमा देखिएको थियो । ती युवायुवतीहरु सबैको एउटा ‘कमन प्वाइन्ट’ के थियो भने उनीहरु सबैले भेपको प्रयोग गर्दा रहेछन् । यी बिरामीमध्ये धेरैको मृत्यु पनि भयो ।

त्यसपछि मेडिकल क्षेत्रमा ‘एभाली’ EVALI अर्थात e-cigarette or vaping use-associated lung injury भन्ने नयाँ टर्म नै विकास भइसकेको अवस्था हो । त्यसैले भेप कि चुरोट भन्ने प्रश्न नै खारेज गरिनुपर्छ । चुरोट सेवन गर्ने चुरोट छोड्नुपर्छ, भेपिङ नगर्नेहरुले सुरु नै गर्नुहुँदैन । भेप भनेको पानीको बाफ लिए जस्तो हो, यसले कुनै हानि गर्दैन भन्ने सोच कसैले पनि नराख्दा हुन्छ । भेपिङको कारणले गर्दा विभिन्न स्वास्थ्य समस्या आएका प्रशस्त उदाहरण हामीसँग छन् ।

– भेपले कसरी काम गर्छ वा भनौं कसरी लत बसाल्छ ?

यो कुरा बुझ्न पहिला भेप के हो भन्नेबारे थप चर्चा गरौं । खासमा बाफलाई हामी ‘भेपर’ भन्छौं । बाफ देखिने भएको हुनाले हामीले ई-सिगरेटलाई भेप भन्छौं । भेपको बनावट कस्तो हुन्छ भने त्यसमा एउटा ‘काट्र्रेज’ भन्ने खण्ड जसमा भेप जुस, फ्लेभर आदिको नामले चिनिने तरल पदार्थ भरिन्छ । त्यो तरल पदार्थमा निकोटिन हुन्छ । अध्ययनका अनुसार ९९ प्रतिशत भेप लिक्युडमा निकोटिन हुन्छ । त्यो खण्डमा एउटा ‘एटोमाइजर’ हुन्छ । यस्तै भेपमा अर्को ‘पावर सोर्स’ हुन्छ । पावर सोर्सको मद्दतले एटोमाइजरले लिक्युडलाई बाफ बनाउँछ अनि माउथ पिस नामक अर्को खण्डबाट त्यो बाफलाई प्रयोगकर्ताहरुले सेवन गर्छन् ।

अब यहाँनेर हामीले के बुझौं भने चुरोटमा पनि जुन लत बसाल्ने पदार्थ हो, त्यो निकोटिन हो । हामी सुन्छौं नि कोकेन जस्ता लत लाग्ने ड्रग्सभन्दा निकोटिन बढी लत लाग्ने पदार्थ हो । हामीले तानेको २० सेकेन्डभित्र निकोटिन हाम्रो मस्तिष्कमा पुग्छ र हाम्रो मस्तिष्कमा रहेका ‘रिसेप्टर’ले ‘डोपामिन’ रिलिज गर्छ । जसको कारण केही आनन्द आएको महसुस हुन्छ । तर, हामीले जति सेवन गर्दै गयौं, त्यति नै डोज नपुग्ने हुन्छ । अब त्यही लत लाग्ने पदार्थ त भेपमा पनि हुन्छ । यही कारण वा यसैगरी भेपको पनि लत बस्छ भन्न सकिन्छ । अब निकोटिनले लत बसाल्छ । त्यसबाहेक त्यो जुन तरल पदार्थ हुन्छ, त्यसमा प्रोपाइल गिलिसोरललगायतका वस्तुहरु हुन्छन् । ती वस्तु स्वास्थ्यका लागि थप हानिकारक मानिन्छन् । ती वस्तुले निमोनियादेखि क्यान्सरसम्म नै गराउन सक्ने सम्भावना देखिन्छ ।

योमात्रै नभएर ती लिक्युडमा टिन तथा टिएचसी, सिबिडी (गाँजाको तेल) पनि पाइएको छ । जसको कारण एभालीको बिरामीको मृत्यु नै भएको उदाहरणसम्म छन् । यहाँ अर्को कुरा के थाहा पाउनुपर्छ भने ६ हजार वर्ष अगाडि देखि सुरु भएको चुरोटले क्यान्सर गराउँछ भन्ने हामीलाई सन् १९५० तिर बल्ल थाहा भयो । यो भेप सन् २००६ बाट चलनमा आएको कुरा हो यसको बारेमा धेरै अध्ययन नै भएको छैन । अध्ययन जति धेरै हुँदै जान्छ त्यति नै यसका खराब पाटाहरु उजागर हुँदै जानेछ, यो पक्का हो ।

– पल्मोनोलोजिस्टको हिसाबमा अहिले नेपालमा ‘भेपिङ कल्चर’ को अवस्था कस्तो छ ?

म एक स्वास्थ्यकर्मीको हिसाबले भन्ने हो भने मलाई सबैभन्दा डर लागेको कुरा के छ भने भेपिङ कम्पनीहरुको ‘टार्गेट कस्टम’ (लक्षित ग्राहक) नै युवा तथा किशोरकिशोरीहरु छन् । अहिले १५-१६ वर्षका किशोरकिशोरीहरुलाई भेपिङ कहिल्यै ‘ट्राइ’ गर्नुभएको छ भनेर प्रश्न गर्दा धेरै छु भन्ने जवाफ दिन्छन् । किशोरकिशोरी अवस्थामा त कुनै पनि व्यक्तिको फोक्सो विकास हुने क्रममै हुन्छ, यस्तो अवस्था भेप प्रयोग गर्दा थप जटिलता आउनसक्ने देखिन्छ ।

मेरो अनुभवको आधारमा भन्नु पर्दा नेपालमा भेप प्रयोग गर्ने समूहलाई दुई किसिममा विभाजन गर्न सकिन्छः एउटा- चुरोट छोड्न भेप प्रयोग गर्न थालेको समूह र अर्को युवा समूहमा यो बढी देखिन्छ । म फोक्सोको डाक्टर भएको हुनाले हरेक बिरामीलाई चुरोट सेवन गर्नुहुन्छ भनेर सोध्ने गर्छु । तर, विगत तीन वर्षदेखि मैले चुरोट अथवा भेप सेवन गर्नुहुन्छ भनेर सोध्न थालेकी छु । नेपालमै भएको अध्ययनअनुसार २१ प्रतिशतले कम्तीमा एक पटक भेप सेवन गरेका छन् भने नियमित रुपमा भेप सेवन गर्ने जनसंख्या ६ प्रतिशत छ । यसमा अर्को तथ्य के फेला परेको छ भने लगभग ८५ प्रतिशतले साथीभाइको दबाबमा पहिलो पटक भेप सेवन गरेका रहेछन् । सबैभन्दा अचम्मलाग्दो तथ्य के छ भने भेप प्रयोगकर्तामध्ये ५५ प्रतिशतलाई त भेप हानिकारक हो भन्ने थाहा रहेनछ ।

– भेपको प्रयोग यसरी ह्वात्तै कसरी बढ्यो ?

यसमा के छ भने भेपको बारेमा धेरै नै गलत सूचना प्रवाह भएका छन् । धेरैलाई यो हानिकारक छ भन्ने थाहा छैन । धेरैले यो चुरोटभन्दा धेरै कम हानिकारक छ भन्ने पनि सोचेका छन् । अर्को महत्वपूर्ण कारण के हो भने यसको उपलब्धता अत्यन्तै सहज छ नेपालमा । म आफैंले भेपको बारेमा एउटा प्रस्तुति दिनुपर्ने भएकाले अध्ययन गर्न अनलाइन भेपिङ भनेर सर्च गरेकी थिएँ । त्यहाँ धेरै सजेसन प्राप्त भए । त्यसमध्ये मैले कम्तीमा आठ वटा अनलाइन पेजमा अर्डरको लागि बुझ्दा कुनै पनि पेजले मेरो उमेर नै सोधेन ।

नेपालमा ई-सिगरेटको नियमन पनि अति नै फितलो भएको मैले महसुस गरेकी छु । भेपिङलाई सूर्तीजन्य पदार्थ मान्ने कि नमान्ने भन्ने नै प्रस्ट छैन । आयात सहज छ । तपाईंको हातमा इन्टरनेट छ भने भेप पनि सहजै प्राप्त गर्न सकिन्छ । अहिले ८ वर्षको बच्चा पनि इन्टरनेटको सहज पहुँचमा छ । तपाईंले अघि एउटा समाचारको प्रसङ्ग उठाउनुभयो, हामीले यस्ता घटना धेरै सुनेका छौं । एउटामात्र स्कुलमा हैन, धेरै स्कुलमा यस्ता घटना भेटिएको हामीलाई थाहा छ ।

अर्को कुरा के छ भने विभिन्न आम सञ्चारमाध्यम, स्वास्थ्यकर्मी, अभियन्ता आदिको कारणले गर्दा विश्व बजारमै चुरोटको खपत घट्दै गएको छ । यस्तो अवस्थामा चुरोट कम्पनीका अधिकांस व्यक्तिहरुको भेपिङ उद्योगमा पनि लगानी छ र फलस्वरुप भेपिङ उद्योग फस्टाउँदो क्रममा छ । अहिले समाजमा चुरोट सामान्यीकरण भइसकेको छैन । तर, भेपिङलाई सामान्यीकरण गर्न खोजिएको छ । यो चिन्ताजनक अवस्था हो ।

– निकोटिन लेस लिक्युड भनेर पनि अहिले बजारमा आएको देखिन्छ नि !

नेपालमा त यसको अनुसन्धान र नियमन नै भएको छैन । विदेशको सन्दर्भमा कुरा गर्नुपर्दा ‘नो निकोटिन’ भनेकोमा पनि निकोटिन भेटिएको देखिएको छ । सर्वेक्षण गर्दा के देखिएको छ भने बजारमा उपलब्ध ९९ प्रतिशत लिक्युडमा निकोटिन रहेको छ । नेपालमा त लिक्युडमा के छ भन्ने नै थाहा छैन ।

– अन्त्यमा, युवायुवतीहरुको लागि तपाईं के सन्देश दिन चाहनुहुन्छ ?

म के भन्छु भने ‘भेपिङ’ हानिहीन होइन । भेपिङले तपाईंहरुको निर्दोषपनाको गलत फाइदा उठाइरहेको छ । भेपिङ लत लाग्ने कुरा हो । यसले दिनानुदिन नयाँनयाँ स्वास्थ्य समस्या निम्त्याउँदै गएको छ । तपाईंहरुले कुनै पनि बहानामा यसको प्रयोग नगर्नुहोला ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर