घोडेजात्रा : टुँडिखेलमा घोडाको कौशल (तस्बिरहरू/भिडिओ) – Nepal Press

घोडेजात्रा : टुँडिखेलमा घोडाको कौशल (तस्बिरहरू/भिडिओ)

काठमाडौं । चैत्र कृष्ण औँसीका दिन प्रत्येक वर्ष मनाइने घोडे जात्रा पर्व आज काठमाडौं उपत्यकामा विभिन्न कार्यक्रम आयोजना गरी मनाइएको छ ।

नेपाली सेनाले आज टुँडिखेलमा अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्धकलालगायतको प्रदर्शन गरेको छ । घोडेजात्रा समापन कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय यादव , प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका उच्च पदस्थ व्यक्तिहरूको सहभागिता थियो ।

घोडे जात्रा सैनिकहरूले विभिन्न ब्यान्डद्वारा धुनहरू प्रस्तुत गरेका थिए । कार्यक्रमको सुरुमै क्याभलरी पास तथा डगद्वारा मार्च पास गरिएको थियो ।

यस्तै क्रस टेन्ट पेगिङ अन्तरगतको प्रस्तुतिमा सैनिकहरूले घोडाको सहायता दिँदै शत्रुका टेन्ट भत्काउने शैली प्रस्तुत गरेका थिए ।

यात्राका लागि लागि निकै महत्त्वपूर्ण मानिएको घोडाको आधुनिक सवारी साधनको प्रयोग सँगै यसको महत्त्व घट्दै गएको छ । घोडा अन्य जनावर भन्दा दगुर्न सक्ने शक्तिशाली भएकाले पहिले युद्धको समयमा घोडालाई विशेष रूपमा प्रयोग गर्ने गरिन्थ्यो । घोडे जात्रा दिन ललितपुरमा भने एक्लो घोडा दौडाउने गरिन्छ ।

जनविश्वासअनुसार टुँडिखेलको पूर्व-दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले सहरका बालबालिकालाई खाने गरेको थियो ।

पीडित स्थानीयवासीले विभिन्न उपायले त्यसलाई संहार गरे । राक्षसको प्रेतात्मा फेरि जागा भई बालबालिकालाई अनिष्ट गर्न सक्ने भय स्थानीयवासीमा रहिरह्यो ।

यसै कारण प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन घोडेजात्रा गरी गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने गरिएको हो । साथै सहरका कुनै पनि बालबालिकामाथि खतरा नहोस् भनी आजै राति त्यही रूखको फेदमा गुरुमापालाई खानेकुरा पनि दिइन्छ । यसो गरेपछि वर्षभर बालबालिकालाई गुरुमापाबाट खतरा नहुने विश्वास छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *