प्याज खेतीप्रति आकर्षित हुँदै डोटीका किसानहरु – Nepal Press

प्याज खेतीप्रति आकर्षित हुँदै डोटीका किसानहरु

डोटी । शिखर नगरपालिका–३ सालाखर्कका ६१ वर्षीय सकराम महराले २० रोपनी जमिनमा प्याज खेती गरेका छन् ।

२०६१ सालदेखि व्यवसायिक कृषि कर्म गरिरहेका महराले यसपालीदेखि ठूलो मात्रामा प्याज खेती थालेका हुन् । गत वर्ष आठ रोपनीमा प्याज खेती गरेका महराले यो वर्ष थप १२ रोपनीमा प्याज रोपेका छन् ।

कृषि ज्ञान केन्द्र डोटीबाट सिँचाइका लागि पाइप र बिउँ पाएपछि प्याज खेती विस्तार गरेको महराले बताए । महरा जस्तै डोटीका अन्य किसानहरु पनि चक्लावन्दी प्याज खेतीप्रति आकर्षित भएका छन् ।

बोगटान फुड्सिल गाउँपालिका–१ का यम बमले दश रोपनीमा प्याज खेती गरेका छन् । उनले काटैस्थित मौडामा चक्लावन्दी प्याज खेती गरिरहेको बताए ।

उषा बहुउद्देश्यीय कृषि तथा पशुपन्छी फर्म खोलेर कृषि पेशा गरिरहेका बमले ३ वर्षदेखि प्याज खेती गर्न रहेका छन् । बमले थप ४० रोपनीमा प्याज खेती गर्ने सोच बनाएको पनि जानकारी दिए ।

दिपायल सिलगढी नगरपालिका–२ पन्तोलाका धुव्र मलासीले पनि चार रोपनीमा प्याज खेती गरेका छन् । उनले दुई किलो प्याजको बिउ चार रोपनी जमिनमा रोपेको बताए । ‘६ रोपनी जमिनमा पुरै प्याज खेती गर्ने सोच बनाएको थिएँ’ ध्रव भन्छन् ‘बिउ नपाएका कारण दुई रोपनीमा लसुन लगाएको छु ।’

चार रोपनी जमिनमा रोपिएको प्याजबाट १० क्वीन्टल जति उत्पादन हुने मलासीको अनुमान छ । पछिल्लो समयमा प्याज खेतीप्रति किसानहरुको आकर्षण बढेको देखिएको कृषि ज्ञान केन्द्र डोटीका प्रमुख गंगादत्त अवस्थी बताउँछन् ।

अन्य खेतीभन्दा प्याज खेती गर्न सजिलो हुने र आलु खनेर प्याज लगाउन पनि हुने भएका कारण किसानहरु प्याज खेतीप्रति आकर्षित भएका हुन सक्ने अवस्थीको अनुमान छ ।

शिखर नगरपालिकाका किसान महराले गरेको प्याज खेती सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाकै नमुना रहेको अवस्थीले जानकारी दिए । ‘यद्यपी प्याजको भण्डारण र बजारीकरणमा केही समस्या छ’ अवस्थीले भने ‘किसानहरुले फलाएको प्याजको बजारीकरणको लागि व्यापारीहरुसँग समन्वय गरिरहेका छौं ।’

महराले आठ रोपनीमा गरेको प्याज खेतीबाट आफू प्रभावित उनलाई प्रोत्साहन स्वरूप ज्ञान केन्द्रबाट बिउ र सात सय मिटर ३२ एमएमको सिंचाई पाइप सहयोग गरिएको अवस्थीले बताए । महराले प्याज रोपेको जमिनबाट करिब दुई सय क्वीन्टल प्याज उत्पादन हुनसक्ने अनुमान अवस्थीको छ ।

न भण्डारण गर्ने ठाउँ छ, बजार छ

उत्पादित प्याजले बजारमा उचित मुल्य नपाएको किसानहरुको गुनासो छ । २० रोपनी जमिनमा चार किलो प्याजको बिउ रोपिएको महराले बताए । ‘बिउ फरक फरक समयमा राखेको थिएँ त्यसरीनै फरक फरक समयमा बेर्ना सारिएको हो’ महरा भन्छन् ‘प्याज रोप्न ५५ दिन बराबर ज्यालामा स्थानीयलाई काम गराएको छु ।’

एक दिन काम गरेबापत एक जनालाई ज्याला स्वरूप आठ किलो प्याज दिने सहमति भएको महराको भनाई छ । उनले सिजनमा २५ देखि ३५ रुपैयाँप्रति किलो र बेसिजनमा ४५ देखि ८० रुपैयाँप्रति किलोका दरले प्याज बिक्री गर्दै आएका छन् ।

प्याज उत्पादन गर्नुभन्दा पनि बिक्री गर्न समस्या हुने गरेको महराको भनाई छ । उनले भने ‘सिजनमा भनेको मूल्य पाइँदैन, बेसिजनमा बेच्दा मूल्य पाइन्छ तर प्याज जोगाउन गाह्रो हुन्छ, ।’ प्याज भण्डारणको लागि कुनै व्यवस्था नहुँदा धेरै जसो प्याज बिग्रिएर जाने गरेको महराको दुखेसो छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *