एसीसी प्रिमियर कपः लयमा रहेको नेपाल एसिया कपमा सीट सुरक्षित गर्न आत्मविश्वासी – Nepal Press

एसीसी प्रिमियर कपः लयमा रहेको नेपाल एसिया कपमा सीट सुरक्षित गर्न आत्मविश्वासी

काठमाडौं । अमेरिका र वेस्ट इन्डिजमा दुई महिनापछि सुरु हुने आइसीसी टी–२० विश्वकपको तयारी गर्ने क्रममा नियमित अभ्यास गरिरहेको नेपालले एसियाका एसोसिएट टोलीले मात्र खेल्ने सबैभन्दा ठुलो प्रतियोगिता एसीसी प्रिमियर कप खेल्न मंगलबार ओमान प्रस्थान गर्दै छ । भारतका दुई प्रान्तीय टोलीसँग टी–२० शृंखला खेल्न पुगेको नेपाली टोली उतैबाट ओमान जान लागेको हो ।

एक वर्षअघि घरेलु मैदानमै आयोजना भएको एसीसी प्रिमियर कप जितेर नेपालले पहिलोपटक एसिया कप खेलेको थियो । एसिया कपमा एसियाका पाँचवटै टेस्ट राष्ट्रका सिनियर टोलीले र एसीसी प्रिमियर कपका विजेताले प्रतिस्पर्धा गर्छन् । त्यही कारण नेपालले पहिलोपटक पाकिस्तान र भारतका पहिलो रोजाईका टोलीसँग खेल्ने मौका पाएको थियो ।

उक्त अवसर दोहोर्‍याउन नेपाललाई एसीसी प्रिमियर कपमा उपाधि जित्नुपर्ने दबाब छ । साविक विजेता भएको र विश्वकप खेल्न लागेकाले नेपाललाई प्रतियोगिताको बलियो दावेदार मानिएको छ । आसन्न प्रतियोगितामा एसियाका १० एसोसिएट टोलिले प्रतिस्पर्धा गर्दैछन् ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलको वरियताक्रममा शीर्ष ८ एसियाली एसोसिएट टोली नेपाल, यूएई, हङकङ, ओमान, मलेसिया, कुवेत, बहराइन र कतार तथा एसीसी मेन्स च्यालेन्ज कपका शीर्ष दुई टोली साउदी अरब र कम्बोडियाले प्रतिस्पर्धा गर्न लागेका हुन् ।

प्रतियोगिताको पहिलो चरणमा ५/५ टोलीका दुईवटा समूह छन् । नेपाल रहेको समूहमा हङकङ, मलेसिया, कतार र साउदी अरब छन् । अर्को समूहमा बहराइन, कम्बोडिया, कुवेत, ओमान र यूएई रहेका छन् । राउन्ड रोबिनपछि समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । अन्तिम चारमा समूह ‘ए’ को विजेताले समूह ‘बी’ को उपविजेता र समूह ‘ए’ को उपविजेताले समूह ‘बी’ को विजेतासँग प्रतिस्पर्धा गर्ने छ । प्रतियोगिताको विजेता सन् २०२५ मा हुने एसिया कपमा पुग्ने छ ।

नेपालमा आयोजना भएको गत संस्करणमा समूहका एउटै खेलमा पनि नहारेको नेपालले सेमिफाइनलमा कुवेतलाई हराएर फाइनलमा स्थान बनाएको थियो । उपाधि भिडन्तमा यूएईमाथी ७ विकेटको जित निकालेर नेपालले एसिया कप खेल्ने पक्का गरेको थियो । त्यतिबेला यूएईले सेमिफाइनलमा ओमानलाई हराएको थियो ।

प्रतियोगितालाई यसपटक भने टी–२० फर्म्याटमा आयोजना गरिने छ । एसिया कप टी–२० फर्म्याटमा आयोजना हुन लागेकाले प्रिमियर कपलाई पनि त्यही फर्म्याटमा सञ्चालन गरिन लागिएको हो । यसअघि गत वर्ष यो प्रतियोगिता एकदिवसीय फर्म्याटमा आयोजना भएको थियो ।

एसीसी प्रिमियर कपलगत्तै नेपालले विश्वकप खेल्ने भएकाले राम्रो प्रदर्शन गर्दै आत्मविश्वास बलियो बनाउने अवसर छ । एसिया कपका लागि छनोट भएको अवस्थामा नेपाल स्वभाविकरुपमा प्रतिद्वन्द्वीको थप नोटिसमा पर्नेछ । नेपालले आसन्न टी–२० विश्वकपको पहिलो चरणमा दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्ससँग खेल्दै छ ।

नेपाली टोलीले एसीसी प्रिमियर कपको फाइनलसम्म पुगेमा अप्रिल २३ तारिखमा स्वदेश फर्कने छ । त्यसपछि मे ५ तारिखमा विश्वकप खेल्न र तयारी गर्न अमेरिका जाने तालिका रहेको नेपाल क्रिकेट संघ–क्यानका सचिव पारस खड्काले जानकारी दिए ।

नेपालको राम्रो लय

नेपाली टोली पछिल्ला केही महिनायता निकै व्यस्त छ । विश्वकप लिग–२ कै पहिलो शृंखला नेपालले घरेलु मैदानमा नामिबिया र नेदरल्यान्ड्ससँग खेलेको थियो । क्यानडासँग पनि एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला खेल्यो ।

क्यानडासँगको शृखला क्लिनस्वीप गरेको नेपाली टोलीले विश्वकप लिग–२ को शृंखलामा भने चारमध्ये एक खेल मात्र जितेको थियो । त्यसपछि तीनै टोलीसँग त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय शृंखला पनि खेलेको थियो । नेपाल फाइनलसम्म पुगे पनि उपाधि भिडन्तमा नेदरल्यान्ड्ससँग निरास भयो।

त्यसयता आयरल्यान्ड ‘ए’ सँग खेलेको नेपाली टोलीले सबै खेल जितेर भारतका दुई प्रान्तीय टोली गुजरात र बरोडासहित तीन टिम सम्मिलित शृंखला खेल्न त्यहाँ पुगेको थियो । नेपालले आइतबार फाइनलमा गुजरातलाई हराएर एसएमएस फ्रेन्डसीप कपको उपाधि जितेको छ ।

नेपाली टोलीको मनोबल यतिबेला उच्च देखिन्छ । गत वर्ष नेपालले विश्वकप लिग–२ साइकलका अन्तिम १२ मध्ये ११ खेल खेल जितेर एकदिवसीय मान्यता जोगाएको थियो । त्यसलगत्तै नेपालले एसीसी प्रिमियर कप जितेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर