तुलसीपुरका चार विद्यालयका अध्यक्ष बर्खास्त – Nepal Press

तुलसीपुरका चार विद्यालयका अध्यक्ष बर्खास्त

दाङ । तुलसीपुर उपमहानगरपालिकाले चार वटा विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई बर्खास्त गरेको छ ।

शिक्षा ऐन विपरीत व्यवस्थापन समितिको अध्यक्ष बनेको भन्दै महेन्द्र मावि तुलसीपुरका अरून लहरे,जनता मावि बिजौरीका हिमबहादुर डाँगी,मावि अश्वारका किरणबहादुर शाह र बालमितेरी मावि भोजपुरका अध्यक्ष शंकर खड्कालाई पदबाट बर्खास्त गरिएको उपहानगरका शिक्षा महाशाखा प्रमुख चक्र भण्डारीले जानकारी दिए ।

उनीहरू यसअघि सर्वसम्मत व्यवस्थापन समितिका अध्यक्ष भएका थिए । उनीहरूविरूद्व अख्तियारमा उजुरी परेको थियो ।

उजुरीमा चारै जना अध्यक्ष गैर अभिभावक भएकाले छानविन गर्न माग गरिएको थियो । उजुरी पश्चात् अख्तियारले छानविन गरी सत्यतथ्य विवरण जानकारी गराउन उपमहानगरलाई निर्देशन दिएको थियो । छानविन गर्दा उनीहरू चारैजना गैर अभिभावक भएको पाइएपछि चैत २५ गते बसेको शिक्षा समितिको बैठकले पदबाट हटाउने निर्णय गरेको हो ।

शिक्षा ऐन अनुसार विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बन्न सोही विद्यालयको अभिभावक हुनुपर्ने,उनीहरूका छोराछोरी नियमित विद्यालयमा जानुपर्ने र परीक्षामा समेत सहभागी हुनुपर्ने बाध्यकारी व्यवस्था छ । तर,चारवटै विद्यालयका अध्यक्ष गैर अभिभावक हुन् ।

बर्खास्तमा पर्ने चारै जना काँग्रेस नेता हुन् । जनता माविका अध्यक्ष डाँगी दाङ क्षेत्र नम्वर ३ का सचिव,महेन्द्र माविका अध्यक्ष लहरे महाधिवेशन प्रतिनिधि,मावि अश्वारका अध्यक्ष शाह क्षेत्रीय प्रतिनिधि र बालमितेरी माविका अध्यक्ष खड्का १४ नम्वर वडा सभापतिका साथै निर्वाचित वडा अध्यक्ष समेत हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *