कोही किन हुन्छ भोले भक्त ?
तपाईं शिव मन्दिर जाने गर्नुभएको होला ! सामान्यतया साउन महिना र सोमबारको दिन पारेर विशेष रूपले शिवार्चन हुने गरेको पाइन्छ । कतिपय त सोमबारको व्रत नै बस्ने गरेको पाइन्छ । नेपालका हिन्दूहरूले राष्ट्रदेव तथा आराध्यदेवका रूपमा श्रीपशुपतिनाथको पूजा अर्चना गरिआएकै पनि हो । यसरी नेपाल र नेपाली कुनै न कुनै रूपले शिवको सामीप्यमा रहेको हुन्छ ।
हामीले दैनिक रूपमा पूजा गर्ने पाञ्चायन पूजाभित्र शिव पूजन पनि पर्छ । तपोभूमि र तन्त्रभूमिका रूपमा रहेको नेपालमा शिवार्चनको विशेष महत्त्व रहेको छ । तपोभूमि र तन्त्रभूमिका रूपमा परिचित नेपालमा शिवभक्त ज्यादा हुनु पनि स्वाभाविक नै हो । आध्यात्मिक सम्पदा सम्पन्न मुलुक भएकैले राष्ट्रकवि माधवप्रसाद घिमिरेले लेख्नुभयो- शिवले यहीं ल्याएथे, सृष्टिको पहिलो बिहान ।
सृष्टिको मूल नै हिमालयको काखमा भएको भन्ने मान्यता धेरैले अवलम्बन गरेको पाइन्छ । संसारको सर्वोच्च शिखर पनि हामीकहाँ छ । गौरीशंकर पनि यही नै छ । जुन देशमा हिमालय छ, जुन देशबाट सभ्यताको सृष्टिको सूत्रपात भयो, त्यो देशमा शिवभक्त उल्लेख्य हुनु स्वाभाविक पनि छ । अनेक प्रकारले विचार गर्नु नै दर्शनको मूल अभिप्राय हो । त्यसैले दर्शनको एउटा हाँगो समातेर मान्छे किन शिवभक्त बन्न पुग्छ वा शैव परम्पराको सामीप्यमा रहन्छ भन्ने चर्चा यहाँ गरिएको छ ।
अध्यात्मका क्षेत्रमा दुइटा शब्दको विशेष रूपले व्याख्या गरिन्छ । ती हुन्- जड र चेतन । यही जड तत्त्व र चेतन तत्त्वलाई लिएर दर्शनशास्त्रहरूमा बृहत विवेचना गर्ने गरिन्छ । जडबाट चैतन्यको उत्पत्ति हुँदैन । चेतनबाट जडको पनि उत्पत्ति हुन सक्दैन । किनकि चेतनमा जडत्वको नितान्त अभाव छ । तर, त्यही जड नै चेतन तत्त्वमा आभासका रूपमा रहने र व्यवहार पनि चेतनमा जडको आरोप गरेर चल्ने गरेको हुन्छ । यसैको रूपमा म गरिब छु, म धनी छु, म दुब्लो छु, म पातलो छु, म र मेरालगायत जति पनि सम्बन्धबोधक वाक्य हुन्छन्, ती सबै यही आभासलाई लिएर नै हुने गर्छ । अध्यात्मका क्षेत्रमा यसलाई अध्यास पनि भन्ने गरिन्छ ।
मायाले अवच्छिन्न रहेको चैतन्यलाई ईश्वर भन्ने गरिन्छ भने बुद्धिले अवच्छिन्न रहेको चैतन्यलाई जीव वा जीवात्मा पनि भन्ने गरिन्छ । यसलाई अर्को तरिकामा भन्नुपर्दा चैतन्यको समष्टि रूप ईश्वर हो भने व्यष्टि रुप जीवात्मा हो । समष्टिमा रहेको माया व्यष्टिमा अविद्या वा बुद्धि हो ।
यही जड र चेतनको व्याख्यालाई अझ सहज रूपले बुझाउन पुराण तथा योगशास्त्रहरूमा शिव र शक्तिका रूपमा व्याख्या गरिएको पाइन्छ । चेतन तत्त्वको नाम हो- शिव, चेतन, पुरुष आदि । जड तत्त्वको नाम हो- माया, प्रकृति, स्त्री आदि । यसैका आधारमा शक्ति सिद्धान्तको व्याख्या गरिन्छ । यही नै प्रकारान्तरले विभिन्न सम्प्रदायमा विभिन्न नामले चिनिने र व्याख्या गरिने पनि हुन्छ । मायाले अवच्छिन्न रहेको चैतन्यलाई ईश्वर भन्ने गरिन्छ भने बुद्धिले अवच्छिन्न रहेको चैतन्यलाई जीव वा जीवात्मा पनि भन्ने गरिन्छ । यसलाई अर्को तरिकामा भन्नुपर्दा चैतन्यको समष्टि रूप ईश्वर हो भने व्यष्टि रुप जीवात्मा हो । समष्टिमा रहेको माया व्यष्टिमा अविद्या वा बुद्धि हो ।
यही जड र चेतनको संयुक्त मेलले संसारको सृष्टि, स्थिति र लय हुने गर्छ । मूलतः संसारमा चेतन प्रधान रहेको र चेतनको आश्रयमा जडले आफूलाई विकास गराउने गर्छ । यही नै संसारको रीत छ । जस्तो शरीर जड छ र आत्म तत्त्व चेतन छ । आत्म तत्त्व चेतनको आश्रय लिएर शरीरको सृष्टि, स्थिति र लय जसरी चलेको छ, ठीक त्यसै गरेर संसार पनि बनेको छ, संसार स्थित छ र संसारको लय पनि हुने गरेको छ । त्यसैले वेदान्त दर्शनमा स्थूल शरीर अर्थात् मान्छेको पाञ्च भौतिक शरीरलाई विश्व पनि भन्ने गरिन्छ ।
तीन किसिमका शरीर
तीन किसिमका शरीर हुन्छन्- स्थूल शरीर, सूक्ष्म शरीर र कारण शरीर । पञ्च महाभूत (पृथ्वी, जल, तेज, वायु र आकाश)ले बनेको, सुख-दुःखको भोग गर्ने भएको, कुनै समय अस्तित्वमा रहेको, जन्म लिनेवाला, बढ्नेवाला, परिवर्तनशील भएको, निरन्तर क्षीण हुने खालको र विनाश हुने जुन शरीर छ, त्यसलाई नै स्थूल शरीर भनिन्छ ।
त्यस्तै पञ्च ज्ञानेन्द्रीय, पञ्च कर्मेन्द्रीय, पञ्च प्राण, मन र बुद्धिले सज्जित तर पञ्च महाभूतसँग प्रत्यक्ष सम्बन्ध नरहेको शरीर नै सूक्ष्म शरीर हो । यही नै हो भनेर निश्चय गर्न नसकिएको, स्थूल र सूक्ष्म शरीरको कारण मात्रै रहेको, ज्ञान स्वरूप रहेको एक विशेष शरीर छ, जसलाई कारण शरीर भन्ने गरिन्छ । यी तीन शरीरसँग संसारको प्रत्यक्ष सम्बन्ध रहेको हुन्छ ।
विश्व ब्रह्माण्डमा नैसर्गिक रूपले तीन किसिमका ऊर्जाहरू हुन्छन्- शिव ऊर्जा, विष्णु ऊर्जा र ब्रह्मा ऊर्जा । मनुष्य बन्ने प्रक्रियामा मुख्य गरेर शिव ऊर्जाको प्रवेश हुने गर्छ, जो ज्ञानको अवस्थातर्फ अग्रसर रहन सदैव प्रेरित गर्ने हुन्छ ।
स्थूल सूक्ष्म र कारण शरीरदेखि भिन्न, जाग्रत-स्वप्न र सुषुप्ति अवस्थाभन्दा पर रहेको साक्षी स्वरूपमा विद्यमान तत्त्व नै चेतन तत्त्व अर्थात आत्मा हो । यही आत्माको समष्टि रुप परमात्मा हो । परमात्माको व्यष्टि रुप आत्मा हो ।
स्थूल शरीर र सूक्ष्म शरीरमा क्रमशः भौतिकता तथा मन र बुद्धिको अधिकता रहने भएकाले यी शरीरभन्दा बढी क्रियाशील र सक्रिय रूपले मानव जीवनलाई प्रत्यक्ष प्रभाव पर्ने शरीर कारण शरीर हो । यसो हुनुको मुख्य कारण चाहिं कारण शरीरमा अनादिकालदेखिको संस्कार रहनु तथा जीवनको प्रारब्ध पनि त्यसैसँग जोडिएको हुनु र जीवनको मूल ऊर्जासँग अर्थात मूल तत्त्वसँग सर्वाधिक नजिक हुनु पनि हो ।
विश्व ब्रह्माण्डको अनन्त शक्तिको भण्डार र ज्ञान पनि त्यही कारण शरीरसँग रहेको हुन्छ, जुन अत्यन्तै सुषुप्त अवस्थामा हुन्छ । कारण शरीरको भेदन नगरेसम्म मोक्ष प्राप्त हुँदैन भन्ने शास्त्रीय मान्यता छ । शिव ज्ञान स्वरूप पनि हुन् । यही ज्ञानको अनन्त मुहान कारण शरीरसँग हुने भएकाले यसको बनावट नै आफ्नो स्वऊर्जाको मूलको निकट अर्थात शिवत्वसँग नजिक रहेको हो भन्न सकिन्छ ।
शिव र शक्तिको संयोग रूप परमात्मा अर्थात् ईश्वर हो । मायावाच्छिन्न चैतन्य भनेर ईश्वरलाई नै भन्ने गरिन्छ । शिवमा निहित जुन पराशक्ति छ, त्यसैबाट चित शक्ति प्रकट हुन्छ । चित शक्तिबाट आनन्द शक्तिको उत्पत्ति हुन्छ । आनन्द शक्तिबाट इच्छा शक्तिको, इच्छा शक्तिबाट ज्ञान शक्ति र ज्ञान शक्तिबाट क्रिया शक्ति प्रकट हुने गर्छ । यही पाँच शक्तिबाट पाँच निवृत्ति आदि कला उत्पन्न हुन्छन् । चित शक्तिबाट नाद, आनन्द शक्तिबाट विन्दु, इच्छा शक्तिबाट मकार, ज्ञान शक्तिबाट उकार र क्रिया शक्तिबाट मकारको उत्पत्ति हुन्छ, जुन ओमकारको ध्वनि हो र ध्वनिको अन्तिम गति नै नाद हो ।
शिव ऊर्जा जीवनको पहिलो ऊर्जा हो, जो ज्ञानको निकट हुन्छ । हाम्रो मूलभूत ऊर्जाको सम्बन्ध शिव ऊर्जासँग सम्बन्धित रहेको हुन्छ । मूलाधार चक्रको प्रत्यक्ष सम्बन्ध पनि शिवसँग सम्बन्धित हुन्छ । मूलाधार चक्रबाट माथि उठेर स्वाधिष्ठान चक्रसम्म आइपुग्दा भने शिव र शक्तिको संयुक्त ऊर्जासँग जीवनको चक्र जोडिन पुग्छ ।
शिवका पाँच मुख्य शक्ति छन्- सर्वकर्तृत्व रूप, सर्वतत्त्व रूप, पूर्णत्व रुप, नित्यत्व रूप र व्यापकत्व रुप । जीवका पनि पाँच मुख्य कला हुन्छन्- कला, विद्या, राग, काल र नियति । यी जीवमा पाँच तत्त्वका रूपमा प्रकट हुनेलाई कला, कार्यको कारण बनेर प्रकट हुनेलाई विद्या, विषयवस्तुमा आसक्ति पैदा गर्नेलाई राग भनिन्छ । भाव पदार्थ र प्रकाशलाई भासनात्मक रूपले क्रमशः अवच्छेदक रहनेलाई काल भनिन्छ । कर्तव्य र अकर्तव्यलाई नियन्त्रण गर्ने ईश्वरको शक्तिलाई नियति भनिन्छ । यी पाँच कलाले युक्त जीवको गति हुने भएकाले जीवलाई पञ्चकञ्चुक पनि भन्ने गरिन्छ ।
स्थूल शरीरमा बुद्धिको, सूक्ष्म शरीरमा मनको प्रधान्यता रहन्छ भने कारण शरीरमा चेतनाको प्रधान्यता रहन्छ । चेतन तत्त्व आत्माबाट सोझै प्रकाशित हुने शरीर कारण शरीर हो । कारण शरीरबाट सूक्ष्म शरीर अनि सूक्ष्म शरीरबाट स्थूल शरीर प्रकाशित र चलायमान हुने गर्छ ।
यो विश्व ब्रह्माण्डमा नैसर्गिक रूपले तीन किसिमका ऊर्जाहरू हुन्छन्- शिव ऊर्जा, विष्णु ऊर्जा र ब्रह्मा ऊर्जा । मनुष्य बन्ने प्रक्रियामा मुख्य गरेर शिव ऊर्जाको प्रवेश हुने गर्छ, जो ज्ञानको अवस्थातर्फ अग्रसर रहन सदैव प्रेरित गर्ने हुन्छ । ज्ञानको पुञ्ज नै आत्मा भएको र आत्माकै सर्वाधिक नजिक कारण शरीर रहेकाले पनि कारण शरीर शिव ऊर्जाको सर्वाधिक सामीप्यमा रहेको हुन्छ । पालन रूपमा रहेको विष्णु ऊर्जा सूक्ष्म शरीरसँग सम्बन्धित हुन्छ । ब्रह्मा ऊर्जा स्थूल शरीरसँग सम्बन्धित हुन्छ ।
कोही किन भोलेको भक्त हुन्छ ?
यसरी शिव ऊर्जा जीवनको पहिलो ऊर्जा हो, जो ज्ञानको निकट हुन्छ । हाम्रो मूलभूत ऊर्जाको सम्बन्ध शिव ऊर्जासँग सम्बन्धित रहेको हुन्छ । मूलाधार चक्रको प्रत्यक्ष सम्बन्ध पनि शिवसँग सम्बन्धित हुन्छ । मूलाधार चक्रबाट माथि उठेर स्वाधिष्ठान चक्रसम्म आइपुग्दा भने शिव र शक्तिको संयुक्त ऊर्जासँग जीवनको चक्र जोडिन पुग्छ । यो अवस्थामा आइपुग्दा मानिस शिव ऊर्जासँग सर्वाधिक नजिक हुन्छ भने शिव ऊर्जाको लगत्तै शक्ति ऊर्जा अर्थात शक्तिको आराधना वा प्रकृतिको आराधना वा प्रकृतिसँग पनि मानिस उत्तिकै नजिक रहने हुन्छ ।
चाहे आस्तिक होऊन् वा नास्तिक, ती सबै शिवसँग नजिक रहेका हुन्छन् । अर्थात् तिनीहरू शिवको चरित्रलाई निन्दा गर्दैनन् । शिव सबैका प्यारा छन् । नैसर्गिक ज्ञानतर्फ सबै आकर्षित हुन्छन् । सिकाइ सबैको मूलभूत पक्ष रहेको र मानवको समग्र जीवन सिकाइमा बित्ने भएकाले ज्ञानको नैसर्गिक धाराले पनि तपाईंलाई शिव ऊर्जातर्फ अग्रसर गराएको हो ।
यसो हुनुको मुख्य कारण शिव र शक्तिको समन्वयात्मक रूप हुनु हो । जब जीवनको जन्म हुन्छ, तब मान्छे नैसर्गिक रूपमा ज्ञानतर्फ अग्रसर रहन्छ । यही ज्ञानको पूर्णतामै शिव ऊर्जाको परिपाक हुन पनि पुग्छ । ज्ञान मुक्तिको आधार पनि हो । मूलाधार चक्रबाट सुरु भएर स्वाधिष्ठान चक्र र मणिपुर चक्र हुँदै जब अनाहत चक्रसम्म पुग्छ, जीवनमा ज्ञानको एक महत्वपूर्ण तह पार हुन्छ । यही अनाहत चक्रमा ईश्वरको वास हुन्छ । श्रीमद्भगवद् गीताको १५औं अध्यायमा श्रीकृष्ण भन्नुहुन्छ- सर्वस्य चाहं हृदि संनिविष्टो ।
अर्थात, म नै सबै प्राणीहरूका हृदयमा अन्तर्यामी रूपले स्थित छु । यही कुरालाई महाकवि लक्ष्मीप्रसाद देवकोटा उल्लेख गर्नुहुन्छ- देखिन्छ ईश कुन मन्दिरमा पसेर ? त्यो हाँस्छ शुद्ध मन आसनमा बसेर ।
अनाहत चक्रमा ईश्वर रहने, त्यही मन रहने र शुद्ध मनले ईश्वरको दर्शन सम्भव छ । आत्म तत्त्वबाट प्रकाशित शुद्ध ज्ञान किरण नै कारण शरीरमा पर्न जान्छ । आत्मा र मनको बीचमा रहने भएकाले आत्मज्योतिको माध्यम हो कारण शरीर । यही कारण शरीरलाई माध्यम बनाएर नै मन प्रकाशित हुन्छ र मनोनुकूल मानिसको व्यवहार हुने गर्छ । त्यसैले त्यही कारण शरीरकै प्रभावले अर्थात ज्ञानको नैसर्गिक प्रभावको कारणले गर्दा मानिस भोलेनाथको भक्त हुने गर्छ ।
चाहे आस्तिक होऊन् वा नास्तिक, ती सबै शिवसँग नजिक रहेका हुन्छन् । अर्थात् तिनीहरू शिवको चरित्रलाई निन्दा गर्दैनन् । शिव सबैका प्यारा छन् । नैसर्गिक ज्ञानतर्फ सबै आकर्षित हुन्छन् । सिकाइ सबैको मूलभूत पक्ष रहेको र मानवको समग्र जीवन सिकाइमा बित्ने भएकाले ज्ञानको नैसर्गिक धाराले पनि तपाईंलाई शिव ऊर्जातर्फ अग्रसर गराएको हो । यदि तपाईं शिव ऊर्जासँग आकर्षित हुनुहुन्छ भने सोच्नुहोस्- तपाईंको जीवन ज्ञान साधनातर्फ अग्रसर छ र जीवनको मुख्य लक्ष्य ज्ञान हो । ज्ञान नै मुक्ति हो । ज्ञानविना मुक्ति असम्भव छ । न हि ज्ञानेन सदृशं पवित्रमिह विद्यते ।
अर्थात, निश्चय नै लोकमा ज्ञानसमान पवित्र चीज अरू केही छैन । -श्रीमद्भगवद्गीता अध्याय ४, श्लोक ३८ ।