तीन हल बुक गरेर ‘डिग्री माइला’ को भव्य प्रिमियर, को-को आए कलाकार ? (तस्बिरहरू) – Nepal Press

तीन हल बुक गरेर ‘डिग्री माइला’ को भव्य प्रिमियर, को-को आए कलाकार ? (तस्बिरहरू)

काठमाडौं । रामबाबु गुरुङ निर्देशित बहुप्रतिक्षित चलचित्र ‘डिग्री माइला’ आजबाट प्रदर्शनमा आउँदैछ । हिजो साँझ सो चलचित्रको बिग मुभिजमा प्रिमियर गरियो । चलचित्रले सकारात्मक प्रतिक्रिया पाएको छ ।

भव्य रुपमा आयोजित प्रिमियर हेर्न नेपाली चलचित्रकर्मी, कलाकार, पत्रकार तथा नेताको बाक्लो भिड लागेको थियो । बिग मुभिजका तीनवटै हल बुक गरेर चलचित्र देखाइएको हो । प्रिमियरको औपचारिक समारोह भने बाहिर रहेको फुड कोटमा गरियो ।

दयाहाङ राई र आँचल शर्माले पहिलो पटक सँगै काम गरेको चलचित्रले एक मास्टर्स डिग्री हासिल गरेको एक शैक्षिक बेरोजगारको कथा भन्छ । कथाको केन्द्रमा दयाहाङ छन् । प्रिमियरमा पाएको प्रतिक्रियाले मेकरहरु उत्साहित बनेका छन् ।

चलचित्र हेरेपछि दयाहाङकी हिट अनस्क्रिन जोडी मिरुना मगरले खुलेर प्रशंसा गरिन् ।

‘एकदमै राम्रो लाग्यो मलाई । सुरुमा हाँसिराख्दा र रमाइलो हुँदाहुँदै अन्त्यसम्म आइपुग्दा जुन एउटा नेपाली युवाहरूले सामना गरिरहनुपरेको कुरा देखाइएको छ, त्यसले एकदमै मन छोयो,’ उनले भनिन् । उनले अभिनेत्री आँचल शर्माको प्रशंसा गरिन् ।

‘आँचलजीको काम एकदमै रिफाइन लाग्यो । पूरा टिम हेर्दा आफ्नै लाग्यो तर आफूलाई मिसचाहिँ गरिनँ,’ उनले थपिन् ।
मिरुनासँगै फ्रेममा रहेकी अभिनेत्री लुनिभा तुलाधरले ‘डिग्री माइला’ टोलीका लागि सम्मान व्यक्त गरिन् । उनले हँसाउन माहिर भन्दै निर्देशक रामबाबु गुरुङको प्रशंसा गरिन् ।

‘उहाँले राम्रो राम्रो कलाकारहरूलाई व्यवस्थापन गरेर एक ठाउँ राखेर निर्देशन गर्नुहुन्छ । उहाँसँग त्यो कला छ । एउटा निर्देशक राम्रो व्यवस्थापक हुनुपर्छ । यसका लागि मैले सम्मान गर्नै पर्छ,’ उनले भनिन् । उनले नयाँ वर्षमा हेर्न लायक चलचित्र भएको जनाउँदै यसको कथासँग दर्शकहरूले आफूलाई जोड्न सक्ने बताइन् ।

यसै गरी ‘लुट’ अभिनेत्री सृजना सुब्बाले चलचित्रको अन्तिम दृश्यले गर्दा आफूलाई मनमा केही नबलौँ जस्तो लागेको बताइन् ।

‘एकदमै मन कस्तो भारी भइराख्यो । रामबाबुको राम्रो पक्षचाहिँ एकदमै गहन कुराहरूलाई रमाइलो तरिकाले प्रस्तुत गर्दै एकदमै सजिलो तरिकाले बुझाउनुभएको छ । उहाँको काममा कबड्डी भन्दा बढोत्तरी भइरहेको पाएँ,’ उनले भनिन् ।

यस्तै उनले दयाको काम र भूमिकाको तारिफ गरिन् ।

‘म दयालाई यस्तै क्यारेक्टरमा हेर्न चाहन्थेँ । उसको यस्तो पात्रहरू भइदियोस् जस्तो लाग्थ्यो । अरू सबैको काम मनपर्‍यो । मलाई एक छिन नबोलुम नबोलुम जस्तो बनायो,’ उनले थपिन् ।

चलचित्रका प्रमुख अभिनेता दयाहाङ पनि खुशी देखिए । उनले पूरै सिनेमा आफूले पनि पहिलो पटक हेरेको बताउँदै सबै कलाकारको अभिनय मन परेको बताए ।

‘मैले आफूलाई एकदमै इमानदार भएर हेर्ने कोशिस गरेँ । हामीले जो मेहेनत गर्‍या छौं, त्योचाहिँ छर्लङ्गै देखिन्छ’, उनले भने । दयाले ‘डिग्री माइला’को कथा ‘कबड्डी’ सिरिजभन्दा धेरै अगाडिको योजना भएको स्मरण गर्दै ‘कबड्डी’ को प्रभावबाट निर्देशक रामबाबु पर रहेको र कथा वाचन फरक भएको बताए ।

दयाले अभिनेत्री आँचलको तारिफ गरेँ ।

‘मचाहिँ खुशी छु, पहिलो पटक स्क्रिन साझा गरिरहँदा उसको अभिनयमा परिपक्वता छर्लङ्गै देखिन्छ,’ दयाले भने ।

एमाले नेता एवम् संघीय सांसद रघुजी पन्तले समग्रमा चलचित्र मनोरञ्जक रहेको र सिनेमाले सन्देश पनि बोकेकाले आफूलाई मन परेको बताए ।

‘शैक्षिक संस्थाहरूमा कस्तो ढंगले राजनीति भइरहेको छ, कसरी बिग्रिरहेको छ भन्ने कुरालाई मनोरञ्जक ढंगले देखाएको छ । टिपिकल रामबाबुको फिल्म हो । उनको स्टाइल हो’, उनले भने ।

प्रिमियरमा अभिनेत्री प्रियंका कार्की आफ्ना अभिनेता पति आयुष्मान देशराज श्रेष्ठ र आमासँग पुगेकी थिइन् । निर्मात्री निर्देशक एवं कलाकार दीपाश्री निरौला, अभिनेता निर्मल शर्मा, कर्मा, नरेन खड्का, हास्य कलाकारहरू पवन भट्टराई (म्याकुरी), सुन्दर खनाल, विल्सन विक्रम राई लगायत प्रिमियरमा उपस्थित थिए । उनीहरू सबैले चलचित्र मन परेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर