भर्नाको हताराेबीच नाम फेर्ने चटाराे: १७६ निजी विद्यालयले पठाए नेपाली नामकाे प्रस्ताव – Nepal Press

भर्नाको हताराेबीच नाम फेर्ने चटाराे: १७६ निजी विद्यालयले पठाए नेपाली नामकाे प्रस्ताव

नाम नफेर्ने विद्यालयहरुको भर्ना रोक्नेबारे छलफल भइरहेको काठमाडौं महानगरको भनाइ

काठमाडौं । काठमाडौं महानगरपालिकाले नगर क्षेत्रभित्र सञ्चालित निजी विद्यालयहरुलाई नेपालीपन झल्कने नाम राख्ने प्रकिया अघि बढाउन दिएको समयसीमा सकिएको छ । यतिबेला विद्यालयहरुमा भर्ना अभियान चलिरहेको छ । भर्नाको चटारोले गर्दा नाम जुराउनेतर्फ निजी विद्यालयहरुले ध्यान दिन पाएका छैनन् ।

विद्यालय सञ्चालकहरु व्यवस्थापन समितिसँग नेपालीपन झल्किने मौलिक नामको खोजीमा निरन्तर छलफल र बैठकमा रहेको बताउँछन् । महानगरले आफ्नो क्षेत्राधिकारभित्रका सबै निजी विद्यालयको नाम अनिवार्य नेपालीपन झल्किने मौलिक हुनुपर्ने भन्दै गत साता सूचना जारी गरेको थियो । सूचनामार्फत महानगरले अंग्रेजी वा अन्य भाषाका नाम परिवर्तन गरी मौलिक नेपाली नामकरण गर्न एक हप्ताको अल्टिमेटम दिएको थियो ।

शिक्षा नियमावली २०५९ (संशोधनसहित) को नियम १५४ (१) तथा काठमाडौं महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली २०७४ को नियम ७० मा नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्नुपर्ने व्यवस्था छ ।

महानगरपालिकाभित्रका अधिकांश संस्थागत एवं निजी विद्यालयको नाम यो व्यवस्थाको प्रतिकूल देखिन्छ । यसरी नेपालीपन नाम नभएका निजी विद्यालयहरूलाई सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र शिक्षा विभागमा अनिवार्य रूपमा सम्पर्क गर्न महानगरले निर्देशन दिएको थियो ।

यस अवधिभित्र सम्पर्क गरी मौलिक नामकरणको प्रक्रिया अगाडि नबढाएमा विद्यार्थी भर्ना प्रक्रियामा रोक लगाउनेसहित कानूनबमोजिमको कारबाही प्रक्रिया अगाडि बढाइने महानगरले चेतावनीसमेत दिएको थियो ।

विद्यालयको मौलिक नामकरण गर्न व्यवस्थापन समितिबाट प्रस्तावित नाम निर्णय गराएर सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र विभागमा निवेदन दिनुपर्ने महानगरले जनाएको छ ।

काठमाडौं महानगरका मेयर बालेन शाहका अनुसार विद्यालयहरूलाई विदेशी नाम फेर्न यसअघि एक वर्ष अवधि दिइएको थियो । उक्त एक वर्षको समयावधि सकिन लाग्दा पनि विद्यालयहरुले विदेशी नाम फेर्न अटेर गरेपछि महानगरले पुनः अर्को म्याद दिएको हो । गत वर्ष अधिकांश विद्यालयले महानगरको सूचनाअनुसार नाम परिवर्तन गरेका थिए ।

तर, विदेशी नाम भएका निजी विद्यालयहरुले फेर्न अटेर गरे । दुई पटक म्याद दिइसकेकाले यस पटक पनि अटेर गर्न सक्ने र नाम परिवर्तन नगराउन लविङ गर्न सक्ने देखिएपछि महानगरले भर्ना नै रोक्ने चेतावनी पनि दिएको बुझिएको छ ।

काठमाडौंमा सञ्चालित अधिकांश निजी विद्यालय तथा क्याम्पसको नाम नेपालीपन झल्काउनेभन्दा विदेशी राखिएका छन् । लिभरपुल स्कुल, युरो स्कुल, सेन्ट लरेन्स, सेन्ट जेभिर्यस इन्टरनेशनल, मेरील्याण्ड, कोलम्बस इन्टरनेशनल, रिलायन्स, विल्सन, क्याम्ब्रिज, इलिक्सर, टेक्सास, क्याम्पियन, मेरिडियन, अल्पाइन, प्यासिफिक, ग्लेसियर इन्टनेशनल र ल्यान्डमार्कले विदेशी नाम फेरेका छैनन् ।

त्यस्तै सेन्ट पल, जेनिथ, एम्बिसन, पारागन, बेबिलोन, रिभरडेल, सुप्रिम, क्यानभास, अल्पाइन, हावर्ड, इलाइट ग्रान्ड, जेनेसिस, डिभाइन बड, प्रोलिफिक, युनिभर्सल, गोल्डेनगेट, गोल्डेन गार्डन, लब्ली एन्जेल, विन्डी हाउस, पेन्टागन, न्यु टुलिप, स्काई लाइट, फ्लोरिडा, अपोलो, ओरियन्टल, नेक्सस, मिल्सबेरी, क्लिन्टन, एप्पल,चेल्सी, न्यु लिरा, फ्युचर स्टार, जोसेफ, आइडल, मोर्गन, कन्स्टलेसन, लिबर्टी, ग्लोबल, हर्टल्यान्ड, न्युटन, होली भिजन, क्यामेलिया, पेनउड, टेरेसा, अक्सफोर्ड, कोलम्बस, क्याम्ब्रिज, ओडेसी, हेरोल्ड, त्रिनिटीलगायत सयौं विदेशी नाम गरेका विद्यालय अहिले पनि सञ्चालनमा छन् ।

काठमाडौंका नाम चलेका विद्यालयहरुले नेपालीपन झल्कने नाम राख्लान् त भन्ने चासो बढेको छ । काठमाडौं महानगरभित्र ७७१ निजी विद्यालय छन् । तीमध्ये ३२४ विद्यालयको अंग्रेजी वा विदेशी नाम रहेको महानगरले जनाएको छ ।

महानगरले भर्ना नै रोक्ने चेतावनी दिएपछि विदेशी नाम भएका विद्यालयहरु दबाबमा परेका छन् । तिनीहरु आन्तरिक छलफलमा जुटिरहेका छन् । केही विद्यालयले नामसमेत जुराइकेका छन् । केही विद्यालय आन्तरिक रुपमा जुरेको नाम फेर्ने प्रक्रियामा जाने तयारीमा छन् ।

लिभरपुल सेकेन्डरी स्कुलका निर्देशक नवीन चौहान विद्यालयको नाम सोचिसकेको र विचार विर्मशबाट के आउँछ, सोहीअनुसार गर्ने बताउँछन् ।

‘हाम्रो विचार विर्मश भइराखेको छ । प्याब्सनले पनि कुरा गरिराखेको छ । दुइटै प्रक्रियामा छौं हामीहरु’, उनले भने, ‘नाम परिवर्तन गर्नैपर्छ भन्यो भने गर्छौं । नाम हामीले लगभग सोचेका छौं । फ्ल्यास गरेका छैनौं । तर, हामी सकेसम्म यो नाम नफेर्दिए हुन्थो ।’

उनका अनुसार नाम परिवर्तन गर्दा जिल्ला शिक्षा कार्यालय, शिक्षा क्षेत्र निर्देशनालय, आन्तरिक राजस्व कार्यालय, उच्च माध्यमिक शिक्षा परिषद् (एचएसईबी)लगायत सबैमा पुरानो नाम रहेकाले प्राविधिक समस्या आइपर्छ ।

उनी भन्छन्, ‘विद्यार्थीहरु विदेश पनि गएका छन् । ती विद्यार्थी ५ वर्षपछि सर्टिफिकेट हराएर लिन आयो भने अर्को नामको पठाउँदा हामीलाई पनि समस्या हुन्छ । हामीलाई प्राविधिक समस्या पर्छ । कम्पनी रजिष्टार कार्यालयमा पनि त्यस्तै हुन्छ । हाम्रो कम्पनीअन्तर्गत दर्ता गरेको छ’, चौहानले भने, ‘लिभरपुल स्कुलमात्र छैन । लिभरपुल एजुकेशन कम्पनीभित्र स्कुल, मिल्टन कलेज पनि छ । एउटा कम्पनीको हाँगा हुन् तिनीहरु । अब चेन्ज गर्दा लिभरपुल त चेन्ज भयो, मिल्टन चेन्ज भएन । अनि कम्पनी चेन्ज गर्ने होइन नि ! लिभर पुल स्कुल पो चेन्ज गर्ने हो त ।’

बाँकी विद्यालयहरुले पनि नाम परिवर्तन गरे आफूहरु पनि तयार रहेको उनको भनाइ छ ।

‘अब दुनियाँ मरेको ठाउँमा आफू नि मर्नुपर्छ भन्छन् । सबैले परिवर्तन गरे हामी पनि त्यसै गर्नुपर्ला । तर सकेसम्म हामीलाई त्यसो नगरिदिए हुन्थ्यो । कैयौं वर्षदेखि चलिरहेको स्कुल हो । अप्ठयारो छ’, निर्देशक चौहानले थपे ।

काठमाडौंको बत्तीस पुतलीस्थित पारागन पब्लिक स्कुलले पनि नेपाली नाम राख्ने तयारी गरेको छ । स्कुलका इन्चार्ज शाहिर हुसेनले भने, ‘नाम परिवर्तन गर्ने भएका छौं । तर, नाम भने सोचिसकेको छैन । त्यसबारे छलफल हुँदैछ ।’

काठमाडौंको चाबहिलस्थित सेन्ट लरेन्स स्कुलले नाम परिवर्तन गर्न काठमाडौं महानगरमा प्रस्ताव पठाइसकेको छ । स्कुलका सीईओ टंकेश्वर आचार्यका अनुसार नेपाली नाम राख्न प्रस्ताव पठाइसकेको छ । तर, नाम भने फाइनल भइसकेको छैन ।

पेप्सीकाेलामा रहेकाे ग्लाेबल पब्लिक स्कुलले विद्यालयकाे नयाँ नामकरणाकाे लागि अभिभावकहरुसँगै सहयाेग मागेकाे छ । विद्यालयकी काेअर्डिनेटर ज्ञानु घिमिरेले अभिभावकहरुबाट नयाँ नामकाे लागि सुझाव माग गरिएकाे बताइन् । प्राप्त नामहरुमध्ये छनाेट गरेर निर्णय लिइने उनकाे भनाइ छ ।

२०२८ सालमै भएको थियो निर्णय

२०२८ साल चैत २८ को गोरखापत्रमा छापिएको समाचार ।

विद्यालयको नाम नेपालीकरण गर्नुपर्ने विषय नयाँ होइन । यसअघि पनि पटक पटक विद्यालयहरुको नाम नेपालीमा हुनुपर्ने निर्णय भएको थियो । पहिलो पटक २०२८ सालमा यस्तो निर्णय आएको थियो । २०२८ चैत २७ गतेको गोरखापत्रमा विद्यालयहरूको नाम नेपालीमा राख्ने निर्णय गरेको समाचार प्रकाशित भएको थियो ।

काठमाडौं जिल्ला शिक्षा समितिको बैठकले जिल्लाभित्रका अंग्रेजीमा नामकरण भएका प्राथमिक, निम्न माध्यमिक र माध्यमिक विद्यालयहरूले नेपालीमा नामकरण गर्नुपर्ने निर्णय गरेको थियो । उक्त बैठकले नेपालीमा नामकरण गर्ने कार्य आगामी शैक्षिक सत्रसम्ममा लागू गर्नुपर्ने पनि निर्णय गरेको थियो । तर, उक्त निर्णयविरुद्ध धमाधम विदेशी नाम गरेका विद्यालयहरुले स्वीकृत लिए ।

२०६७ मा शिक्षा नियमावली कार्यान्वयन गर्न सरकारले निर्देशन दिएको थियो । शिक्षा नियमावली २०५९ परिच्छेद २७ (१५४) विद्यालयको नामकरणसँग सम्बन्धित छ ।

२०६९ साल साउन २० मा विदेशी नाम राखेका शिक्षण संस्थालाई ६ महिनाभित्र स्वदेशीपन झल्कने नाम परिवर्तन गर्न शिक्षा विभागले प्रस्ताव गरेको थियो । ६ महिनाभित्र विदेशी नाम परिवर्तन गरेमा सुविधा दिनेसहितको प्रस्ताव विभागले शिक्षा मन्त्रालयमा पठाएको थियो । तर, त्यतिबेला निजी विद्यालयहरुमा विदेशी नाम राख्ने मोहले उक्त प्रस्ताव स्वीकार गरिएन ।

२०७५ सालमा पनि काठमाडौं महानगरले विद्यालयको नाम नेपालीमा राख्न लगाउने तयारी गरेको थियो । तर, त्यतिबेला निजी विद्यालयहरुले महानगरको निर्देशन टेरेनन् । सोही कारण अहिले निजी विद्यालयहरुलाई नाम परिवर्तन गर्न समस्या भएको छ ।

१७६ वटा स्कुलको प्रस्ताव महानगरमा

काठमाडौं महानगरपालिकाकी शिक्षा विभागकी निमित्त विभागीय प्रमुख सरस्वती पोखरेलले अहिलेसम्म ३२४ मध्ये १७६ वटा स्कुलले नेपाली नाम राख्न प्रस्ताव गरेको बताइन् ।

उनले भनिन्, ‘सबैले नाम प्रस्ताव गरिसकेका छैनन् । विद्यालय व्यवस्थापन समितिबाट निर्णय गराएर ३५ दिनभित्र गर्छु भनेर प्रतिबद्धता जस्तो पत्र ल्याउनुभएको छ । उनका अनुसार त्यसमध्ये केही विद्यालयहरुले नामसमेत प्रस्ताव गरिसकेको छ ।

‘कतिले नाम पनि प्रस्ताव गर्नुभएको छ । तर, हाम्रो सम्पर्कमा आएकामध्ये बुधबारसम्म १७६ वटा विद्यालयले नाम परिवर्तन गर्ने प्रस्ताव गरेका छन् । प्रस्ताव लिएर आउने क्रम जारी छ’, उनले भनिन्, ‘समय सकिसक्यो । तर पनि विद्यालय सञ्चालकहरु आइराख्नुभएको छ ।’

नाम परिवर्तन गर्न सबैजसो विद्यालय सञ्चालकहरु सकारात्मक रहेको पोखरेलले बताइन् ।

‘उहाँहरु सकारात्मक नै हुनुहुन्छ । किनभने उहाँहरु अझै पनि आइ नै राख्नुभएको छ । कतिले ढिलो थाहा पायौं भन्नुभएको छ’, उनले भनिन् ।

उनका अनुसार ३२४ वटा विद्यालयलाई महानगरले पत्राचार गरेको थियो । तीमध्ये १७६ वटा विद्यालय महानगरको सम्पर्कमा आइसकेका छन् । सात दिनको समयसीमा पछि आएका विद्यालयहरुको प्रस्ताव पनि स्वीकार गरिने उनको भनाइ छ । तर, प्रस्ताव लिएर नआउने विद्यालयहरुको भर्ना रोक्ने विषयमा छलफल भइरहेको उनले बताइन् ।

अब कस्तो राख्नुपर्नेछ नाम ?

विद्यालय शिक्षा व्यवस्थापन नियमावली २०७४ को परिच्छेद १२ मा विद्यालयकोे चिन्ह, नामकरण तथा अन्य व्यवस्था गरेको छ । यो नियम-उपनियम लागू हुनुअगावै यस नियमविपरीतका शब्दहरू जोडेर नामकरण भइसकेका विद्यालयको हकमा यो नियमावली जारी भएपछिको दोस्रो शैक्षिक सत्रको सुरुदेखि नै लागू हुने गरी उपयुक्त व्यवस्था पालना गर्न वा पुनः नामकरण गर्नुपर्ने उल्लेख गरेको थियो ।

कुनै संस्थागत विद्यालयले आफ्नो नाममा पब्लिक शव्द जोड्न चाहेमा कम्तीमा एकतिहाइ विद्यार्थी पूर्ण छात्रवृत्तिमा अध्ययनरत रहेको हुनुपर्ने मापदण्ड बनाइएको थियो ।

यस्तै कुनै संस्थागत विद्यालयले आफ्नो नाममा नेशनल शब्द जोड्न चाहेमा नेपालको कम्तीमा २५ जिल्लाका विद्यार्थी अध्ययनरत रहेको हुनुपर्ने र कुनै संस्थागत विद्यालयले आफ्नो नाममा इन्टरनेशनल शब्द जोड्न चाहेमा कम्तीमा एक तिहाइ संख्यामा विदेशी विद्यार्थी हुनुपर्ने उल्लेख गरेको थियो । विद्यालयको नामको अन्तमा विद्यालय, स्कुल वा पाठशाला शब्द जोडिएको हुनुपर्नेछ ।

समाज तथा राष्ट्रकै लागि उल्लेखनीय योगदान गर्ने वा ऐतिहासिक व्यक्ति, देवीदेवता, तीर्थस्थल वा प्राकृतिक सम्पदा आदिको नामबाट नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्नुपर्ने तथा विद्यालयको चिन्ह र नाम मापदण्डअनुरुप रहनुपर्ने नियामवलीमा उल्लेख छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर