देशमा सुशासन र समृद्धिको नयाँ जग बसाल्न सबै क्षेत्रमा स्वस्थ प्रतिस्पर्धा हुनुपर्छ : प्रधानमन्त्री – Nepal Press

देशमा सुशासन र समृद्धिको नयाँ जग बसाल्न सबै क्षेत्रमा स्वस्थ प्रतिस्पर्धा हुनुपर्छ : प्रधानमन्त्री

शिक्षा क्षेत्रमा हस्तक्षेप नगर्ने सार्वजनिक रूपमा संकल्प गर्न दलहरूलाई अनुरोध

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू विश्वविद्यालय र शिक्षा क्षेत्र सुधारमा गम्भीर रहेको बताएका छन्।

त्रिभुवन विश्वविद्यालयमा उपकुलपति, शिक्षाध्यक्ष र रजिष्टार मेरिटोक्रेसीका आधारमा नियुक्त गरेकामा खुसी व्यक्त गर्दै बालुवाटार पुगेका प्राध्यापक एवं प्राज्ञिकहरूसँग प्रधानमन्त्रीले यस्तो बताएका हुन्।

उनले भने- विश्वविद्यालय सुधार्ने हो भने मेरिटोक्रेसीको कुनै बिकल्प छैन, यसबारे गम्भीररूपमा सोच्दै आएको थिएँ । तर, कहाँबाट सुरू गर्ने, कसरी सुरू गर्ने भन्ने थियो । मैले त्रिभुवन विश्वविद्यालयको दीक्षान्त समारोहमा खुला प्रतिस्पर्धाको घोषणा गरेको थिएँ । त्यसपछि यसको पक्षमा वातावरण बनाउन म लगातार लागिरहेँ र सफल पनि भयौँ । यसले प्राज्ञिक क्षेत्रलाई सकारात्मक दिशा दिएको छ ।

देशमा सुशासन, विकास र समृद्धिको नयाँ जग बसाल्न सबै क्षेत्रमा स्वस्थ प्रतिस्पर्धा जरूरी रहेको बताए।

उनले थपे- पार्टीमा आबद्ध हुने स्वतन्त्रता सबैलाई छ । तर, अब कुन पार्टी भनेर नहेरौँ । जो सक्षम छ, इमान्दार छ, जो निष्ठाका साथ काम गर्छ, त्यो नै आफ्नो हो । राम्रो हेरौँ, मेरिट हेरौँ । यसले मात्रै देशमा नयाँ परिस्थिति बन्छ । यसमा म पूर्ण प्रतिबद्ध छु ।

भेटमा प्राज्ञिकहरूको तर्फबाट केदारभक्त माथेमाले प्रधानमन्त्रीको सोच र अडानका कारण विश्वविद्यालयमा खुला प्रतिस्पर्धाबाट पदाधिकारी नियुक्ति हुनु आफैँमा महत्वपूर्ण कुरा रहेको बताए।

छलफलमा माथेमाले सबै राजनीतिक दलले एक ठाउँ बसेर भागबण्डाको संस्कारको अन्त्य र खुला प्रतिस्पर्धाका निम्ति प्रतिबद्धता व्यक्त गर्नुपर्ने बताए।

सार्वजनिक रूपमा हस्तक्षेप नगर्ने संकल्प घोषणा गर्न दलहरूलाई अनुरोध गर्दै उनले शैक्षिक–प्राज्ञिक संस्थाको स्वायत्ततालाई अक्षुण्ण राख्न कुनै पनि प्रकारका अस्वस्थ, अनावश्यक हस्तक्षेप नगर्ने सङ्कल्प एवं प्रतिबद्धता राजनीतिक दलको तर्फबाट आउनुपर्ने बताए ।

प्रधानमन्त्री दाहाललाई धन्यवाद दिँदै राजनीतिक दलहरूलाई हस्तक्षेप नगर्ने नीतिमा प्रतिबद्धता व्यक्त गर्न अनुरोध गर्नेमा डा गौरीशङ्करलाल दास, डा गोविन्द पोखरेल, डा सन्दुक रूइत, डा अर्जुन कार्की, डा जेपी अग्रवाल, डा नरेशमान बज्राचार्य, डा असीम ढकाल, डा भगवान कोइराला, डा विष्णु उप्रेती, डा धर्मकान्त बास्कोटा, डा देवेन्द्रराज पाण्डे, डा लवदेव अवस्थी, डा मदन उपाध्याय, डा महेश मास्के, केदारभक्त माथेमालगायत ६६ प्राज्ञिक थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर