आइडिया भए आईटी क्षेत्रमा लगानी कुर्नुपर्दैन : आईटी व्यवसायी लाम्गादे – Nepal Press
नेपाल टक

आइडिया भए आईटी क्षेत्रमा लगानी कुर्नुपर्दैन : आईटी व्यवसायी लाम्गादे

काठमाडौं । पछिल्लो समय नेपालमा युवाहरुले आफ्नै स्टार्टअप सञ्चालन गर्दै रोजगारीका केही अवसर सृजना गरेका छन् । त्यस्तै लाखौं युवा रोजगारीकै लागि विदेशिइरहेका छन् । उद्योग तथा व्यवसायका क्षेत्रमा नेपालमा लगानी बढ्न नसके पनि इन्फरमेशन टेक्नोलोजी क्षेत्रमा युवाहरुको आकर्षण र लगानी बढ्दो छ । तर, नेपालमा आफ्नै स्टार्टअप गर्न कतिको सहज छ ? के कस्ता चुनौती छन् र सम्भावना कस्तो छ ?

यिनै विषयहरुमा केन्द्रित रहेर नेपाल प्रेसले डिजिटल प्रोडक्टहरुको सुरक्षा र साइबर सक्युरेटी एक्पर्टलाई जोड्ने प्लेटफर्म ‘बगभी’ का संस्थापक नरेश लाम्गादेलसँग कुराकानी गरेको छ । गुगलमा नेपालबाट नम्बर वान रिसर्चरका रुपमा पर्ने नरेश लाम्गादेल अहिले आफ्नै कम्पनी सञ्चालन गरिरहेका छन् ।

सन् २०२० डिसेम्बरमा लाम्गादेलले नेपालकै पहिलो बग बाउन्टी प्लेटफर्म ‘बगभी’ सञ्चालनमा ल्याएका थिए । जुन सन् २०२१ मा ‘पब्लिक च्वाइस आईसीटी अवार्ड २०२१’ विजेतासमेत बन्यो । बगभी विश्वभरका एथिकल ह्याकर तथा साइबर सुरक्षा अनुसन्धानकर्ता र विजनेशलाई जोड्ने प्लेटफर्म हो । जसमा व्यवसायीहरुले आफ्नो प्रोडक्टहरुको विश्वभरका ह्याकर तथा साइबर अनुसन्धानकर्ताहरुबाट बग अर्थात कमजोरीहरु पत्ता लगाएर सुरक्षित गर्छन् । उनै नरेश लाम्गादेसँग गरिएको कुराकानी नेपाल टकमाः

– विश्वमा साइबर सुरक्षाको क्षेत्रमा लगानीको सम्भावना र चुनौती के कस्ता छन् ?

विश्वभर हामीले सञ्चालनमा ल्याएको प्लेटफर्म बगभी जस्तै थुप्रै स्टाटअर्पहरु छन् । जसबाट एउटामात्रै बग अर्थात कमजोरी पत्ता लगाएर अनुसन्धानकर्ताहरुले लाखौं-करोडौं पैसा कमाइरहेका हुन्छन् । तर, नेपालमा व्यवसायीहरुका प्रोडक्टहरुको विश्वभरका ह्याकर तथा साइबर अनुसन्धानकर्ताहरुबाट बग अर्थात कमजोरीहरु पत्ता लगाएर सुरक्षित गर्ने एउटामात्रै प्लेटफर्म बगभी हो । नेपाली प्रोडक्टहरुले आफ्नो कमजोरी पत्ता लगाउन त्यति खर्च गर्न सक्दैन । त्यसैले यस्तो प्लेटफर्म यता विकसित भइसकेको देखिँदैन ।

विश्वमा गुगलकै उदाहरण हेर्दा उसले आफ्ना प्लेटफर्महरुमा बग पत्ता लगाउनेलाई लाखौं डलर दिन्छ । किनभने नेपालमा मात्रै हो, साइबर सेक्युरिटी र गोपनीयता प्राथमिकतामा नरहेको । विश्वमा ठूला शक्तिशालीदेखि टेक्नोलोजीमा अगाडि बढिरहेका राष्ट्रहरुमा सुरक्षालाई पहिलो प्राथमिक्ता र सबैभन्दा बढी प्रभावशाली मानिन्छ । त्यसैले गुगल, फेसबुक, एप्पल जस्ता ठूला कम्पनीहरुले आफ्नो सुरक्षालाई सबैभन्दा बढी प्राथमिकतामा रखेका हुन्छन् । एउटा सानो बग पत्ता लगाउनेलाई लाखौं डलर प्रदान गर्ने गर्छन् । नेपालमा त्योअनुसारको खर्च गर्नसक्ने अवस्था सृजना भएको छैन ।

– बगभी कम्पनीको अवधारणा कसरी अगाडि बढ्यो ?

सुरुमा सिस्टमहरुमा बग पत्ता लगाउँदा पैसा पाइन्छ भन्ने कुरा थाहा थिएन । जब पहिलो पटक पैसा आयो अनि बल्ल थाहा भयो कि सिस्टमहरुमा भएका बगहरु पत्ता लगाएर पनि राम्रै आम्दानी हुँदोरहेछ । साइबर सेक्युरिटीमा आफ्नो रुचि पनि अत्यधिक नै थियो । स्नातक तहको पढाइ गर्दागर्दै ‘ई-सेवा’ बाट पार्टटाइम काम सुरु गरेको थिएँ । काम गर्दा फुल टाइम कुनै पनि कम्पनीमा गरिनँ । पहिलो कुरा त मसँग आइडिया थियो । त्यस आइडियाले स्नातकको पढाइ सकाउँदासम्म धेरै अनुभवका साथै सिकाइ दिएको थियो । विस्तारै अन्तर्राष्ट्रियस्तरमा काम कसरी भइरहेको छ, के कस्ता कामहरु कसरी हुन्छन्, विशेषगरी साइबर सेक्युरिटी क्षेत्रमा हुने प्रोग्रामहरुमा सहभागी भएँ । त्यसले पनि धेरै कुराको आइडिया दियो ।

पछि स्नातकको पढाइपछि आफ्नै काम गर्नुपर्छ भन्ने मनमा थियो । तर, कसरी सबै कुरा मिलाउने भन्ने थाहा थिएन । सीप र आइडिया भए आँट आफैं आउँदो रहेछ । अनि ‘बगभी’ खडा गर्नुपर्छ भन्नेमा विश्वस्त भएँ । सुरुमा आइडियामात्रै आउनुपर्ने रहेछ । सबैकुरा मिल्दै जान्छ । मेरो पनि पहिले केही गाह्रो जस्तो भयो । तर, सबैकुरा मिलाएरै सम्भव भयो ।

– अरुको र आफ्नो कम्पनीमा काम गर्नुमा के फरक हुँदो रहेछ ?

आफूले तलब खानु र अरुलाई तलब खुवाउनुमा आकाश जमिनको फरक हुन्छ । आफैंले कम्पनी चलाउँदा जिम्मेवारीहरु पनि स्वतः थपिन्छ । महिनामा तलब आएर यस्तो गर्छु भन्ने कुरा पहिले हुन्थ्यो भने अब आफूले काममा राखेका कर्मचारीहरुलाई तलब दिनुपर्ने कुरा आउँछ ।

आफूमात्रै एक्लो छैन । अब त सबै कर्मचारीहरु छन् । सबै कर्मचारीहरुलाइ समयमै तलब दिनुपर्‍यो । आपतकालीन रुपमा आउने जोखिम तथा अप्ठेरोमा ब्याकअप पनि राखनुपर्‍यो । कम्पनी चलाउनका लागि प्रोजेक्टहरु ल्याउनुपर्‍यो । क्लाइन्टहरुसँग डिल गर्नुपर्नेलगायतका धेरै काम हुन्छन् । एउटा कर्मचारीको जस्तो एउटा काम गरेर ढुक्क हुन मिल्दैन । त्यसैले कर्मचारी हुनु र सञ्चालक हुनुमा आकाश जमिनको फरक हुन्छ ।

आँट चाहि गर्नुपर्छ । सञ्चालक हुनु त्यति कठिन छैन । त्यसका लागि सीपसहितको आँट हुनुपर्छ । आफ्नै कम्पनी खडा गर्न धेरै कुरा त्याग र सम्झौता गर्नुपर्छ ।

– आईटी क्षेत्रमा आफैं मालिक हुन कतिको सजिलो छ ?

टेक्नोलोजी क्षेत्रमा लगानी गर्न लाखौं र करोडौं रुपैयाँ चाहिन्छ नै भन्ने हुँदैन । सबैभन्दा कम लगानीमा कुनै क्षेत्रमा व्यापार गर्न सकिन्छ भने त्यो सञ्चार तथा सूचना प्रविधि हो । किनभने कुनै पनि उद्योग तथा व्यवसाय सञ्चालन गर्दा चाहिने निश्चित लगानी, मागअनुसारको प्रोडक्ट, व्यवसाय हुने स्थान, कोठा, भाडा, ज्याला जस्था थुप्रै कुरा आवश्यक हुन्छन् । प्रविधि क्षेत्रमा एउटा कम्प्युटर, इन्टरनेट र आइडिया भए पुग्छ ।

यसको मतलब सबै कुरा चाहिँदैन भन्न खोजिएको होइन । डिजिटल क्षेत्रमा सानो लगानीबाटै व्यवसाय सञ्चालन गर्न सकिन्छ । उद्योग तथा खुद्रा व्यापार गरे जत्तिकै लगानी आवश्यक हुन्छ भन्ने हुँदैन । मुख्य कुरा आफ्नो सीप हो । प्रविधिमा पनि केमा एक्स्पर्ट हुन सकिन्छ भन्ने कुरामा भरपर्छ । आफूसँग सीप छ भने आइडिया बेचेर पनि लाखौं कमाउन र आफ्नै व्यवसाय सञ्चालन गर्न सकिन्छ । लगानीका लागि रोकिनुपर्ने अवस्था अहिले देखिँदैन । मुख्य कुरा सीप हो । त्यसैले सीप छ भने आफैं मालिक हुने आँट आउँछ ।

– अहिलेका किशोरकिशोरीहरु स्मार्टफोनमा भिडियो गेमिङ र ह्याकिङ जस्ता कुराहरुमा आकर्षित देखिन्छ । यसले उनीहरुको शैक्षिक भविष्य प्रभावित हुन्छ कि हुँदैन ?

अहिलेको समय हेर्ने हो भने पहिले जस्तो अप्ठेरो छैन । नेपालको सेरोफेरोमा हेर्दा हामी अलि पछाडि छौं । तर, आजभोलि धेरै कुरामा स्कुल तहबाटै बालबालिकाको रुचिलाई पहिचान गरेर सही दिशा दिन सकिन्छ । हाम्रै वरपर हेर्दा ‘मेन्टरशिप प्रोग्राम’ हरु हुन्छन् । जसले के गर्ने, कसरी गर्ने र कहिले गर्ने भन्ने कुरामा सहयोग गर्छ ।

कुनै पनि स्टार्टअप खोल्छु भन्दा राय तथा सुझावहरु दिने र बाटो देखाउने थुप्रै आधारहरु छन् । धेरै कुरा इन्टरनेटबाट सिक्न सकिन्छ । त्यो स्कुल लेबलमा पनि राम्रो मेन्टरशिप प्रदान गर्ने गरिन्छ । जसले गर्दा किशोरकिशोरीले अन्त कतै भौंतारिनु पर्दैन । नेपालको सेरोफेरोमा यो अलि कम देखिन्छ । तर, अन्य राष्ट्रहरुमा हेर्ने हो भने त्यो आइडियालाई प्राथमिकता दिन्छ । विदेशमा मसँग आइडिया छ र म कम्पनी खोल्छु भन्ने कुरा नै धेरै ठूलो मानिन्छ । त्यस्तो आइडियालाई सरकारले नै प्रोत्साहन गर्न विभिन्न प्रोग्राम सञ्चालन गरिदिएको हुन्छ ।

भारतमा पनि थुप्रै खालका प्रोग्राम सञ्चालनमा छन्, जसमा नयाँ आइडिया र इनोभेशनलाई स्थान दिइन्छ । त्यस्ता आइडियाहरुमा लगानी गर्ने मानिसहरुदेखि कसरी उक्त आइडियालाई बेस्ट बनाउन सकिन्छ भन्ने वातावरण मिलाइदिनेसम्म गरिन्छ । उक्त आइडियामा काम गर्न पार्टनरसमेत खोजिदिने गरिन्छ । त्यसैले अहिलेको अवस्थामा त्यति अप्ठेरो छैन ।

नेपालको सन्दर्भमा अलि गाह्रो हुनसक्ला । समग्रमा अहिलेको अवस्थामा जुनसुकै उमेरमा पनि आईटी क्षेत्रमा आफ्नो पाइला राख्न सकिन्छ । यस्ता आइडियालाई स्थान दिने प्रोग्राम विश्वमा अत्यधिक छन् । यस्ता खालमा प्रोग्रामहरु पनि छन्, जसमा जुनसुकै राष्ट्रको मानिसले पनि पार्टिसिपेट गर्नसक्छ । सबैलाई थाहा छ, भोलिको भविष्य भनेको आइटी नै हो । यस्ता खालका आईटी क्षेत्रका नयाँ आइडियाहरुलाई हरेक राष्ट्रले प्राथमिकतामा राखेको छ । सरकारले नै लगानी गर्ने वातावरण पनि मिलाइदिएको हुन्छ । यस्तो खालको अभ्यास नेपालमा विरलै देखिन्छ । अन्य क्षेत्रहरु जस्तै हाइड्रोपावर तथा कृषिका लागि केही प्रोग्राम नेपालमा पनि सञ्चालन गरिएका छन् । तर, यो आईटी क्षेत्रलाई प्राथमिकतामा राखिएको देखिँदैन ।

– यो कुरा सरकार र युवा पुस्ताले नबुझेको कि बुझाउन नसकिएको हो ?

आईटी क्षेत्रमा धेरै राम्रो भविष्य छ । आइडिया र सीप भए कसैको भर पर्नुपर्दैन, थोरै लगानीमा पनि धेरै आर्जन गर्न सकिन्छ भन्ने कुरा आफैंमा विरोधाभाष छ । किनभने अहिलेको समयमा कसैलाई बुझाउनु पर्दैन । धेरै कुराको पहुँच र ज्ञान इन्टरनेटबाटै लिन सकिन्छ । तर पनि हामीले के कुरा बुझेनौं भन्दा बाहिरको विकासमा मात्रै केन्द्रित भएर सोच्यौं ।

यस कुरामा सरकारले पनि त्योअनुसारका प्रोग्रामहरु ल्याउन र सञ्चालन गर्न नसकेकै हो । नेपालमा लगानी गर्नेहरुले आईटी क्षेत्रमा लगानी गर्न नचाहेर पनि हो । नेपालमा लगानी गर्नेहरुले हाइड्रोपावर र रियल स्टेटमात्रै देख्छन् । किनभने त्यहाँबाट राम्रो प्रतिफल आउँछ । लगानी गर्नेहरुमा पनि अलि त्यो खालको समानता देखिँदैन ।

त्यसको पनि कारण भनेको नेपालको आईटी क्षेत्रमा लगानी भएका कम्पनीहरुले राम्रो प्रतिफल दिन सकेनन् । त्यसले पनि आईटी क्षेत्रमा नराम्रो उदाहरण दियो । आईटी क्षेत्रमा थोरै लगानी भयो । ती लगानी भएकाहरुले प्रतिफल दिन सकेनन् । त्यसले गर्दा लगानीकर्ताहरुमा उदाहरण राम्रो देखिएन । कुनै पनि लगानीकर्ताले प्रतिफलकै लागि आफ्नो पैसा लगानी गर्ने हो । यदि प्रतिफल नै राम्रो छैन भने किन लगानी गर्ने ? यो कुराले पनि हाम्रो छविलाई प्रभाव पारेको छ ।

– नेपाली आइटी कम्पनीहरुले के कस्ता समस्या भोगिरहेका छन् ?

नेपालको व्यवस्थाले गर्दा फ्रस्टेड हुने अवस्था छ । हामीले ग्लोबल्ली सेवा दिइरहेका छौं । एउटा विदेशी क्लाइन्टलाई पैसा पठाउन झन्झट छ । एउटा नेपाली नागरिकले अमेरिकामा गएर कम्पनी खोल्न सक्दैन । त्यसका लागि विदेशी नै हुनुपर्ने अवस्था छ । एउटा सामान्य नेपाली स्टार्टअपले थोरै लगानीमा विदेशहरुमा आफ्नो सेवा दिन चाहन्छ भने पहिलो कुरा त सीधै आफ्नो सेवा दिन सक्दैन । यदि नीतिगत रुपमा जाने हो भने अर्बौं रुपैयाँ र झन्झटमै लागिपर्नु पर्छ । यसरी एउटा नेपाली कम्पनीले विदेशमा आफ्नो व्यवसायलाई कसरी बढाउने ?

नेपालमा न सरकारले सपोर्ट गर्छ न त नीतिगत व्यवस्थाले । अनि देशमा मानिस किन बस्ने भन्ने प्रश्न आउँछ । अब हामी पनि आफ्नो कम्पनीको मुख्य शाखा बाहिर नै खोल्ने तयारी गरिरहेका छौं । बाहिर मुख्य शाखा राखेर कम्पनी सञ्चालन गर्दा धरै कुराको सजिलो हुन्छ भने नेपालमै किन बस्छ कोही ? नेपालबाटै काम गर्न धेरै अप्ठेरो रहेछ । हामीले त एउटै ठाउँमा बसेर हुँदैन । विश्वभर सेवा दिन सबै कुरा हेरेर जानुपर्छ । अब नेपालमा एउटा शाखा राखेर विदेशमा मुख्य शाखा राख्ने सोचमा छौं ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर