हेटौँडामा सञ्चालित कार्टुन उद्योगमा आगलागी
हेटौँडा । हेटौँडा उपमहानगरपालिका वडा नम्बर-८ औद्योगिक भित्र रहेको कार्टुन उद्योगमा आगलागी हुँदा उद्योग र उद्योग भित्र रहेका सरसामान पूर्ण रूपमा नष्ट भएको छ ।
काठमाडौं महानगरपालिका वडा नम्बर-१९ बस्ने सञ्जीव मानन्धरले सञ्चालन गर्दै आएको हेल्पबक्स प्याकेजिंङ प्रालिद्वारा सञ्चालित कार्टुन फ्याक्ट्रीमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।
आगलागी हुँदा मानवीय क्षति नभए पनि फ्याक्ट्री पूर्ण रूपमा क्षति भएको, तत्काल के कति क्षति भएको भन्ने विवरण नखुलेको प्रहरीले जनाएको छ ।
उद्योगमा आगो के कारणले लागेको भन्ने विषयमा अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ । उद्योगमा लागेको आगो जनपथ प्रहरी, सशस्त्र प्रहरी र नगर प्रहरीले नियन्त्रणमा लिएका छन् ।