विस लिष्ट होइन, व्यवहारिक परियोजना प्रस्तुत गरौँ : प्रधानमन्त्री – Nepal Press

विस लिष्ट होइन, व्यवहारिक परियोजना प्रस्तुत गरौँ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रलाई विश्वासमा लिएर देशमा लगानीमैत्री वातावरण छ भनेर सन्देश प्रवाह गर्नुपर्ने बताएका छन् ।

नयाँ बानेश्वरस्थित लगानी बोर्डको कार्यालयमा आज बसेको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले विकास र समृद्धिका लागि निजी क्षेत्रलाई नियन्त्रण गर्ने नभई सहजीकरण गर्नुपर्ने बताए ।

‘निजी क्षेत्रलाई विश्वासमा लिएर विकासको नयाँ मोडेल तयार पार्नु छ’, प्रधानमन्त्री प्रचण्डले भने, ‘निजी क्षेत्रलाई विश्वासमा नलिएसम्म विकास हुँदैन, ⁠त्यसैले निजी क्षेत्रलाई कन्ट्रोल होइन, सहजीकरण गरौँ ।’

आजको विश्वमा ⁠विकासलाई नियन्त्रण गर्ने सोच ग्राह्य नहुने बताउँदै उहाँले विकासलाई प्रोत्साहन गर्ने नीति लिँदा मात्र जनताको चाहनालाई सम्बोधन गर्न सकिने भएकाले त्यसतर्फ लाग्न निर्देशन दिए ।

लगानी सम्मेलनलाई सफल तुल्याउनका लागि सबैले सकारात्मक भावमा काम गर्नुपर्ने बताउँदै प्रधानमन्त्री प्रचण्डले लगानी सम्मेलनमा ‘इच्छा सूची’ प्रस्तुत गर्नेभन्दा पनि ठोस र व्यवहारिक परियोजना प्रस्तुत गर्नुपर्ने बताए ।

‘लगानी सम्मेलनमा ‘विस लिष्ट’ होइन ठोस र व्यवहारिक परियोजना प्रस्तुत गरौँ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘⁠सम्मेलनअघि ऐन संशोधन गरेका छौँ, त्यसले लगानी बढाउन मद्दत गर्नेछ, त्यसैले पनि ठोस र व्यवहारिक योजनाहरू दिनुपर्छ, ⁠नयाँ सन्देश दिने गरी सम्मेलन गरौँ ।’

विकास परियोजनाको कामलाई सरलीकृत गर्नुपर्ने बताउँदै प्रधानमन्त्री प्रचण्डले ⁠केही राम्रो गर्न खोज्दा अप्ठ्यारा आए पनि त्यस्ता परिस्थितिलाई राजनीतिक नेतृत्वले तोड्न सक्नुपर्ने बताए ।

⁠नेपालमा स्टिल उद्योगलाई प्राथमिकता दिनुपर्ने बताउँदै प्रधानमन्त्री प्रचण्डले त्यस्ता उद्योग स्थापनका लागि गम्भीर भएर काम गर्नुपर्नेमा जोड दिए ।

उनले ⁠कृषिमा रोजगारी सिर्जना गर्नका लागि सिँचाइलाई प्राथमिकता दिन र ⁠विकासका काम रोकिएका भए अघि बढाउन निर्देशन दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *