कांग्रेसलाई रविको चुनौती- तिकडम गरेर सरकारमा पुगे पहिलो निर्णय मलाई थुन्ने गर्नुस् (भिडिओ)
‘मलाई नलखेटेको भए वडाध्यक्ष हुन्थे होला, धेरै लखेटेर उपप्रधान तथा गृहमन्त्री बनाइसके’
काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसलाई आफूविरुद्ध प्रमाण देखाउन चुनौती दिएका छन् ।
रास्वपाका सभापति समेत रहेका लामिछानेले इलामको चुलाचुलीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै कांग्रेस सरकारमा हुँदा आफूविरुद्ध छानबिन गरे पनि नसकेर मिडिया चलाएको दाबी गरे ।
उनले भने, ‘यीनै को सरकार भएको बेलामा होइन प्रहरी लगाएर छानबिन गरेको के ठग्यो ? कहाँबाट कसरी ठग्यो ? भएभरको सबै शक्ति लगाएर छानबिन गरेको होइन । नसकेपछि मिडिया चलाएको होइन र ? प्रमाण भेटिदा आफ्नै दलको त्यति ठूलो नेता बालकृष्ण खाणलाई घरबाट कठालो समातेर कोच्नेले मलाई माया गरेर छाडेका होलान् त ? केही भेटिए पो थुन्नु । म चुनौती दिन्छु यही तालले त तपाईँहरू कहिल्यै सरकारमा आउनुहुन्छ होला जस्तो अब लागेको छैन । त्यही पनि संख्याको खेल हो तिकडम गरेर सरकारमा पुग्नुहोला पुगेको दिनको पहिलो निर्णय सबैले गर्नुहोला मलाई थुन्ने भनेर थुन्नुस् तयार छु ।’
जनताले आशा र अपेक्षा गरेर आफूहरूलाई पार्टीलाई पठाएको बताए ।
उनले थपे, ‘लागेका आरोप लागिरहन्छन् तर जनताको मुद्दा बोकेर हिँडेका आफ्नो मुद्दामा धेरै चिन्ता लिनुपर्दैन जोगाउने जनता छन् । जनताले चाहे भने अगाडि बढाउँछन् । त्यसैले मिलनजी धेरै चिन्ता नगर्नुस् नलखेटेको भए म धेरै भए वडाध्यक्ष हुन्थे होला । धेरै लखेटेर यहाँ पुगेको छु । अब किन नलखेट भन्ने हेर्नुस् त लखेट्दाको फाइदा, लखेट्दा देशको उपप्रधान तथा गृहमन्त्री बनाइदिएका छन् । त्यसैले कृपया लखेट्ने कामलाई निरन्तरता दिनुहोला ।’