साेकेसका ठूला २ आयोजना मुगु कर्णाली र खिम्ती-ठोसे-शिवालय कस्ता हुन् ?
काठमाडौ । यही आइतबारदेखि २ दिनसम्म चल्ने लगानी सम्मेलनमा १४८ वटा आयोजना साेकेसका लागि स्वीकृत भइसकेको छ । जसमध्ये ठूला दुई आयोजनाका रूपमा ‘मुगु कर्णाली’ र खिम्ती-ठोसे-शिवालय जलाशययुक्त जलविद्युत आयोजना छन् । मुगु कर्णालीको लागत ५ खर्ब बढी र खिम्ती-ठोसे-शिवालयको करिब पौन ३ खर्ब लागत अनुमान रहेको लगानी बोर्डले जनाएको छ ।
लगानीकर्तालाई निम्तो दिइने आयोजनाहरूमध्ये अहिलेसम्म यी दुई ठूलो लागतको आयोजना भएको बोर्डका प्रवक्ता प्रद्युम्न उपाध्यायले बताए ।
यिनै ठूला दुई आयोजनाको बारेमा यहाँ संक्षिप्त जानकारी प्रस्तुत गरिएको छ ।
मुगु कर्णाली
जलविद्युतको भण्डारण गर्न डिजाइन गरिएको मुगु कर्णाली जलाशययुक्त जलविद्युत आयोजना बाजुरा जिल्लामा अवस्थित छ । मुगु कर्णाली १,९०२ मेगावाट क्षमताको आयोजना हो । यसको वार्षिक कुल ६ हजार २९१.८ गिगावाट परआवर उत्पादन क्षमता रहेको छ । ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयले १,९०२ मेगावाटको सर्वे लाइसेन्स पनि दिइसकेको छ । सम्भाव्यता अध्ययन पूरा भएपछि विद्युत उत्पादक कम्पनीले करिब एक वर्षअघि (२०२३ जुन २७ मा) जेनेरेशन लाइसेन्सको लागि विद्युत विकास विभागमा आवेदन दिएको छ ।
यो आयोजनाले वर्षायाममा ३ हजार ८७६.८ गिगावाट परआवर र सुख्खायाममा २ हजार ४१५ गिगावाट परआवर उत्पादन गर्ने क्षमता रहेको भनिएको छ । उत्पादित ऊर्जा खपत गरेर बढी भए निर्यात गर्ने लक्ष्य छ । यो आयोजना निर्माणपछि दिगो विकास र हरित ऊर्जाका लागि सहयोग गर्ने उल्लेख छ । यस आयोजनाको लागत ५ खर्ब ११ अर्ब लाग्ने प्रक्षेपण गरिएको छ ।
विद्युत विकास विभागले विकास गरिरहेको यस आयोजना वित्तीय व्यवस्थापनका लागि सम्मेलनमा राख्न लागिएको लगानी बोर्डका प्रवक्ता उपाध्यायले जानकारी दिए । यो परियोजनाको लागि ७५ प्रतिशत ऋण लगानी खोजिएको छ । ऋणको ब्याज १० प्रतिशत हुने उल्लेख छ । ऋण र सम्पत्तिको अनुपात ७५/२५ रहेको छ ।
मुगु कर्णालीको सन् २०२२ मै सम्भाव्यता अध्ययन गरिएको थियाे । सन् २०२४ मा फिजिबिलिटी अध्ययन र २०२५ मा ईआईए (वातावरणीय प्रभाव मूल्यांकन) हुने आयोजनाले बताएको छ । आयोजनाको पेब्याक अवधि (लगानी उठ्ने अवधि) ७.२५ वर्ष र डिस्काउन्ट पेब्याक अवधि ११.१० वर्ष रहेको छ । आयोजनाको कुल हेड २८५ मिटर हुनेछ ।
आयोजनाबाट ५ हजार ८८३.१ गिगावाट प्रतिघण्टा विद्युत उत्पादन हुने अपेक्षा गरिएको छ । जलविद्युत आयोजनामा फ्रान्सिस टर्बाइनका १० इकाइहरू छन् । आयोजनाको निर्माण सन् २०२९ बाट सुरु हुने अपेक्षा गरिएको छ । त्यसपछि सन् २०३३ सम्ममा व्यवसायिक सञ्चालनमा आउने उल्लेख छ ।
खिम्ती-ठोसे-शिवालय
आशयपत्र आह्वानका लागि राखिएको खिम्ती-ठोसे-शिवालय जलाशयुक्त जलविद्युत आयोजना १,२१६ मेगावाटको हो । यो सम्मेलनमा प्रदर्शनका लागि छनाेट भएकोमध्ये दोस्रो ठूलो आयोजना हो । रामेछाप र दोलखा जिल्लाको संगमस्थलमा रहेको उक्त आयोजनाको प्रारम्भिक अध्ययन सकिएको छ ।
बंगलादेशका लगानीकर्ताको चासोमा रहेको उक्त आयोजनामा अरुण ३ मोडालिटीमा बनाउन बंगालदेशका लगानीकर्ताले चासो दिएका थिए । दोलखाको जिरी नगरपालिका र रामेछापको गोकुलगंगा गाउँपालिकाको सीमा भएर बग्ने खिम्ती खोलामा बाँध बाँधेर यो आयोजना निर्माण हुनेछ । ठोसे शिवालयमा खिम्ती नदीमा ड्याम बनाएर विद्युत उत्पादन गर्न सकिने विद्युत विकास विभागको अनुमान छ । खिम्ती हिम नदी हो । यसको लागत २ खर्ब ८९ अर्ब ७७ करोड लाग्ने प्रक्षेपण गरिएको छ । सार्वजनिक निजी साझेदारी (पीपीपी ) मोडलमा बनाइने आयोजनाको पेब्याक पिरियड १९.३१ वर्ष रहनेछ ।
यसको फिजिबिलिटी अध्ययन २०२४ सेप्टेम्बरबाट थालिने ‘सोलिसिटेसन’ २०२५ अप्रिलमा हुने बताइएको छ । १,२१६ मेगावाट क्षमताको खिम्ती-ठोसे-शिवालय जलाशयुक्त जलविद्युत आयोजना बन्दा गर्जाङ देउराली भ्यालीको बस्ती विस्थापित हुनेछ । त्यस्तै अहिले सञ्चालनमा रहेका आयोजना प्रभावित हुनसक्ने देखिएको छ । बाँधको उचाइ २३१ मिटर हुनेछ । प्रस्तावित बाँधस्थल खिम्ती बजारबाट १० किलोमिटर माथि खिम्ती र तामाकोशीको संगमस्थल नजिक छ ।
खिम्ती बजार मन्थलीबाट १४ किलोमिटर उत्तरमा छ । खुर्कोट धुलिखेल मार्ग हुँदै काठमाडौंबाट करिब १०० किलोमिटर दूरीमा छ । रामेछापको शिवालय भन्ने स्थानमा ड्याम बनाएर करिब १४ किमि सुरुङमार्ग निर्माण गरेर विद्युत उत्पादन गरिनेछ । यस आयोजनाको वार्षिक ऊर्जा उत्पादन १४११.३५ गिगावाट परआवर हुनेछ ।
वर्षयाममा ८३.४८ गिगावाट परआवर र सुख्खायाममा १३२७.८७ गिगावाट परआवर उत्पादन हुने बताइएको छ । ग्रामीण क्षेत्रसँग जोडिएर दुर्गममा विद्युतको पहुँच पुर्याउनु, बाढी नियन्त्रण गर्दै जलस्रोत व्यवस्थापनका लागि सहयोग गर्नु यो आयोजनाको उद्देश्य हो । यो आयोजना निर्माणका लागि ८ वर्ष लाग्ने अनुमान छ ।