लुम्बिनीका पहाडी जिल्लामा डढेलोको मुस्लो, तराईमा निरन्तर तातो हावाले जनजीवन प्रभावित – Nepal Press

लुम्बिनीका पहाडी जिल्लामा डढेलोको मुस्लो, तराईमा निरन्तर तातो हावाले जनजीवन प्रभावित

रुपन्देही । वैशाख लागेसँगै लुम्बिनी प्रदेशका तराईका ६ जिल्लामा तापक्रम बढ्दै गएको छ । पहाडी जिल्लाका अधिकांश वन क्षेत्रहरूमा निरन्तर डढेलोले जनजीवन प्रभावित बनेको छ ।

तराईका ६ वटै जिल्लामा केही दिनयता ४० डिग्री भन्दामाथि तापक्रमसँगै तातो हावा चलेको छ । अहिलेसम्म रुपन्देहीमा सबैभन्दा बढी तापक्रम ४३ डिग्रीसम्म पुगेको छ ।

जल तथा मौसम विज्ञान विभागले लुम्बिनी प्रदेशका तराईका केही स्थानमा विगत केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा बढी मापन गरिएको जनाएको छ ।

अत्यधिक गर्मीमा घरबाहिर ननिस्कन विभागले अनुरोध गर्दै आगामी केही दिनसम्म तापक्रम बढ्ने सम्भावना रहेकाले गर्मीबाट बच्न आवश्यक तयारी तथा सतर्कता अपनाउन अनुरोध गरेको छ ।

पछिल्लो दुई सातायता तापक्रम उच्च भइरहँदा तराईका जिल्लाहरूमा जनजीवन अस्तव्यस्त बनेको छ । तातो हावा अर्थात् ‘लू’ चल्दा सबैभन्दा बढी दैनिक ज्यालादारीमा काम गर्ने मजदुर प्रभावित छन् ।

‘लू’ का कारण अस्पतालहरूमा बिरामीको चाप बढिरहेको छ भने हावाहुरीले आगलागीबाट दिनहुँ क्षति बढिरहेको छ । २०८१ सालको सुरुवाती अवस्थादेखि नै देशभरको तापक्रम बढे पनि तराईका जिल्लाहरूमा ४४ डिग्री सेल्सियससम्म तापमान मापन गरिएको छ ।

तीव्र गति र तातो हावा ‘लू’ चल्दा तराईवासीको जनजीवन कष्टकर भइरहेको र हावाहुरीले ठाउँ ठाउँमा आगलागीका घटनाहरू बढेको वातावरण विज्ञ युवराज कँडेल बताउँछन् ।

गर्मी बढ्दै जाँदा सडकहरू सुनसान हुँदै गएका छन् भने अस्पतालमा बिरामीको चाप बढेको छ । तातो हावाकै प्रभाव उच्च हुँदा देशभरका अस्पतालमा बिरामीको चाप पनि बढिरहेको छ ।

फिजिसियन डा. नन्दु पाठकले गर्मीमा प्रशस्त मात्रामा पानी पिउनु पर्ने बताएका छन् ।

‘गर्मीको प्रभाव धेरै बालबालिका, दम, क्यान्सर र दीर्घ रोगीमा पर्ने भएकाले विशेष ध्यान दिनु पर्छ । स्कुलले विद्यार्थीहरूलाई टिफिन टाइममा पनि बाहिर निस्कन दिनु हुँदैन’ उनले भने, ‘सकेसम्म सबै शीतल ठाउँमा बस्नु पर्छ । दैनिक रूपमा ५ लिटर पानी पिउनु पर्छ ।’

तातो हावा तथा तातो लहरबाट थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्ता हुनसक्ने भएकोले घरभित्रै रहने, बाहिरी वातावरणमा बढी नजाने, घाममा बढी नबस्ने, हल्का सुती कपडा लुगा लगाउने, बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने, पटक-पटक पानी तथा जुस, सर्बतलगायत प्रशस्त मात्रामा तरल पदार्थ पिउने र स्वास्थ्य समस्या भएमा स्वास्थ्यकर्मी नियमित सम्पर्कमा रही सुझाव लिनुपर्ने डा. पाठकले बताए ।

चैत-वैशाख महिना भनेको वसन्त ऋतुको महिना हो । यो महिनालाई जाडो र गर्मीको सन्तुलन अर्थात् अनुकूल वातावरण भएको महिना मानिए पनि जलवायु परिवर्तनका कारण उत्पन्न बेमौसमी गर्मीले जनजीवन प्रभावित तुल्याएको र यस्तो उच्च प्रभाव परेको विज्ञहरूको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *