उपनिर्वाचन नतिजाले दिएको यी ५ सन्देश
भर्खरै प्रतिनिधिसभा र प्रदेशसभाको एक-एक रिक्त सीटमा उपचुनाव सम्पन्न भयो । यसअघि नेपाल प्रेसमै मैले आलेखमा इलाम २ मा सुहाङ नेम्वाङले जित्ने केही तथ्यसहितका दाबी पेश गरेको थिएँ । अहिले नतिजा आइसकेको छ । बझाङ र इलाम दुवैमा नेकपा एमालेका उम्मेदवारको जित भयो ।
इलाममा एमाले र रास्वपाको प्रतिस्पर्धा हुन्छ भन्ने भाष्य व्यापक रूपमा सामाजिक सञ्जालमा हावी हुँदै गर्दा पनि मैले सो भाष्यलाई त्यति महत्व नदिएकै हो । किनकि राजनीति समाजशास्त्र हो र यसको विश्लेषणमा मानिसको व्यवहारिक पक्षको अध्ययन जरुरी हुन्छ । उपनिर्वाचनको नतिजाले दिएको सन्देशबारे यो सामग्रीमा विश्लेषण गरेको छु ।
रुचाइएको एमाले नीति
पूर्व र पश्चिम दुई फरक भूगोलमा समान नतिजा आउनुले नेपाली जनताले एमालेको मार्गदर्शक सिद्धान्त माक्र्सवाद र जनताको बहुदलीय जनवादलाई खुबै रुचाएको प्रमाणित हुन्छ । २०७९को आमनिर्वाचन एमाले अस्तित्व रक्षाको कसीमा थियो जसमा चौतर्फी घेराबन्दीका बाबजुद जनताको लोकप्रिय पार्टीकारूपमा एमाले स्थापित भयो । नेपाली जनता समाजवाद, कल्याणकारी राज्यको अवधारणा र लोकतन्त्रका पक्षपाती हुन् । जनताको बहुदलीय जनवाद नेपाली जनताले चाहेको प्याकेज सिद्धान्त हो । यसले लोकतान्त्रिक प्रतिस्पर्धालाई स्वीकार्छ । श्रमका क्षेत्रमा गरेका काम, योगदानमा आधारित सामाजिक सुरक्षाको अवधारणा र कानून, भूमि बैंक, वृद्ध भत्ता, एकल महिला भत्ता, आफ्नो गाउँ आफै बनाउँ जस्ता सामाजिक कार्यक्रमहरू कल्याणकारी राज्यका अवधारणाका सूत्रपात मात्र होइनन्, समाजवाद उन्मुख राष्ट्र निर्माणका लागि आधार निर्माण गर्ने अस्त्र पनि हुन् । एमालेको नीतिलाई जनतालो पटकपटक समर्थन गरेकै हुन् तर यसपटक त्यसलाई प्रतिकूल अवस्थामा पनि जनताले फेरि पनि अनुमोदन गरेका छन् ।
सहअस्तित्व र समावेशीताको स्वीकार्यता
कोशी प्रदेशको नामकरणमा मात्र होइन एमालेले सधैँभरि सहअस्तित्व र समावेशीताको राजनीतिलाई पहिलो प्राथमिकता दिएकै हो । भोटको भन्दा पनि सत्यको राजनीतिलाई बढी महत्व एमालेले दिएको छ । यसका अध्यक्ष केपी ओलीले धेरै जसो ठाउँमा भन्ने गरेका छन्- ‘शक्तिसँग नझुक्ने, सत्यसँग नलड्ने’ । सहअस्तित्व र समावेशीतामा अडान लिँदा केपी ओली र एमालेलाई मधेशमा खुट्टा राख्न नदिने भन्नेसम्मको हर्कत अतिवादीहरूले गरेकै हुन् । समयसँगै त्यो चिरिएको छ र आज मधेशमा एमाले सबैभन्दा ठूलो पार्टीकारूपमा स्थापित हुन पुगेको छ । कोशीमा पनि एकल पहिचानवादीहरूले एमालेलाई नै शत्रु घोषण गरेका थिए । सो भाष्यलाई एमाले र ओलीले झुलाघाट चिवाभञ्ज्याङ मध्य पहाडी लोकमार्ग यात्राकै क्रममा चिरिसकेका हुन् । तर, जनअनुमोदन हुन बाँकी थियो ।
इलाम २ मा जुन किसिमको नतिजा आएको छ त्यसले एमालेले लिएको सहअस्तित्व र समावेशीताको अडानलाई जनताबाट अनुमोदन गरिदिएको छ । कांग्रेसले सत्ताका लागि कहिले पहिचानवादी जस्तो देखिने तर चुनावमा भने जातीय भोट बाँडिँदा गैर जनजातीय भोटले जित्ने रणनीति लियो । रास्वपाले पनि पहिचानको मुद्दालाई राजनीतिक स्टन्टका रूपमा प्रयोग गर्न प्रयास गर्यो । जनताले यस्तो चुनाव केन्द्रित स्टन्टलाई ठाडै नकारिदिएका छन् । सहअस्तित्वको कुरा उठाउने एमाले र यसका उम्मेदवारलाई झण्डै ५० प्रतिशत मत दिएका छन् ।
नेतृत्वमा रुचाइएका केपी ओली
एमालेका अध्यक्ष केपी ओलीलाई चौतर्फी घेराबन्दी गरिएको थियो । विपक्षीले तानाशाहको संज्ञामात्र दिएन पार्टीलाई एकपटक परमादेशले फुटायो भने अर्को पटक अलोकतान्त्रिक अध्यादेशको माध्यमबाट फुटाइयो । त्यति मात्र नभएर २०७९ को आम निर्वाचनमा फुटेको एमालेविरुद्ध ६ पार्टी एक भएर लागे । देशका धेरै मिडिया र सामाजिक सञ्जाल पनि एकलौटीरूपमा एमाले र केपी ओलीका विरुद्ध लगातार भाष्य निर्माण गर्न लागिपरे । भूराजनीतिको राप पनि केपी ओलीले नै खेप्नुपर्यो । पहिचानवादीहरूले पनि केपी ओलीलाई नै आफ्नो शत्रु घोषणा गरे । पुरातनवादी शक्तिहरू पनि एमाले र केपी ओलीलाई कमजोर बनाउन सके आफ्नो एजेण्डा स्थापित गर्न सकिने बुझाइमा रहे । काठमाडौंका मेयर बालेनदेखि पछिल्लो चरणमा उग्रराजावादी अवतारमा उत्रिएको राप्रपाले पनि केपी ओलीलाई नै प्रहार गरिरहे । तर, यी सबै चौतर्फी आक्रमणका बाबजुद केपी ओलीको नेतृत्व र सक्रियतालाई जनताले २०७९ मा पनि अनुमोदन गरेका थिए भने हाल भएको उपनिर्वाचनमा पनि फेरि अनुमोदन गरेका छन् ।
यसले पार्टीभित्र केपी ओलीलाई थप बलियो बनाएको छ भने उनले प्रतिपादन गरेको समृद्ध नेपाल सुखी नेपालीको अवधारणालाई जनताको तहबाट पूर्ण अनुमोदन गरेको छ ।
वामपन्थी आन्दोलनमा जनघोषणा
हालको उपनिर्वाचनको नतिजाले वामपन्थी आन्दोलनमा जनताले नयाँ घोषणा गरेका छन् । वामपन्थी आन्दोलनको मुख्य शक्ति जनताले एमाले नै भएको घोषणा गरेका छन् । एमालेबाट टुक्रिएको माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीका र पार्टीभित्रै रहेर पार्टी हितविरुद्ध हर्कत गरिरहेका भीम रावललाई जनताले ठाडै अस्वीकार गरेका छन् । एमाले हराउन हर सम्भव कोसिस गरेका दुवैले जनताबाट कुनै पनि सान्त्वना प्राप्त गर्न सकेनन् । एकीकृत समाजवादीको जमानत दुवै ठाउँमा जफत भएको छ । सुदूरपश्चिममा बलियो भनिएको समाजवादी र जनमत आफ्नो पक्षमा रहेको दावी गर्ने भिम रावल दुवै असफल भएका छन् । एमालेले दुवै ठाउँमा प्रतिकूलताका बाबजुद सानदार जित हासिल गरेको छ । केही समय भ्रममा पारिएका असल वामपन्थी योद्धाहरू एमालेमै संगठित हुनुको विकल्प छैन । सायद यो बुझिसकेका माओवादीका अध्यक्ष तथा सम्माननीय प्रधानमन्त्रीले एमालेसँगको सहकार्यको नीति अपनाएको हुनुपर्छ ।
स्थिरताको चाहना
जनताले दुईदलीय प्रतिस्पर्धामार्फत राजनीतिक स्थिरता खोजेको यो उपनिर्वाचनबाट प्रष्ट हुन आउँछ । ससाना धेरै दलका कारण अस्थिरता निम्तिएको कुरालाई बुझेको संकेत गर्दै बलियो राष्ट्रिय शक्ति आजको आवश्यकतामा जोड दिएका छन् । विभिन्न प्रोपागान्डा र नियोजित षड्यन्त्रका बाबजुद जनताले लोकतन्त्रको संस्थागत र राजनीतिक स्थिरताको चाहना प्रकट गरेका छन् । अब आउने निर्वाचनमा ससाना पसल थापेर बार्गेनिङ गर्ने युगको अन्त गर्दै दुई धारको राजनीति र बलियो राष्ट्रिय शक्ति निर्माणमा आफ्नो मत केन्द्रित हुने सन्देश जनताले दिएका छन् ।
समग्रमा भन्नुपर्दा जनताले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै राजनीतिक स्थिरताको बाटो रोजेका छन् । जता जाँदा पनि राजाका पछि मान्छे भनेर भाष्य निर्माण गरिरहेका राजावादीहरूलाई जनताले अब व्यवस्था परिवर्तनको षडयन्त्रमा नलाग्न स्पष्ट चेतावनी पनि यसै उपनिर्वाचनबाट दिएका छन् । यसै संविधानलाई संस्थागत गर्न आफूहरू अघोषित दुई पार्टी मोडालिटी अपनाउन चाहेको पनि जनताले सन्देश दिएका छन् । आउँदा दिनमा कुनै निम्न स्तरको षड्यन्त्र नभए राजनीति दुई धारमा मात्र बाँडिने स्पष्टै छ ।
पहिलो वामपन्थी धार जसको नेतृत्व एमालेले गर्नेमा अब दुई राय रहेन । अरु वामपन्थी शक्तिहरूले एमालेसँग सहकार्य गर्नुको विकल्प छैन । यो जनादेशनै भइसकेको छ । दोस्रो नवउदारवादी धार जसको नेतृत्व अब रास्वपाले नसक्ने प्रष्ट हुँदा कांग्रेसनै यस धारको नेतृत्वकर्ता हुने पक्का भएको छ । सायद लोकतन्त्रको सुन्दरता यही हो कि जनताले गोप्य मतदानको अधिकारबाट आफ्नो चाहना स्पष्ट व्यक्त गर्ने गर्छन् । यसलाई बुझेर त्यस अनुसारको राजनीतिक बाटो पहिल्याउन सके मात्र राजनीति दिगो हुन सक्छ । नत्र राजनीति कतिसम्म निर्मम हुन्छ भने भगवान् विष्णुकै अवतार भनिने राजाहरूले पनि राज्यसत्तै त्याग्नु परेको छ । जनताको चाहनाअनुसार चल्न नसक्ने पार्टी या राजनीतिकर्मीहरू इतिहासका पानामा विलय भएर जान्छन् ।