आर्थिक शिथिलता सुधार हुँदै गएपनि ढुक्क हुने अवस्था छैन : अर्थमन्त्री पुन (भिडिओ)
काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले मुलुकको आर्थिक शिथिलता सुधार हुँदै गएपनि ढुक्क हुने अवस्था नरहेको बताएका छन् ।
बुधबार काठमाडौंमा आयोजित दिगो आर्थिक विकासका लागि वित्त नीति विषयक कार्यक्रममा मन्त्री पुनले आर्थिक तथा बाह्य कारणले देखिएको आर्थिक शिथिलता सुधार हुँदै गएको भएपनि ढुक्क हुने अवस्था नरहेको बताएका हुन् ।
उनले विभिन्न तथ्यांकहरुको आधारमा गत वर्षभन्दा सुधार देखिएको जिकिर गरे । आर्थिक वर्ष सकिन तीन महिना बाँकी रहेको अवस्थामा यस वर्ष साढे चार प्रतिशत भन्दामाथि आर्थिक वृद्धि हुने मन्त्रालयको अनुमान रहेको उनले बताए ।
मन्त्री पुनले जलविधुत लगाएतका क्षेत्रमा केही राम्रो देखिएपनि निर्माण क्षेत्रमा भने केही समस्या देखिएको धारणा राखे ।
उनले किसानहरुलाई प्रोत्साहन गर्ने गरि आगामी कार्यक्रम ल्याउने बताए । आगामी नीति कार्यक्रम, बजेट र मौद्रीक नीतिलाई मिलाएर लैजाने र जनतामा आशा जगाउने काम गर्ने उनको भनाइ छ ।