नेपालले विश्वकप स्क्वाड घोषणा गरेको दिन फेसबुकमा सन्दीपको अर्थपूर्ण इमोजी
काठमाडांै । आज नेपालले टी-२० विश्वकपका लागि स्क्वाड घोषणा गर्दा स्टार बलर सन्दीप लामिछाने छुटे । अदालतमा मुद्दा चलिरहेको हुँदा उनी मिस हुनु अनपेक्षित थिएन ।
लामो समयदेखि नेपाली क्रिकेटको सेवा गरेका र नेपाललाई यो स्थानमा पुर्याउन भूमिका खेलेका सन्दीप विश्वकप जस्तो महत्वपूर्ण इभेन्टमा भने अनुपस्थित बन्ने भएका छन् ।
उनको नाम स्क्वाडमा नहुँदा क्रिकेट समर्थकहरुले पनि खल्लो मानेको देखिन्छ । क्यानले गरेको पोस्टमा अधिकांशले सन्दीपको नाम लिएका छन् र उनको न्यायको माग गरेका छन् ।
सन्दीपको मुद्दा उच्च अदालतमा विचाराधीन छ । मुद्दाको फैसला भएर सफाइ नपाउँदासम्म क्रिकेटबाट सन्दीप टाढा रहनेछन् । विश्वकपको स्क्वाड घोषणा अगाडि उच्च अदालतबाट सन्दीपले सफाइ पाउने फ्यानहरुले अपेक्षा गरेका थिए ।
तर, त्यस्तो भएन । विभिन्न बहानामा उच्च अदालतका न्यायाधीशले सुनवाइ पछि धकेल्दै जाँदा पहिलोपटक टी-२० विश्वकप खेल्ने सन्दीपको सपना चकनाचुर बनेको छ ।
आफू क्रिकेटबाट टाढा भए पनि सन्दीपले नेपाली क्रिकेटलाई भने चासोका साथ पछ्याइरहेका छन् । उनी मोबाइलबाट हरेक खेलको अपडेट लिइरहेका हुन्छन् । वेस्ट इन्डिजसँगको दोस्रो टी-२० म्याच हेर्न उनी मैदानमै पुगेका थिए ।
आज नेपालको स्क्वाड घोषणा भएपछि सन्दीपले सामाजिक सञ्जालमा एउटा इमोजी पोस्ट गरेका छन् । इमोजी सामान्य तर अर्थपूर्ण छ । त्यसमा उनले केही पनि शब्द लेखेका छैनन् ।
सन्दीपको उक्त इमोजीमा हजाराैं कमेन्टहरु आइरहेका छन् । अधिकांशले उनलाई हिम्मत नहार्न सुझाव दिएका छन् । कतिले चाहीँ अदालतबाट तुरुन्तै सफाइ पाएर अझै पनि विश्वकपमा देख्न पाउने आशा व्यक्त गरेका छन् ।