‘जारी’ को कमाइले ३ करोडको घडेरी किनेका उपेन्द्र सुब्बाले ‘मनसरा’ बाट ठड्याउलान् घर ?
काठमाडौं । उपेन्द्र सुब्बा निर्देशित नयाँ चलचित्र ‘मनसरा’ आजबाट देशव्यापी प्रदर्शनमा आएको छ । डेब्यू फिल्म ‘जारी’ ब्लकबस्टर भएपछि सुब्बाको यो दोस्रो निर्देशकीय प्रोजेक्ट हो ।
जारीले निर्माताहरुलाई राम्रै फलिफाप गराएको थियो । चानचुन साढे तीन करोड रुपैयाँमा निर्माण भएको सो फिल्मले देशभित्रबाट मात्रै १७ करोड रुपैयाँभन्दा बढीको व्यापार गर्यो । देशबाहिर पनि चलचित्रको कमाइ उल्लेख्य थियो ।
जारीका मुख्य निर्माता रामबाबु गुरुङ हुन् । यद्यपि, अभिनेता दयाहाङ राईदेखि निर्देशक उपेन्द्र सुब्बाले पनि सेयर पाएका थिए । निर्माताका रूपमा रामबाबुले मोटो कमाइ गर्ने नै भए, उपेन्द्रलाई पनि आर्थिक रापताप राम्रै प्राप्त भएको थियो । उपेन्द्रले जारीको कमाइबाट काठमाडौंमा जग्गा जोडेका छन् ।
निकट स्रोतका अनुसार जारीबाट करिब साढे तीन करोड रुपैयाँ उपेन्द्रको खल्तीमा परेको थियो । त्यसमध्ये तीन करोड बढी रकममा उनले ललितपुरको नखिपोटमा झण्डै ६० लाख रुपैयाँ प्रतिआनामा ५ आना घडेरी खरिद गरेका हुन् । उनले यहाँ घर ठड्याउन भने सकेका छैनन् ।
मनसरामा आइपुग्दा भने रामबाबु र उपेन्द्र छुट्टिए । रामबाबुले निर्माण गरेको ‘डिग्री माइला’ मा उपेन्द्र संलग्न भएनन् । त्यसको पटकथा लेखनमा भने उनको योगदान थियो । डीग्री माइलाले औसत मात्रै व्यापार गरेर जेनतेन लगानी उठायो ।
उपेन्द्रको मनसरामा चाहिँ रामबाबु संलग्न छैनन् । त्यसैले यो चलचित्र उनका लागि एउटा चुनौतीका रूपमा समेत रहेको छ आफूलाई प्रमाणित गर्ने । रामबाबुबिना पनि हिट चलचित्र दिन सक्छु भनेर साबित गर्नु छ उनलाई ।
‘मनसरा’ को प्रिमियरमा उपस्थित भएकाहरूले चलचित्रको खुलेर प्रशंसा पनि गरे । यद्यपि, प्रिमियरमा प्रशंसा पाउनु औपचारिकता मात्रै हो । मुख्य त दर्शकले कति साथ दिन्छन् भन्ने हो । जारीबाट घडेरी जोडेका उपेन्द्रले मनसराबाट घर ठड्याउन सक्लान् त रु केही दिनमै थाहा हुनेछ ।