भविष्य हाइड्रोजनको हो, यसले पेट्रोलियम र विद्युत दुवैको काम गर्छ: डा. विराजसिंह थापा
काठमाडौं । गत चैत १८ गते काठमाडौं विश्वविद्यालयले नेपालमा पहिलो पटक हाइड्रोजन उत्पादनको सफल परीक्षण गरेको थियो । नेपालमा पहिलो हाइड्रोजन कार भित्र्याएको काठमाडौं विश्वविद्यालयले उक्त परीक्षणबाट पहिलो पटक हाइड्रोजन हालेर कार चलाएको थियो ।
उक्त सफल परीक्षणपछि नेपालमा पनि हाइड्रोजनको सम्भावना छ भन्ने देखाएको छ । नेपाल हाइड्रोजन बनाउन अहिलेसम्मकै बढी सम्भावना भएको देशमा पर्छ । जसको प्रमुख कारण यहाँको जलविद्युत हो ।
अहिले सरकारले हाइड्रोजन प्रविधिका लागि कानूनी व्यवस्था गरेको छैन । विश्वभर डिजेल/पेट्रोलको विकल्पको रुपमा रहेको हाइड्रोजन नेपालमै उत्पादन भई प्रयोगमा आउने आशा पलाएको छ । नेपालमा हाइड्रोजन उत्पादनको सम्भावना, अवस्था र कानूनी बाटोलगायतका विषयमा काठमाडौं विश्वविद्यालयका नेपाल हाइड्रोजन इनिसियटिभ्सका परियोजना प्रमुख तथा एसोसिएट प्रा.डा. विराजसिंह थापासँग गरिएको संवाद नेपाल टकमाः
– अहिले अगाडि आएको हाइड्रोजन गाडीको प्रविधिप्रति उपभोक्ताहरुको चासो कस्तो देखिन्छ ?
हाइड्रोजनको प्रविधिमा सर्वसाधारणदेखि व्यवसायीहरुसम्मले चासो देखाएका छन् । किनभने हाइड्रोजन विषय आफैंमा नयाँ र भविष्य भएको प्रविधि हो । नयाँ प्रविधि भएकोले पनि नयाँ उत्साह र चसो सबैतिर देख्न सकिन्छ । नेपालमा पेट्रोलियमको रिप्लेसमेन्ट हाइड्रोजनले गरेको सबैले हेर्न चाहेका छन् । हामीले भर्खर सम्पन्न भएको हाइड्रो एक्स्पोमा पनि हाइड्रोजन गाडीप्रति सबैले चासो देखाएको पायौं । जुन प्रोत्साहन गर्ने खालको उपस्थिति र चासो हामीले पायौं ।
– अहिले चर्चामा रहे जस्तो हाइड्रोजनले कस्तो सम्भावना बोकेको छ ?
पाँचदश वर्षपछि विस्तारै छोटो दूरीमा चल्ने पेट्रोलियम र विद्युतीय सवारीसाधनले हाइड्रोजन खोज्ने अहिलेको प्रक्षेपण हो । जसमा टोयटा, होण्डा र किया जस्ता कम्पनीहरु विद्युतीयमा नभएर हाइड्रोजनमा फोकस भइरहेका छन् । बीएमडब्ल्यूले इलेक्ट्रिकमा नजाने सीधै हाइड्रोजनमा जाने भनेको छ । कियाले पनि हाइड्रोजन कम्पल्सरीअन्तर्गत हाइड्रोजन गाडी निकालेको छ ।
अधिकांश कम्पनीले भविष्यका लागि हाइड्रोजन नै फिजिबल हुन्छ भनेर त्यतातिर लागिरहेका छन् । त्यसकारण सर्ट टर्म इलेक्ट्रिक भेइकलको मार्केट हेर्ने कि लङटर्म हाइड्रोजनको मार्केट हेर्ने । अर्थात केही समयका लागि चर्चा कमाएको इलेक्ट्रिक सवारीसाधनको बजारतिर लाग्ने कि भविष्यको आशातिर लाग्ने ?
अहिले बजारमा उदाइरहेका विभिन्न विद्युतीय गाडीहरु भनेको ५-७ वर्षका लागि मात्रै हुन् । यिनीहरु सर्टटर्म गाडीहरु हुन । लङटर्म भनेको हाइड्रोजनमात्रै हो । धेरैजसो गाडी कम्पनीहरु पनि लङ टर्म मार्केट हाइड्रोजन भन्नेमा विश्वस्त छन् ।
– हाइड्रोजन गाडी पनि बाहिरबाट आयत गर्नुपर्ने अवस्था छ । नेपालै हाइड्रोजनबाट गाडी सञ्चालन गर्न सक्यौं भने पनि हाइड्रोजनको बजार कसरी बुम हुन्छ ? त्यसका लागि राज्यले के कस्तो खालको सहयोग गर्नुपर्छ ?
पहिले त सरकारले के बुझ्न जरुरी छ भने सर्कुलर इकोनोमी कन्सेप्टबाट हाइड्रोजन उठेको हो । त्यसको पर्यावरण भएन, जीवाष्म इन्जन, पेट्रोल, डिजल पहिला बालेर वातावरण खत्तम पारेर मानव सभ्यता नै नाश हुने हो कि भन्ने अवस्थामा पुग्दा पनि जीवाष्म इन्धनमा निर्भर रहने समाज भनेको कमजोर समाज हो । त्यसैले पहिले सरकारले भन्दा पनि नेपाली समाजले बुझ्नुपर्यो, नेपालीहरुले बुझ्नुपर्यो कि हामीहरु पनि पेट्रोलियम इन्धनबाट बाहिर निस्कनैपर्छ ।
पैसा तिरेर विषयुक्त सास फेर्ने कि थोरै पैसा बढी तिरेर शुद्ध सास फेर्ने ? पैसा छ भने तिर्ने हो । यत्रो पैसा पेट्रोलमा खर्च गरिरहेका छौं । अहिलेको समाजले शुद्ध हावामा सास फेर्न अलिकति थोरै पैसा बढी तिर्नसक्ने अवस्था छ । हो, यही फिलोसफीबाट हाइड्रोजनको कन्सेट आएको हो । अहिले पनि कोइला डिजेल/पेट्रोल नै सस्तो छ । तर पनि इलेक्ट्रिक गाडी चढिरहेका छौं । त्यसलाई सबैले बुझ्नुपर्छ ।
अर्को कुरा, नेपालको पैसा पेट्रोल किन्न डलरमा बाहिर गइरहेको छ । विदेशबाट रेमिट्यान्स भएर नेपाल आउने अनि पेट्रोल किन्न त्यही बाहिर जान्छ । भनेपछि आएको रेमिट्यान्स त खाली भइरहेको छ । त्यसको सट्टा नेपालमै उत्पादन भएको बिजुली, नेपालकै पानीबाट हाइड्रोजन निकाल्यौं भने कमसेकम डलर त बाहिर जाँदैन । नेपालबाट पैसा बाहिर गएन भने त्यसबाट नेपालमा रोजगारी बढाउन सकिन्छ । होलसेलदेखि उद्योगमा हाइड्रोजन चाहिन्छ । हाइड्रोजन महँगो भए पनि त्यो पैसा नेपालमै रहन्छ । यसलाई हामीले बुझ्नुपर्छ ।
हामीले डिजेल तथा पेट्रोलमा ३०० अर्ब बाहिर पठाइरहेका छौं । अब हामीले बाहिर पठाउने त्यो ३०० अर्ब भन्दा बढी बाहिर पठाउने कि नेपालमै घुमाउने ? यो कुरा हामीले बुझ्नु्पर्छ । नेपालमै हाइड्रोजन उत्पादनले उद्योग तथा रोजगारहरु सृजना हुन्छन भन्ने कुरा पनि बुझ्नुपर्छ । लङ टर्ममा सरकारलाई त्यो पैसा फिर्ता पनि आउँछ । यो इकोनोमीमा जानुपर्छ । त्यसका लागि इनिसियल इन्भेष्टमेन्टमा सरकारले सपोर्ट गर्नुपर्छ । चाहे त्यो कर कम गरेर होस् या सब्सिडीबाट होस् । चाहे त्यो, क्यापिटल इन्भेष्टमेन्टमा सब्सिडी होस्, चाहे त्यो जमिन, भाडा तथा विद्युतमा सब्सिडी होस् । यसरी सरकारले सहयोग गर्यो भने त्यसबाट एउटा इकोसिस्टम बन्छ र त्यसले मार्केटलाई ड्राइभ गर्नेछ ।
आज हाइड्रोजन आफैंमा फिजिबल छैन । हाइड्रोजनभन्दा डिजेल पेट्रोल नै फिजिबल छ । तर, फिजिबल छ भन्दैमा त्यतैतिर जानुपर्छ भन्ने हुँदैन । कुनै पनि कुराले भविष्यमा हामीलाई असर गर्छ भने त्यसको निराकरण र विकल्प खोज्नुपर्छ । नाकि फिजिबल छ भन्दैमा नोक्सानी पुर्याउने कुरामै लाग्नुहुँदैन । मेरो विचारमा हाइड्रोजन अगाडि बढ्छ र बढ्नुपर्छ । आज हामीले हाइड्रोजनमा जान सकेनौं भने भोलि अरु सबै जाँदा हामीले पनि त्यसमा बाध्य भएर जानैपर्छ ।
– एक केजी हाइड्रोजनको उत्पादन मूल्य कति पर्छ ? भविष्यमा नेपालीहरुले यसलाई कति तिर्नुपर्ने हुन्छ ?
नेपालकै सन्दर्भमा यति नै भनेर यकिन गर्न सकिन्न । धेरै कुरा अझै अनुसन्धानमा छ । विश्वव्यापी रुपमा हेर्दा आजको दिनसम्म औसतमा हाइड्रोजनको मूल्य प्रतिकिलो ५ डलर पर्न जान्छ । अर्थात करिब ६-७ सय जति पर्यो । जुन सन् २०३० सम्म ३ डलरमा झर्ने प्रक्षेपण गरिएको छ । कुनै कुनै रिसर्चरहरुले १ डलरसम्म यसको मूल्य झर्ने दाबीसमेत गरेका छन् । विश्वभर हाइड्रोजनको प्रयोग र अनुसन्धान बढ्दो क्रममा छ । हाइड्रोजनको मूल्य पनि घट्दैछ । विश्वमा प्रविधिहरु पनि एड्भान्सभन्दा एड्भान्स आउँदैछ ।
टोयटा मिराइका कारहरु साढे ६ किलाेग्राम हाइड्रोजन हालेर १३ सय किलोमिटर चल्छ । हुण्डाइका ट्रकहरु १० किलोग्राम हाइड्रोजन हालेर १ हजार किलोमिटर चल्छ । अब हाइड्रोजनले एकै पल्टमा हजार किलोमिटर चल्यो । यहाँ एकै पटकमा हजार किलोमिटर चल्दा बीचमा कतै चार्ज गर्नुपरेन ।
साथै अत्यधिक लोडसम्म बोकेर चल्नसक्छ । तुलनात्मक रुपमा हेर्दा अहिले पनि पेट्रोल र डिजेलभन्दा सस्तो हुन्छ । यता रिसर्चहरुले दाबी गरे जस्तै १ डलरमा एक किलोग्राम हाइड्रोजन आयो भने त्यसको कुनै तुलना नै हुँदैन । एक डलरमा हाइड्रोजनको मूल्य झर्ने व्यवसायले कुरिरहेको अवस्था हो ।
– हाइड्रोजनको उत्पादन कस्तो छ, यसको प्रयोग कसरी हुन्छ ?
अहिलेको प्रविधि हाइड्रोजनमा ‘फ्युल सेल’ प्लाटिनियम भन्ने हुन्छ । त्यो टेक्नोलोजीलाई ट्रान्जिट गर्दैछौं । अब हाइड्रोजन ‘कम्बसन इन्जिन’ आउनेवाला छ । जस्तै, अहिले पेट्रोल बल्छ । फ्युल सेलमा हाल्नुपर्छ । फ्युल सेलको टेक्नोलोजी प्लाटिनियममा आधारित हुन्छ । त्यो पनि प्लाटिनियमबाट बाहिर निस्कियो । अब हाइड्रोजन कम्बर्सनमा जान्छ ।
अब भविष्य भनेको हाइड्रोजनकै हो । ट्रान्सपोर्ट सेक्टरमा कम्बसर्नन इन्जिन आउँछ । जस्तो पेट्रोल जलेर इन्जिन चल्छ । हाइड्रोजन बलेर चल्छ । तर, त्यसमा धुवा भनेको वाटरभेपर अर्थात बाफमात्रै निस्किन्छ । यसले दुइटा मुख्य फाइदा गर्छ । पहिलो, अहिलेको ट्रान्सपोर्ट सेक्टरमा हाइड्रोजन ९९.९९ प्रतिशित चाहिन्छ । जसको प्रोडक्सन भनेको ‘प्रोटोन एक्सचेन्ज मेनिलाइजर’(पेयाम) हो । जुन अत्यधिक महँगो हो । त्यसले गर्दाखेरी ट्रान्सपोर्ट सेक्टरमा हाइड्रोजन अलि महँगो भयो । किनभने शुद्ध ९९.९९ प्रतिशत चाहिन्छ । कम्बसर्नमा गयौं भने हाइड्रोजनको प्रोडक्सन सस्तो भयो । नर्मल इन्जिनमा बल्छ । त्यो टेक्नोलोजी होण्डा र कियाले निकालिरहेको छ ।
अहिलेको हाइड्रोजन गाडी भनेको सफा टेम्फो जस्तै हो । ब्याट्रीको सट्टामा हाइड्रोजनले मोटर घुमाउने हो । तर, कम्बर्सन आयो भने, सफा टेम्पो जस्तो हुदैन् । अहिलेको नर्मर डिजेल गाडी जस्तो हुन्छ । तर, त्यसमा हाइड्रोजन हालिन्छ ।
– हाइड्रोजन रिफिलिङ स्टेशन बनाउन के आवश्यक छ, कसरी काम गर्ने ?
हामीले काठमाडाै विश्वविध्यालयमा हाइड्रोजन रिफिलिङ स्टेशन बनायौं । तर, हाइड्रोजन रिफिलिङ स्टेशनको मापदण्ड के हो, नियमन निकाय को हो, लाइसेन्सिङ निकाय को हो र करको मापदण्ड के हो भन्ने कुरा कहींकतै छैन । एउटा पेट्रोल स्टेशन बनाउन आवश्क मापदण्डहरु छन् । तर, हाइड्रोजनको रिफिलिङ स्टेशनका लागि के आवश्यक हो, कसले हेर्ने जस्ता कुरा सरकारले व्यवस्था गर्नुपर्छ । रिफिलिङ स्टेशनको मापदण्ड सरकारले पहिला बनाउनुपर्यो । मापदण्ड बनाउँदा विचार गर्नुपर्ने केही कुरा छन्- हाइड्रोजन गाडी र हाइड्रोजन रिफिलिङ स्टेशनको करको व्यवस्था स्पस्ट गरिदिनु पर्यो ।
अहिले हाइड्रोजन बस ल्याउँदा डिजेल बसमा लाग्ने कर तिर्नुपर्ने अवस्था छ । अमेरिका जस्तो राष्ट्रले हाइड्रोजन कार चलाउँदा उल्टै कर फिर्ता दिन्छ । प्रत्येक वर्ष १० हजार डलरसम्म कर फिर्ता दिन्छ अमेरिकाले । किनभने त्यो ग्रिन इकोनोमीका लागि विकास गरिएको हो । कर नीति स्पस्ट नभएर पेट्रोलियम गाडीको कर तिर्नुपर्छ । पहिलो, त्यो कुरा स्पस्ट र छुट्याइदिनुपर्छ ।
पहिलो त नेपालमा हाइड्रोजन गाडी आउँनै गाह्रो छ । नम्बर प्लेट छैन । ट्याक्स क्लियर छैन । हाइड्रोजन रिफिलिङ स्टेशनको पोलिसी क्लियर हुनुपर्यो । यो पोलिसी जापान, कोरिया र भारतमा आइसक्यो । हामीले त्यसलाई रिफर गरेर बनाउन सक्छौं । कस्तो बन्ने बनाउने टेक्निकल बहस पछि आउला । तर, फिलोसफिकल बहस त्यो कसले गर्ने जस्तै हाइड्रोजनको लाइसेसिङको विषयले एनओसीलाई दिने कि ? चार्जिङको बिजुलीसँग जोडिएकोले ऊर्जा मन्त्रालयलाई दिने हो कि भन्ने कुरा हुनुपर्यो । हाइड्रोजनको नियमन निकाय को हो, यो कुरामा सरकार क्लियर हुनुपर्छ ।
-हाइड्रोजनको स्ट्याडर्ड कसरी मिलाउने, कस्तो खालको गाडीहरुमा गणना गर्ने भन्ने कुरामा कसरी क्लियर हुने ?
अहिलेको समयमा हाइड्रोजन गाडीहरुलाई इलेक्ट्रिक गाडीहरुसँगैको स्ट्याडर्डमा राखिदिए हुन्छ । हाइड्रोजन गाडी भनेको पनि इलेक्ट्रिक गाडी नै हो । ब्याट्री र फ्युल सेलमात्रै फरक हो । दुइटैमा बिजुली नै जाने हो । एक किसिमले यो पनि बिजुलीकै गाडी हो भने अहिलेको लागि अर्को मापदण्ड नबनेसम्म विद्युतीय गाडीहरुको महसुल जस्तै राख्दा हुन्छ । विद्युतीय गाडीहरुलाई लाग्ने कर लगाउँदा हुन्छ ।
– मापदण्ड तथा नीतिगत व्यवस्थाको माग गर्दैगर्दा हाइड्रोजन गाडी आउँछ भन्ने कुराको विश्वास र ग्यारेन्टी कसरी गर्नुहुन्छ ?
कुनै पनि कुराको ग्यारेन्टी हुँदैन । त्यो मार्केटले ड्राइभ गर्ने कुरा हो । हाइड्रोजनबाट चल्ने ट्रकलाई इलेक्ट्रिक गाडीको मान्यता दियो भने त्यो व्यवसाय चल्छ अथवा चल्दैन, त्यो बजारको अवस्था हेरेर हुन्छ । सरकारले त मापदण्ड बनाएर ५ वर्षसम्म व्यवसाय भएन भने मापदण्ड खारेज गरे भइहाल्यो । के हुनसक्छ, कसरी हुन्छ भन्ने कुराका लागि ठाउँ राख्नुपर्यो । टेस्ट गर्ने ठाउँ दिनुपर्यो । त्यसपछि चल्ने कुरा आउँछ ।
अनि हाइड्रोजनको मापदण्ड बनाउनैपर्छ । हामीले हाइड्रोजन गाडी चलाउन सकेनौं भने भोलिको दिनमा अर्को कुनै कम्पनीले ल्याउँछ । त्यतिबेला कुन मापदण्ड लगाउने हो त्यसलाई बुझ्नुपर्छ ।
– हाइड्रोजन फ्युल कुन कुन क्षेत्रमा प्रयोग हुनसक्छ, यसको उपयोग कस्तो हुन्छ ?
जुन प्रयोजनका लागि हामीले पेट्रोलियम पदार्थ प्रयोग गर्छौं, त्यो सबै क्षेत्रमा हाइड्रोजन प्रयोग गर्न सकिन्छ । कोइला, पेट्रोल, डिजेलको सट्टामा हाइड्रोजनको प्रयोग गर्न सकिन्छ । यसका साथै केमिकल कारखानामा, सिमेन्टदेखि मल बनाउनेसम्मका लागि यसको प्रयोग गर्न सकिन्छ ।
त्यस्तै खानीमा फलाम प्रशोधन गरेर निकाल्न पनि हाइड्रोजनको प्रयोग गर्न सकिन्छ । जनेरेटरको विकल्पका रुपमा पनि यसको प्रयोग गर्न सकिन्छ । हाइड्रोजनको अत्यधिक उपयोग हुनसक्छ, जसले नयाँ इकोसिस्टम बनाउँछ ।
– ठूला कलकारखानाका लागि विद्युत सस्तो पर्छ भने किन हाइड्रोजन खरिद गर्ने ?
हाइड्रोजनभन्दा सस्तो विद्युत स्वाभाविक रुपमा हुन्छ । तर, विद्युतबाट सीधै सिमेन्ट बन्दैन, विद्युतबाट सीधै फलाम प्रशोधन हुँदैन । विद्युतले धेरै काम गर्नसक्छ । तर, धेरै काम गर्न सक्दैन पनि । विद्युतबाट प्लेन उड्दैन, विद्युतबाट पानीजहाज चल्दैन । विद्युतका सीमितता र एप्लिकेशनहरु छन् । यो बीचमा हाइड्रोजनले विद्युतलाई विद्युतको रुपमा नभएर हाइड्रोजनको रुपमा प्रयोग गर्यो भने विद्युतले गर्न नसक्ने काम हाइड्रोजनले गर्छ ।
हाइड्रोजनसँग नविकरणीय उर्जा पावर छ, जुन विद्युतसँग छैन । हाइड्रोजनसँग इनर्जी डेन्सिटी छ । हाइड्रोजनसँग केमिकल डाइभर्सिटी छ । विद्युतले केमिकल प्रोसेसिङ गर्दैन । हाइड्रोजनबाट धेरै कुरा गर्न सकिन्छ । हाइड्रोजन कमुडेटीका रुपमा प्रयोग हुनुका साथै विद्युतका रुपमा पनि प्रयोग हुन्छ । त्यस्तै हाइड्रोजन फ्युलका रुपमा पनि प्रयोग हुन्छ । तर, विद्युत भनेको विद्युत मात्रै हो ।
– नेपालले विद्युत निर्यात गर्दैगर्दा हाइड्रोजनको सम्भावना के कस्तो छ ?
भविष्य भनेको हाइड्रोजनको हो । जस्तैः नेपालको बिजुली जापानमा तारबाट लैजान सकिन्न । तर, त्यही बिजुली हाइड्रोजन अथवा एमोनिया बनाएर लैजान सकिन्छ । अब इन्टरकन्टिनेन्टल पावर ट्रेड वायरबाट होइन हाइड्रोजनबाट हुन्छ ।
हाइड्रोजन सबैभन्दा फ्लेकजिबल हुन्छ । विद्युत एक पटक उत्पादन गरेपछि कि प्रयोग गर्नुपर्यो होइन भने फाल्नुपर्यो, खेर जान्छ । कि ब्याट्रीमा लगेर हाल्नुपर्यो । यता हाइड्रोजन फ्लेकजिबल छ । जहाँ जति, जुन समयमा बिजुली निस्किन्छ, हाइड्रोजन बनाउन सकिन्छ । त्यसलाई भण्डारण गर्ने प्रविधि छ । हाइड्रोजनलाई आजै प्रयोग गर्नुपर्दा ग्यास, भोलि प्रयोग गर्ने हो भने लिक्यिड, नेपालबाट जापान लैजानुपर्दा सिन्थेटिक गर्न सकिन्छ । हाइड्रोजनलाई धेरै रुपमा परिवर्तन गरेर राख्न र प्रयोग गर्न सकिन्छ ।
– विद्युत तथा पेट्रोलियम पदार्थका केही न केही सीमितता भए जस्तै हाइड्रोजनका पनि सीमितता होलान् नि ?
हाइड्रोजनको सीमितता भनेको हाम्रो स्वीकार्यता अर्थात मानसिकता हो । सबैभन्दा पहिले त हामीले हाइड्रोजन हाम्रो भविष्य हो भनेर स्वीकार गर्नुपर्यो । समाज कतिको जागरुप छ भन्ने कुरा पनि हो । समाजले महसुस गर्नुपर्यो, हाम्रो लागि यो प्रविधि कतिको आवश्यक छ भनेर ।
– हाइड्रोजन प्रविधिको लागि नेपाल र नेपाली संयन्त्र कतिको तयार छ ?
नेपालीमा उत्साह छ । हाइड्रोजन प्रविधिका लागि सम्बन्धित निकायले थोरै भए पनि चासो देखाएका छन् । तर, त्यसका लागि कानूनी आधार र बाटो छैन । त्यसैले हामी तयार छौं, सरकार कतिको तयार छ भन्ने कुरा हो । नेपालको संयन्त्र छैन । त्यो संयन्त्रको विकास गर्न हामी लागिपरेका छौं । हामीले कसरी काम गर्ने र के गर्ने, कस्ता व्यवस्था ल्याउने, बोर्ड बनाउने जस्ता विषयको परिकल्पना गरेका छौं । यसमा राज्य कसरी अगाडि बढ्छ र लगानी कसरी आउँछ, त्यो हेर्न बाँकी छ ।
Brilliant interview, precisely answered. Many thanks, Biraj Sir.