डिजिटल भुक्तानी कति सुरक्षित ? – Nepal Press

डिजिटल भुक्तानी कति सुरक्षित ?

काठमाडौं । पछिल्लो समय अनलाइन कारोबार बढ्दै गएको छ ।

राष्ट्र बैंकका अनुसार गत फागुन मसान्तसम्म ३६ खर्ब ६५ अर्ब ५ करोड ६० लाख रुपैयाँ विभिन्न माध्यमको प्रयोग मार्फत अनलाइन भुक्तानी भएको देखिन्छ । तर चालु वर्षको फागुन मसान्तसम्ममा यस्तो भुक्तानी ५१ खर्ब ६७ अर्ब ७७ करोड ७० लाख रुपैयाँ पुगेको छ ।

एटिएम, क्रेडिट कार्ड, डेबिट कार्ड, प्रिपेड कार्ड कनेक्ट आइपीएस, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, क्युआरमा आधारित भुक्तानी, वालेट, कनेक्ट आइपीएस, आइपीएस, इसीसी, पीओएस लगायतको प्रयोग गरेर अनलाइन भुक्तानी हुने गर्छ ।

तर, धेरैजसो सर्वसाधारणले प्रयोग गर्ने भनेको कार्ड र मोबाइल बैंकिङ नै हो । मोबाइल बैकिङबाट मात्र २ खर्ब ९१ अर्ब रुपैयाँ चालु आर्थिक वर्ष (२०८०/८१) को ८ महिनासम्म भुक्तानी भएको केन्द्रीय बैंकको तथ्यांक छ ।

यस्तै कार्डबाट (प्रिपेड, डेबिट कार्ड, क्रेडिट कार्ड) ९३ अर्ब ८६ करोड रुपैयाँ भुक्तानी भएको देखिन्छ । पछिल्लो समय अनलाइन कारोबार बढेसँगै यसको सुरक्षाको विषयमा समेत बहस हुन थालेको छ । जति कारोबार बढ्छ उति नै बढी सुरक्षा चुनौतीका प्रश्न उब्जिन्छ । तर, बैंककै डिजिटल बैकिङ डिपार्टमा बसेर काम गरेका विक्रम श्रेष्ठ प्रयोगकर्ताले सजग भएर भुक्तानी गरे धेरैजसो समस्याको हल हुने बताउँछन् ।

सानिमा बैंकका डिजिटल बैकिङ प्रमुख विक्रम श्रेष्ठ कुनै पनि विषय शतप्रतिशत सही वा सुरक्षित नहुने भएकाले अनलाइन पेमेन्ट पनि ९९ प्रतिशतसम्म सही भएको बताउँछन् ।

उनी भन्छन्, ‘एक प्रतिशत डिफल्ट जता पनि भेटिन्छ । कुनै केशमा प्रयोगकर्ताको लापरबाहीले हुन्छ भने केही केशमा बैंकले गर्दागर्दै पनि साइबर सुरक्षामा गएर जोडिन्छ । मेकर र चेकरको सिद्धान्त अपनाएर अनलाइन पेमेन्ट हुन्छ ।’

यता, नविल बैंक रिटेल ट्रान्जेक्सन बैकिङ प्रमुख निरज शर्मा बैंकहरुमा अनलाइन कारोबार पूर्णतया सुरक्षित भएको बताउँछन् ।

केन्द्रीय बैंकले मोबाइल कार्ड थ्रिडी सेक्युअर हुनुपर्छ भनेकाले प्रत्येक कार्डमा ओटिपी कोड माग्ने भएकाले यसले सुरक्षित कारोबार गर्न सघाउँने बताउँछन् । प्रविधिमा सुरक्षित भए पनि कतिपय केशमा मानवीय फ्रड हुने शर्माको भनाइ छ ।

कतिपय अवस्थामा अनलाइन सपिङका नाममा पहिला भुक्तानी माग्ने र पछि सम्बन्धित अनलाइन सपिङ सम्पर्कमै नरहने गरेको गुनासो पनि आउने गरेको छ । त्यसमा लागि जसले भुक्तानी गर्ने हो उसले कुन माध्यमबाट देखेर कसलाई प्रयोग गर्ने भन्ने आफैले जानकारी राख्नुपर्ने शर्मा बताउँछन् ।

दराजको पेमेन्ट एण्ड फाइनान्सियल सर्भिसका प्रमुख जोनाम भुर्तेल दराज अनलाइन पेमेन्ट गरेर हुने सपिङमा सहज र सुरक्षित रहेको बताउँछन् ।

उनी भन्छन्, ‘सहज र सुरक्षित सपिङ भनेकै दराज हो भन्दा फरक पर्दैन किनकि दराजमा हुने अनलाइन भुक्तानी एकदमै सुरक्षित छ र अन्तर्राष्ट्रिय मापदण्ड अनुसार छ । अनलाइन कारोबार गर्ने कम्पनीहरूको लागि सबैभन्दा भरपर्दो प्रमाणपत्र पीसीआई-डीएसएस प्राप्त गर्ने पहिलो र एक मात्र नेपाली इ–कमर्स कम्पनी दराज हो ।’

यता ग्लोवल आइएमइ बैंकको ट्रान्जेक्सन बैकिङ एण्ड विजनेस प्रमुख प्रकाश पौडेल पनि नेपालको अनलाइन भुक्तानी सुरक्षित रहेको बताउँछन् ।

बैंकहरुले राष्ट्रबैंकको सुरक्षाको निर्देशन पालना गर्ने भएकाले अनलाइन भुक्तानीमा डराउन नपर्ने उनको भनाइ छ । तर मान्छेको व्यवहारले भने समस्या ल्याउन सक्नेतर्फ उनले सचेत गराए ।

साइबर सुरक्षाका लागि नेपालका बैंक तथा वित्तीय संस्थाहरूले अधिकतम प्रयास गरिरहेका छन । यद्यपि, बैंक तथा वित्तीय संस्थाबाट हुने फाइनान्सियल साइबर क्राइम पनि हुन भने छाडेको छैन ।

सेक्युरिटीका एक मात्र नभएर धेरै वटा बाटो बनाउन पर्ने, सिस्टम नचलेको अवस्थामा पनि बचतकर्ताको रकम सुरक्षित रहेको महसुस गराउन पर्ने, सिस्टमलाई प्रत्येक दुई/दुई वर्षको अवधिमा अडिट गर्नुपर्ने र आर्थिक वर्ष सक्किएको ६ महिनाभित्र अनिवार्य रूपमा बैंक तथा वित्तीय संस्थाको वित्तीय प्रतिवेदन राष्ट्र बैंकमा पेस गर्नुपर्ने सुझाव साइबर सेक्युरीटि विज्ञ विजय लिम्बूको छ ।

कुन वालेट बढी सुरक्षित भन्ने कुरा प्रयोगकर्ताले ध्यान दिनुपर्ने हुन्छ । राष्ट्र बैंकले तोकेका मापदण्डहरू कसले पुरा गरेको छ भनेर प्रमाणित गरेको अवस्थामा भने अनलाइन पेमेन्ट भरपर्दो हुने विज्ञहरूको भनाइ छ ।

नियामक निकाय नेपाल राष्ट्र बैंक पनि अनलाइन भुक्तानी सुरक्षित भएको बताउँछ । तर प्रविधि भन्दा मानवीय त्रुटि र व्यवहारले चाहिँ फ्रड हुनसक्ने ठाउँ भएकाले सचेत भएर भुक्तानी गर्नुपर्ने सहायक प्रवक्ता डा. डिल्लीराम पोखरेल बताउँछन् ।

बैंकिङ्ग क्षेत्रमा साइबर सुरक्षाको लागि सेवा प्रदायक र सेवाग्राही सचेत हुनु आवश्यक देखिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर