प्रधानमन्त्री प्रचण्डको जिकिर- अर्थतन्त्रका सूचकहरू सकारात्मक बन्दैछन्
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको निरन्तर प्रयासका कारण अर्थतन्त्रका आन्तरिक र बाह्य सूचकहरू सकारात्मक बन्दै गएको जिकिर गरेका छन् ।
लक्ष्मी मोटर कर्पोरेसनको ‘हुन्डाई मोटर एसेम्बलिङ प्लान्ट’को शुभारम्भ गर्दै उनले लगानी सम्मेलनको पूर्वसन्ध्यामा अध्यादेश नै ल्याएर सरकारले महत्त्वपूर्ण ऐनहरू संशोधन गरेको बताए ।
उनले भने, ‘यसले लगानीका क्षेत्रहरूमा देखिएका समस्या सम्बोधन गर्दै आन्तरिक एवं बाह्य लगानीलाई प्रोत्साहित र प्रवर्द्धन गर्न महत्त्वपूर्ण भूमिका खेल्नेछ । लगानी सम्मेलनमा देखिएको उत्साह, नेपालका राजनीतिक दलहरूमा देखिएको साझा दृष्टिकोण र प्रतिबद्धता एवं लगानीकर्ताहरूको आकर्षणले नेपाल छिट्टै आकर्षक लगानीको गन्तव्य मुलुक बन्ने संकेत गरेको छ ।’
उनले उद्योगी–व्यवसायीलगायत लगानीकर्ताको मनोबल उच्च राख्दै देशको आर्थिक रूपान्तरणमा गति दिन सरकार प्रतिबद्ध रहेको बताए ।
प्रधानमन्त्री प्रचण्डले देशको वित्तीय र मौद्रिक नीतिहरू नियन्त्रणमुखी नभइ प्रवर्द्धनमुखी हुनुपर्नेमा जोड दिए ।