प्रधानमन्त्रीलाई कांग्रेसको चेतावनी- सहकारी पीडितको धैर्यताको बाँध फुटे थुप्रै अप्रिय घटना हुनसक्छ (भिडिओ)
काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सहकारी पीडितको बचत फिर्ता गराउने विषयमा गम्भिर भएर लाग्न ध्यानाकर्षण गराएको छ।
पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले सहकारीमा गरेको बचत फिर्ता नहुने अवस्था भयो भने परिवार परिवारमा अप्रिय घटनाहरु हुने अवस्थामा बन्दै जाने निष्कर्ष निकालेको महामन्त्री गगन थापाले बताए।
उनले भने, ‘हामीले सहकारी र करौडौंको ठगी भनेका छौं, सहकारी पीडितहरु अहिले हाम्रो बचत फिर्ता हुन्छ कि हुँदैन भनेर कुरेर बसिरहेका छन्। पहिलादेखि नै आउने भेट्ने त गर्नुहुन्थ्यो तर, यो बिषय उठाइसकेपछि कम्तिमा १२ १५ जनाले सम्पर्क गरिराख्नुभएको छ र तुरुन्त बचत फिर्ता नहुने अवस्था भयो भने परिवार परिवारमा अप्रिय घटनाहरु हुने अवस्थामा बन्दै जाने देखिएको छ। कुनैपनि यो धैर्यताको बाँध फुट्नसक्छ, त्यसैले मैले प्रधानमन्त्रीलाई अनुरोध पनि गराएको, सचेत र सजग पनि बनाएको।’
सहकारीको रकम अपचलन गरेको बिषयमा प्रधानमन्त्रीले गम्भिर भएर बचत फिर्ता गराउने प्रारम्भ गराउनुभएन भने वा फिर्ता हुने आश्वस्त बनाउन नसके थुप्रै अप्रिय घटना आउनसक्ने चेतावनी दिए।