मधेश सरकार छाड्दै माओवादी, मुख्यमन्त्री अल्पमतमा पर्ने – Nepal Press

मधेश सरकार छाड्दै माओवादी, मुख्यमन्त्री अल्पमतमा पर्ने

जनकपुरधाम । मधेश सरकारबाट नेकपा माओवादी केन्द्रले आज सरकार छाड्ने भएको छ । मधेशमा माओवादीका दुई मन्त्री छन् ।

मुख्यमन्त्री सरोजकुमार यादवले माओवादी संसदीय दलका नेता भरतप्रसाद साहलाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिएपनि उनले अहिलेसम्म कार्यभार सम्हालेका छैनन् । उनले अर्थमन्त्रीमा दाबी गरेका थिए । युवराज भट्टराई उद्योग, बाणिज्य तथा पर्यटन मन्त्री छन् । दुवै मन्त्रीले राजीनामा दिएर सरकारलाई दिएको समर्थन आजै फिर्ता लिने तयारी गरेको स्रोतले बतायो ।

तर, जसपाकै सञ्जय यादव अर्थमन्त्री रहेकाले मुख्यमन्त्रीले साहलाई अर्थमन्त्रालय दिएनन् । साह त्यही भएर असन्तुष्ट थिए ।

मधेशको यो राजनीतिक तरंगलाई जसपा नेपाल विभाजनको ‘साइड इफेक्ट’को रूपमा लिइएको छ । मधेशमा अहिले जसपा नेपाल नेतृत्वको सरकार छ । मुख्यमन्त्री सरोजकुमार यादव उपेन्द्र यादव पक्षधर हुन् ।

सरकारबाट बाहिरिँदै हो ? भन्ने जिज्ञासामा माओवादी दलका उपनेता तथा मन्त्री भट्टराईले भने, ‘अहिले त्यस्तै बुझौं । कुरा भइरहेको छ ।’

उनले कारण भने खुलाएनन् ।

मधेशमा माओवादीका ९ सांसद छन् । माओवादीले सरकारबाट समर्थन फिर्ता लिए जसपा नेतृत्वको सरकार अल्पमतमा पर्नेछ ।

पछिल्लो पटक मुख्यमन्त्रीले विश्वासको मत लिएपछि ६१ सांसदको समर्थन पाएका थिए । माओवादी समर्थन फिर्ता लिएपछि मात्र ५२ सांसदको समर्थन मुख्यमन्त्रीलाई रहनेछ । १०७ सांसद रहेको मधेश प्रदेशमा सरकार बनाउन सामान्य ५४ सांसद आवश्यक पर्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर