सागका स्वर्ण विजेता सिन्जाली भन्छन्- घाँटीको सिक्री बेचेर विदेशमा खेल्न जाँदै छु (भिडिओ)
काठमाडौं। दक्षिण एसियाली खेलकुद (साग)का स्वर्ण पदक विजेता विजय सिन्जाली आइतबार आयोजित एक कार्यक्रममा झन्डै भक्कानिए ।
चीनमा आयोजित एक आमन्त्रण अन्तर्राष्ट्रिय उसु प्रतियोगितामा प्राप्त सफलताबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले घाँटी देखाउँदै सुन बेचेर एक प्रतियोगिता खेल्न जान लागेको बताए ।
‘एक महिनापछि म आफै पैसा हालेर खेल्न जाँदै छु । मेरो घाँटीमा सुन थियो, त्यो मैले बेचिदिएँ । किनभने म एडिक्ट भइसकेँ । संघले गर्छ गर्दैन, राखेपले गर्छ गर्दैन तर म चाहिँ गर्छु’, सिन्जालीले भने ।
सिन्जाली १२ औँ सागका रजत र १३ औँ सागका स्वर्ण पदक विजेता हुन् । सिन्जालीले विदेश खेल्न जाँदाजाँदै सारा सम्पत्ति सकिँदै गएको पनि बताए ।
‘एक पटकमा २/३ लाख रुपैयाँ खर्च हुन्छ । त्यो सबै आफै खर्च गर्नुपर्छ’, सिन्जालीले भने ।
उनले यसरी खेल्न जाँदा जितेको पदकमा कसैले आएर धन्यवादसमेत दिने नगरेको पनि गुनासो गरे ।
कार्यक्रममा नेपाल उसु महासंघका पदाधिकारीको पनि उपस्थिति थियो । सिन्जालीले त्यसो भनिरहँदा उनीहरू भावुक देखिएका थिए । महासंघका अध्यक्ष वीरबहादुर तामाङले संघसँग पैसा नहुने भएकाले खेलाडीसँग उठाएर लैजानुपर्ने अवस्था रहेको बताए ।
‘हामी प्रतियोगितामा जानका लागि खेलाडीबाट पनि केही लगानी भएर जाने गर्छौ । राखेपबाट पछि पाइन्छ भन्ने आशमा यसरी खेलाडीबाट पैसा उठाउने गरिन्छ’, उनले भने ।
यता सिन्जालीले भने पुरस्कारको रकम समेत नपाएको गुनासो गरे ।