पहिलो बाढीमै जलमग्न बुटवल, दर्जनौं व्यवसायीको करोडौं क्षति
खोलानाला अतिक्रमणले बुटवलमा बढाउँदै विपद् जोखिम
रुपन्देही । शनिबार मध्यरातमा परेको यो वर्षको पहिलो वर्षामै बुटवल क्षेत्रका दजनौं उद्योगी व्यवसायी, घरधनी तथा विभिन्न व्यवसायी संस्थाले नसोचेको क्षति व्यहोर्नुपर्यो । साँघुरिँदै गएका नाली र घोलाहरु अनि त्यसमाथि बनाइएका पक्की संरचनाले यसरी आउने बाढीको बाटो छेकेको हो ।
नदी तथा तलको तटीय क्षेत्रको जोखिमका विषयमा स्थानीय सरकार र विभिन्न दलका प्रतिनिधिहरु भोट घट्ने त्रासका कारण बोल्न सकेका छैनन् र केही यही क्षेत्र आफै ओगटेर बसेका छन् ।
पहिलो वर्षामै भएको यति ठूलो क्षतिबारे ध्यान नदिए यो अवस्था पुनः दोहोरिनसक्ने चिन्ता धेरैले गरेका छन् तर आफ्नो जिम्मेवारी के हुने भन्ने विषयमा कोही प्रष्ट छैनन् । वर्षाको मुख्य समय आउन अझै बाँकी छ ।
आइतबार बिहानै यसबारे समाचार सार्वजनिक भएपछि स्थानीय सरकार, राजनीतिक दल तथा विभिन्न संघसंस्थाहरुबारे सार्वजनिक प्रश्न उठाउँदै यसको विकल्प खोज्न स्थानीयले माग गरेका छन् ।
अधिकांश स्थानीयको नदी, कल्भर्ट तथा ढल निकासलाई समयमै ख्याल नगर्दा नाली, कल्भर्ट थुनिएको कारण यसकै विकल्प खोजेर सतर्कता अपनाउन उनीहरुको सुझाव छ ।
मनसुन सुरु नहुँदै परेको भारी वर्षाले रूपन्देहीको बुटवल क्षेत्र डुबानमा परेको छ । बुटवलको मुख्य बजार क्षेत्रका पसल, विद्यालय, सरकारी कार्यालय, बजार क्षेत्रका घरका पहिलो तला जलमग्न भए । हिलो र नालीको फोहोरले बजार दुर्गन्धित भएको छ । जताततै हिलाम्य हुँदा हिँड्डुल गर्नसमेत मुस्किल भएको छ । कतिपय विद्यालयले पढाइ नै बन्द गरे ।
यो वर्षको पहिलो पानीपछि आएको बाढीले बुटवल बजारलाई विपद्को जोखिममा प्रष्ट देखाएको छ । मुख्य बजारमा साँघुरिएको नाली भरिएर बाढी बजारमा जाने विषय गम्भीर विषय हो ।
बाढीले मुख्य बजार क्षेत्र, घर र उद्योगमा लाखौंको क्षति पुराएको छ । हरेक घर पसल र उद्योगमा भएको क्षति कसरी मापन गर्न नै समस्या छ तर हरेक पसल, उद्योग डुबेर भएको क्षति निकै धेरै छ ।
चुरेको काखमा रहेको बुटवलमा त्यहाँबाट आउने पानी तिनाउ तथा दानव नदीमा जाने पुरानो ठाउँहरु अतिक्रमण भएका छन् । यी क्षेत्रहरु अतिक्रमण भएर बसेका बाक्लो बस्तीलाई अझै धेरै जोखिममा बढाएको छ ।
तिनाउ नदीको अस्वभाविक दोहन, चुरेमा विभिन्न संरचना निर्माण, खोला तथा खोल्साहरुमाथि अतिक्रमण गरी पक्की संरचना निर्माणले विपद्को जोखिम बढाएकाले र नदी किनारमा बसेका बस्तीहरु बाढीको र चुरेको फेंदमा रहेका बस्ती पहिरोको उच्च जोखिममा रहेको विज्ञहरुले बताएका छन् ।
वातावरणविद् ई.डा.खेटराज दाहालले बुटवललाई प्रकोपको उच्च जोखिमको सहरका रुपमा लिँदै जोखिम बहनको सामथ्र्य भने कमजोर रहेको बताउँछन् ।
सुखौरा खोलादेखि अरु ससाना खोल्साहरु मासिएको, अतिक्रमणमा परेको, सोह्रछत्तिस नहरको भूभागसमेत अतिक्रमणमा परेको, नदीको बहाव क्षेत्रमै घर टहरा निर्माण भएकाले जोखिम बढिरहेको विज्ञ ई.डा.दाहालको भनाइ छ ।
वातावरण विज्ञ युवराज कंडेलले आफूले कुलो, घोला, नहर, खोला मिच्ने अनि आफ्नो भन्दा तलतिरकाले बहावमार्ग मिचेर भौतिक संरचना निर्माण गर्दा टुलुटुलु हेरेर बस्दाको परिणाम बुटवलले भोग्नुपरेको बताउँदै प्रकृतिमाथिको दोहनले नसोचेको क्षति पुराउने जनाएका छन् ।
बाढीले बुटवलस्थित राष्ट्रिय समाचार समिति (रासस)को प्रदेश कार्यालय डुबानमा परेको थियो । शनिबार राती २ बजेदेखि नै कार्यलय छेउको नाली भरिएर पानी कार्यालयमा प्रवेश गरेपछि कार्यालयका फर्निचरसहितका सामग्री डुबानमा परेको राससका लुम्बिनी प्रदेश प्रमुख भरत केसीले बताए ।
‘राति दुई बजेपछि पश्चिम नेपाल बस व्यवसायी प्रालिको कार्यालय तर्फबाट पसेको भलले निकास नपाएपछि रासस कार्यालय डुबानमा परेको हो’, उनले भने, ‘डुबानबाट कार्यालय परिसरको बाउण्ड्रीवाल, कार्यालयका फर्निचर, कम्प्यूटर, ल्यापटप, ट्याब, प्रिन्टरलगायतका सामाग्री नष्ट भएका छन्,’ उनले भने, ‘निवासतर्फ पनि क्षति पुर्याएको छ ।’
नाली भरिएर डुबानपरेपछि बिस्तारासम्मै पानी भरिएपछि आफूहरु कान्ति माविको भवनमा रात बिताएको उनले बताए । अविरल वर्षाले रुपन्देही उद्योग संघको कार्यालय, पश्चिम नेपाल बस समितिको कार्यालय डुबानमा परेका छन् ।
त्यस्तै, बाढी पसेर कक्षाकोठा एवं विद्यालय कम्पाउण्ड नै डुबानमा परेपनि बुटवल उपमहानगरपालिका–११ देवीनगरस्थित न्यू होराईजन इङ्लिस बोर्डिङ स्कुलले आइतबार विद्यार्थीलाई बिदा दिएको थियो ।
रुपन्देहीका किसान रुकु पाण्डेले १२ वर्षपछि पनि खोलाले आफ्नो बाटो पहिल्याउछ भनेको सुनेको र आफूहरु त्यही पर्खाइमा रहेको बताउँदै तिनाउको पानीले सिंचाई गर्ने सम्पूर्ण किसानहरुमाथिको पीडाबारे बोल्ने कोही नभएको गुनासो गरे ।
स्थानीय बुद्धगोपाल श्रेष्ठले काठमाण्डौमा बालेनले सयौँ वर्षअघि खोला ढाकेर बनाएको बाटो भत्काए जसरी खोलाघोलामाथिको आरसीसी मार्ग पनि भत्काउनु पर्ने र उसको क्षेत्रफल कायम गराउनुपर्ने बताएका छन् ।
व्यवसायी खिमप्रसाद पराजुलीले खोलानाला मिच्नु बिरालोलाई थुनेर कुटेजस्तै भएको बताउँछन् । ‘यो परिणाम पटक पटक सोही क्षेत्र र वरपरकाले बेहोर्नुपर्छ जतिवेला ठूलो पानी पर्छ ।’
वडास्तरमा रहेका टोलसमितिले साना खहरे, कल्भर्ट, ढल सफाईमा ध्यान दिनु यो घटनाले पाठ सिकाएको व्यवसायी दिनेश कुँवरले बताए ।
शहरभित्रै नदी नै बग्ने भेल आउँदा विपदको जोखिममा बुटवल सहर जोखिममा रहेकोले स्थानीयलाई थप त्रसित बनाएको छ । बुटवल उपमहानगरपालिकाका इन्जिनियर गौतम रौनियार नाली र कुलो थुनिँदा डुबानको समस्या आएको र त्ययो पीडामा आफू पनि परेको बताए ।
देवीनगर, कालिकानगर, योगीकुटी हुँदै तिलोत्तमा क्षेत्रका विभिन्न खेतमा सिंचाइका लागि लगिएको सोह्र छत्तिस नहरको पानी नहर सरसफाईकै अभावमा विद्यालयमा पसेको हो ।
विद्यालयका पहिलो तलाका अधिकांश कक्षाकोठा डुबानमा परेको र खेलमैदानमा पनि पानीको लेदो भरिएकाले विद्यालयमा पठनपाठन बन्द गरिएको विद्यालयले जनाएको छ । बुटवलको यो समस्या समाधान गर्न पूर्वमेयर शिवराज सुवेदीले प्रदेश सरकारको सहकार्यमा स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना तयार पारेको थियो ।
स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना तर्जुमा अघि प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय, रेडक्रस सर्कल र संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (यूएनएफपीए) को सहकार्यमा सबै वडाका टोलहरुमा छलफल गरिएपनि त्यो योजना अघि बढेको छैन ।
बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले मध्यरातमा आएको बाढीले बुटवललाई सतर्क रहन संकेत गरेको बताउँदै अहिलेको अवस्थाको सबै अध्ययन भइरहेको र अबको योजना बनाउने पनि काम भइरहेको बताए ।
लामो समयदेखि टोलविकास संस्थाहरुले प्लास्टिकजन्य वस्तु जथाभावी नफाली नालाहरुमा नियमित सरसफाई अभियान चलाएको भए यस्तो क्षति नहुने भन्दै अब सर्तक रहनुपर्ने उनले बताए ।
यो सब मानिसहरूले निम्त्याएको विपत हो जसजसले प्रकृति माथि दोहन गरेका छन ती
सरकारी तथा गैरसरकारी सघंसंस्थाहरू र व्यक्ति सजायको भागिदार हुनुपर्छ