क्रिप्टो र सट्टेबाजीमा २ अर्ब १ करोड बढीको कारोबार, २४ वर्षीय युवक पक्राउ
काठमाडौं । विभिन्न अनलाइन बेटिङ साइटमा सट्टेबाजी गर्ने र क्रिप्टोकरेन्सी कारोबार गर्ने एक जना पक्राउ गरेका छन् । पक्राउ पर्नेमा काभ्रे मण्डनदेउपुर ८ स्थायी घर भई भक्तपुर बस्दै आएका २४ वर्षका अनिल ढुंगाना रहेका छन् ।
उनले विभिन्न माध्यमबाट २ अर्ब १ करोड बढीको कारोबार गरेको खुलेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
कार्यालय प्रमुख एसएसपी सानुराम भट्टराईका अनुसार ११ वटा कनेक्ट आइपीएसमा ५५ वटा बैंक खाता लिंक गरी ४८ करोड ८० लाख बढी रकम कारोबार गरेको खुलेको छ ।
यस्तै १५ वटा वालेटहरू प्रयोग गरी ५ करोड बढी कारोबार, ५६ वटा बैंक खाता प्रयोग गरी ६१ करोड ६४ लाख बढी कारोबार गरेको भेटिएको प्रहरीले जनाएको छ ।
त्यसै गरी बाईनान्सबाट २ खाता प्रयोग गरी २४३ वटा विभिन्न क्रिप्टोकरेन्सीको हाल नेपाली मूल्य १ अर्ब ३४ करोड बराबरको कारोबार गरेको पाइएको प्रहरीले जनाएको छ ।
उनी सामाजिक सञ्जालमा जुवा ३६५ नामको पेज चलाएर प्रचार गर्दै आएका थिए ।
यसै गरी उनले अनिल साहको नामबाट भारतीय आधार कार्ड, पान कार्ड, दिल्ली मेट्रो कार्ड, भारतीय एचडीएस बैंकको चेकबु एटिएम कार्ड र एरटेल कम्पनीको सीमकार्ड प्रयोग गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ ।
के हुन्छ कारबाही ?
प्रहरीका अनुसार पक्राउ परेका ढुंगानालाई जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको छ । उनीमाथि मुलुकी अपराध संहिता २०७४ को दफा १२५ जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने कसुरमा कारबाही हुनेछ ।
यस्तै दफा २६२ (क) अभौतिक मुद्राको प्रयोग गर्न नहुने कसुर, बैंकिङ कसुर तथा सजाय ऐन २०६४ ३ को क र ख लगायत सम्पत्ति शुद्धीकरण निवारण ऐन २०६४ अनुसार कारबाही हुने छ ।
प्रहरीका अनुसार विदेशी विनिमय (नियमित गर्ने) ऐन २०१९ र नेपाल राष्ट्र बैंक ऐन २०५८ पनि आकर्षित हुने प्रहरीले जनाएको छ ।