सिप्रदीले नयाँ भन्दै पुरानो टिपर बेचेको महानगरको आरोप, फिर्ता लैजान आग्रह
काठमाडौं । सिप्रदी ट्रेडिङले नयाँ भनेर पुराना सवारी साधन बिक्री गरेको भन्दै काठमाडौं महानगरपालिकाले ४ वटा सवारीसाधन फिर्ता गर्ने भएको छ ।
महानगरपालिकाले सोमबार पत्रकार सम्मेलन गर्दै सिप्रदीले नयाँ भन्दै पुराना गाडी बिक्री गरेको प्राविधिक परीक्षणका क्रममा देखिएको सार्वजनिक गर्यो ।
नेपालका लागि टाटाको आधिकारिक बिक्रेता सिप्रदीले नयाँ भनेर महानगरपालिकालाई ६ वटा सवारी बिक्री गरेको तर ४ वटा भने पुराना रहेको पत्ता लागेको महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले बताए ।
महानगरले खरिद गरेका ६ वटा टिपरकै ब्लुबुकमा उत्पादन वर्ष २०२२ उल्लेख गरेको तर ४ वटा को उत्पादन वर्ष २०२१ रहेको पाइएको मानन्धरले बताए ।
उनले भने, ‘काठमाडौं महानगरपालिकाले ढुवानीका लागि टिपर खरिद गरेका थियौँ । बोलपत्र कागजातअनुसार आपूर्ति गरिएको ६ थान सवारी साधनको बोलपत्रमा उल्लेख भएको प्रविधिक विशिष्टताहरुको तुलना गर्दा माग भएअनुसारको प्राविधिक विशेषतासहितको सवारी साधन आपूर्ति नभएको पायौँ । हामीले केही वर्षयता खरिद गरेका ६ वटा गाडीमध्ये ४ वटा गाडी गत वर्षको पायौं, २ वटा गाडी सोही वर्षको पायौँ । सबै गाडीको ब्लुबुकमा म्यानुफ्याक्चर्स इयर २०२२ देखिन्छ । जुन २०२१ मा बनेको गाडीको पनि ब्लुबुकमा २२ मा रहेको पाइयो । नेपालमा आयात भएर बिक्री नभइ लामो समयसम्म गोदाममा थन्किएका सवारी साधन खरिद नगर्ने उद्देश्यका साथ बोलपत्रमा म्यानुफ्याक्चर्स इयर समावेश गरिएको हुन्छ ।’
महानगरले सिप्रदीलाई गाडी फिर्ता लैजान आग्रह गरेको उनले बताए ।