संसदीय दलको बैठकअघि कांग्रेस नेता बालुवाटारमा
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न नेपाली कांग्रेसका शीर्ष नेताहरु प्रधानमन्त्री निवास बालुवाटार जाँदै छन् ।
माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डलाई भेट्न कांग्रेस महामन्त्री गगन थापा र प्रमुख सचेतक रमेश लेखक बालुवाटार जान लागेका हुन् । उनीहरु अहिले बालुवाटार जाँदैछन् । बालुवाटारबाट फर्केपछि ९ बजे संसदीय दलको बैठक सिंहदरबारमा बस्दैछ ।
सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठनको माग कांग्रेसको बटम लाइन भएकाले सोही विषयमा छलफल गर्न बालुवाटार जान लागेको प्रमुख सचेतक लेखकले बताएका छन् ।
सरकारले आज आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछ । कांग्रेसले भने सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति बनाउनुपर्ने माग राख्दै संसद अवरुद्ध गर्दै आएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेललाई आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने नदिने भनेर निर्णय संसदीय बैठकले गर्ने कांग्रेस नेताहरुले बताएका छन् ।